समायोजन खबर, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन्। गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किएका हुन्। गत २० असारमा मिर्गाैला प्रत्यारोपण गराएर स्वास्थ्य लाभपछि उनी स्वदेश फर्किएका हुन् । दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार गरिएको थियो।
एमालेका वरिष्ठ नेताको हैसियतमा दिल्ली हिँडेका खनाल फर्किंदा एमाले दुई टुक्रा भइसकेको छ। उनी एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताको रुपमा रहे। सोमबार स्वदेश फर्किएका खनालको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु थिए।
तर, विदाइ गर्दा नर्भिक अस्पताल पुगेर स्वास्थ्य लाभ गरेका ईश्वर पोखरेलसहित एमालेका नेताहरु विमानस्थलमा देखापरेनन्। २ असारमा थप उपचारका लागि दिल्ली जाने भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको सन्देश बोकेर नर्भिक अस्पताल पुगेका ईश्वर पोखरेललाई भावुक हुँदै खनालले पार्टी एकता गर्न भनेका थिए। दिल्ली उड्नु अघि अध्यक्ष ओलीलाई सन्देश दिँदै खनालले भनेका थिए, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, पार्टी बचाउनुहोस्।’
‘जनताको चाहना र अपेक्षाविपरीत हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ’, दिल्ली उड्नु अघि खनालले पार्टी एकताका लागि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो।
तर, उनको सन्देशले काम गरेन। साढे दुई महिनापछि खनाल स्वदेश फर्किंदा एमाले दुई टुक्रा भयो। एमाले दुई टुक्रा हुनुमा खनालको पनि भूमिका रह्यो। आफैँले दिएको सन्देशविपरीत खनाल दिल्लीस्थित नेपाली दूतावासमार्फत एमाले विभाजनका लागि सनाखत गरे।
आफ्नै जीवनरक्षाका लागि दिल्ली पुगेका खनाल दशौँ वर्ष पसिना बगाएको आफ्नो पार्टीको रक्षा गर्न सकेनन्। दशौँ वर्ष मुलुक र जनताका लागि गरेका संघर्षका सहयात्रीहरु विमानस्थलमा उनको स्वागत र थप स्वास्थ्य लाभको कामना गर्न अनपुस्थित रहे।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology