• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी घुम्न आउनेलाई अब, स्थानीय गाइड

हलेसी घुम्न आउनेलाई अब, स्थानीय गाइड


समायोजन खबर
  • बुधबार, माघ ४ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो नगरपालिकाभित्र पर्ने प्रसिद्ध त्रिधार्मिक तपो भूमि हलेसीको महिमा र महत्व बुझाउने स्थानीय गाइड तयार गरेको छ। यसअघिसम्म हलेसी मन्दिर लगायत नगरभित्रका धार्मिकस्थलहरुका बारेमा आ–आफ्नै ब्याख्या भईरहेकाले अब, सत्यतथ्यमा रहेर महत्व र महिमा बुझाउने स्थानीय गाइड तयार गरेको हो।

    नगरपालिकाले मंसिर ८ गते प्रकाशन गरेको सूचनाका आधारमा ११ वडाबाट ३३ जनाको आवेदन परेकोमा २ जनाको प्रक्रिया नपुगेपछि ३१ जनालाई पुष २७ गतेदेखि माघ ४ गतेसम्म आठ दिन स्थानीय पर्यटक गाइड तालिम दिएर जनशक्ति तयार गरिएको नगरपालिकाले जनाएको छ । तालिमको बुधबार हलेसी सुचना केन्द्रमा समापन गरिएको छ । सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ।

    नगरपालिकाको आयोजनामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाण्डौ(नाथम)का विज्ञहरुले प्रशिक्षार्थीहरुलाई हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा शैद्धान्तिक र धार्मिक तथा पर्यटकीयस्थलहरुमा लगेर प्रयोगात्मक तालिम दिइएको थियो।
    प्रशिक्षार्थीहरुलाई नाथमका विभागीय प्रमुख अजय कुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह–प्राध्यापक तथा संस्कृतविद् डा.लोकनाथ दुलाल, वरिष्ठ प्रशिक्षक सुभम पौडेल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्येता भोगीराज राईले प्रशिक्षण दिनुभएको थियो।

    अब, हलेसी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई यहाँका धार्मिक तथा पर्यटकीयस्थल बारे मनगढन्ते कुरा नसुनाई सत्यतथ्य कुराहरु मात्रै सुनाइने तालिममा सहभागी प्रशिक्षार्थी आशिष राईले बताए। अग्रजहरुको सहकार्यमा तालिमबाट प्राप्त भएको ज्ञानलाई चलायमान बनाउन सके रोजगारी पक्का छ। तालिमबाट प्राप्त भएको प्रमाणपत्र सिरानीमूनी नराखौ साथी हो। यसलाई रोजगारीसँग जोडौ। राईले भने।
    सहभागीहरुलाई फिल्डमै लगेर ऐतिहासिक तथ्यसँगै आवश्यक विषयवस्तुमाथि प्रशिक्षण गरिएको नाथमका वरिष्ठ प्रशिक्षक पौडेलले बताए। उनीहलाई पर्यटकको सुरक्षा, चोट पटकबाट बच्ने उपाय, खानपान, सत्कार लगायत पर्यटकलाई सुरक्षित तरिकाले भ्रमण गराउने उपायहरु सिकाईएको पौडेलको भनाई छ।

    तालिमले हलेसी र आसपासका धार्मिक तथा पर्यटकीयस्थलहरुको वारेमा हुने मनगढन्ते व्याख्याको अन्त्य हुने र अब स्थानीय गाइडबाट सत्यतथ्य बुझ्दै पर्यटकले मजाले घुम्न र आनन्द लिन पाउने समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर रमेशकुमार राउतले बताउनुभयो।

    तालिम प्राप्त स्थानीय गाइडलाई कार्यविधि निर्माण गरेर परिचालन गरिने मेयर विमला राईले बताउनुभयो। पर्यटकहरुलाई हलेसी र आसपासका धार्मिक तथा पर्यटकीयस्थलको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको पाईन्थ्यो। जसकारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञबाट नगरभित्रका नागरिकलाई तालिम दिएका हौ । मेयर राईले भन्नुभयो।

    तालिममा सहभागी ३१ जनालाई नगरपालिकाले स्थानीय गाइडको कार्ड बनाईदिन्छ। उहाँहरुको नाम, नम्बर, ठेगाना नगरपालिका र हलेसी सूचना केन्द्रको वेबसाइडमा राख्छौ। हलेसी घुम्न आउने देश विदेशकाले उहाँहरुलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । मेयर राईले भन्नुभयो, हलेसीमा सञ्चालित होटलहरुसँग पनि सहकार्य गरेर होटलहरुमा उहाँको नाम, नम्बर, ठेगाना राख्छौ।

    तालिमले मुख्यतः रोजगारी सिर्जना गर्दै हलेसीको महिमा र महत्व बुझाउन र हलेसीको स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा सघाउ पुग्ने मेयर राईको भनाई छ। अहिले पर्यटकहरु आउँछन् एक रात बस्छन्, हलेसी घुमेर फर्कन्छन्। तर, हामीसँग ११ वटै वडामा महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलहरु छन्। त्यसको बारेमा सत्यतथ्य बुझाउन सके कम्तीमा पर्यटक ३/४ बस्नुहुन्छ। त्यसको फाईदा हामीलाई नै हो। मेयर राईले भन्नुभयो, ‘त्यो काम अब तालिम प्राप्त स्थानीय गाइडहरुले गर्नुपर्छ/गर्नुहुनेछ।’

    धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। हलेसीमा शिव लिंग, पापद्धार, कर्मद्धार, जन्मद्धार, धर्मद्धार, पार्वती थान, विष्णुलक्ष्मी, वासुकी नाग, महादेवगुफा, भैरवगुफा, बसाहा गुफा, छिमे ताक्तेन छोलिङ गुम्बा, तुवाचुङ–जायजुङ, रक गार्डेन, ककनी मन्दिर, होलेसुङगढी, भुम्जुगढी, ताराखसे, खाम्तेलगढी, घोर्चु मंगलटार, गुप्तेश्वर महादेव, सप्तेश्वर महादेव लगायत धार्मिक तथा पर्यटकीयस्थलहरु छन्।

    हलेसीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरुले आ–आफ्नै तरीकाले पूजापाठ तथा आराधाना गर्छन। हिन्दु धर्मावलम्बीहरुले पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनी रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजाआजा गर्छन्। हलेसीमा नेपाल बाहेक चीन, भुटान, भारत, सिंगापुर, जापान, रुस, अमेरिकाबाट पर्यटक आउने गर्छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology