समायोजन खबर खोटाङ, कपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठन गर्ने कि ओलीसँगै वार्ता गर्ने भन्ने अलमल अझै कायमै रहेको छ। भर्चुअल माध्यमबाट आफ्नो समूहमा रहेका विभिन्न कमिटीका सदस्यहरूसँग छलफल गरे पनि नेपाल समूह अलमलमै रहेको हो ।
शनिबार स्थायी कमिटी सदस्यहरूसँगको छलफलपछि नेपाल समूहले संसद् विघटनविरुद्धको मुद्दा किनारा नलागेसम्म नयाँ पार्टी गठनको प्रक्रिया अगाडि नबढाउने निष्कर्षमा पुगेको छ।
अदालतबाट मुद्दाको किनारा नलाग्दासम्म एकताको प्रयास जारी राख्दै अगाडि बढ्ने निष्कर्ष नेताहरूको बैठकले निकालेको बैठकमा सहभागी एक नेताले हिमालय टाइम्सलाई बताउनुभयो। अहिलेसम्म आफूहरूले एकताका लागि प्रयास जारी राखे पनि अध्यक्ष ओलीले संसद् विघटन गरेपछि कुरा बिग्रेको उहाँको भनाइ छ।
ती नेताले भन्नुभयो, ‘एकताका लागि कार्यदल बनेर छलफलको प्रारम्भ हुँदा नहुँदै संसद् विघटनतिर जानुभयो । उहाँले आफ्ना त्रुटि, प्रतिगमनकारी क्रियाकलाप नसच्याई उनीसँग सार्थक वार्ता सम्भव छैन। तर, हामी अहिले नै पार्टी दर्ता गरिहाल्ने अवस्थामा पनि छैनौँ ।’
पार्टी एकताका लागि आफूहरू आन्तरिक छलफलमा रहेको उल्लेख गर्दै ती सदस्यले वार्ताको माध्यमबाट एकताको प्रयास पनि जारी रहने बताउनुभयो।
अहिले नेताहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू ओली पक्षसँग अनौपचारिक वार्तामा रहनुभएको छ । ‘वार्ता जारी रहे पनि उहाँ (ओली)ले आफ्नो गल्ती कमजोरी नसच्याउँदासम्म एकता सम्भव छैन। हामी आन्तरिक तयारी पनि गर्दैछौँ, ती नेताले भन्नुभयो।
बैठकले उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन पनि माग गरेको छ। त्यस्तै, सरकारले बजेटमा ढुंगा, गिट्टी, बालुवालगायतका सामग्री निर्यात गरेर व्यापारघाटा कटौती गर्ने सरकारको नीतिको पनि राष्ट्रघात ठहर गर्दै भत्र्सना पनि गरेको छ ।
नयाँ पार्टी गठनका लागि नेपाल समूहमै समस्या
नयाँ पार्टी गठनको तयारी लामो समयदेखि भइरहेको भए पनि नेपाल समूह दुई धारमा विभाजित हुँदा समस्या उत्पन्न भएको छ। नयाँ पार्टी बनाएर अगाडि बढ्नुपर्ने पक्षमा नेताहरूको बहुमत भए पनि केही नेताहरू छुट्ने डर नेता नेपाललाई छ।
शनिबार जिल्ला अध्यक्ष र सचिवहरूको भेलामा नेता नेपालले पनि नयाँ पार्टी गठनका विषयमा समूहभित्रै दुई मत देखिएको एक नेताले बताउनुभयो।
भर्चुअल बैठकमा सहभागी ती नेताका अनुसार नेता नेपाल तत्काल नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने सोचमा भए पनि केही नेताहरूको कारण रोकिनुभएको छ। जिल्ला अध्यक्ष र सचिवहरूले भने अब एकताको बाटो कुर्न नसकिने सुझाव नेपाललाई दिएका थिए।
जवाफमा नेता नेपालले समूहका केही नेताहरू अझै पनि मिल्न सकिन्छ कि भनेर ओली पक्षसँग वार्तामा बसेकाले निर्णय गर्न कठिनाइ भएको बताउनुभयो। नेता नेपालले समूहका केही नेता अझै ओली पक्षसँग संवाद गरेर परिणाम निकाल्छौँ भनेर लागे पनि त्यो सम्भावना नरहेको बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology