समायोजन खबर खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरालाई शनिबार डोजर लगाएर भत्काएको हो।
शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा हटाउनका लागि तीन पल्ट दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि २०७७ साल मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले १० दिन दिएर मंसिर २१ गते २७ व्यक्तिको नामावलीसहित अन्तिम पटक सूचना जारी गरेको थियो।
जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भिमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुयाल, तिलकबहादुर मगर, गंगा बिक, डिल्ली गिरी, महेन्द्र बिष्ट, केदार राई, तिर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, धुर्व गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले घर–टहरा हटाउन सूचना जारी गरेको थियो।
शनिबार हालसम्म अटेर गरेर बसिरहेका तीन वटा सग्लो घरलाई भने जेसिभि हालेर भत्काउनु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान वहादुर वनले जानकारी दिए। कतिपय स्थानीयले आफैँ घर भत्काइसकेका थिए।
सूचनालाई बेवास्ता गरेर बसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा घर–टहरा भत्काइएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए। सार्वजनिक जग्गा संरक्षणमा गाउँपालिका जस्तोसुकै कठोर बन्न पछि नपर्ने गाउँपालिका अध्यक्ष बन्जाराले बताए।
सरकारको सयवटा गन्तव्यको सूचीमा बराहपोखरी पनि समावेश गरिएको छ। बराहपोखरीमा दुर्लभ रातो माछा पाईन्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology