समायोजन खबर खोटाङ, खोटाङमा भरुवा बन्दुक, संरक्षित वन्यजन्तु सालकको खपटा र मृगको टाउकोसहित चार जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई शनिबार राती १० बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिश्वकर्मा छन्। उनीहरुको साथबाट भरुवा बन्दुक, संरक्षित वन्यजन्तुको अंग, भरुवा बन्दुकमा प्रयोग हुने बारुद, सोडा, छर्रा लगायत विष्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिए।
गजमेरका अनुसार डम्बरबहादुरको घरबाट एक थान भरुवा बन्दुक, एक वटा मृगको टाउकोको अगाडि पट्टीको अंग, सालकको ४८० ग्राम खपटा, सलाई, गन्धक, बारुद, सोडा र छर्रा, द्रोणको घरबाट लोड गरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, सोडा र छर्रा बरामद गरिएको छ।
यस्तै, रबिन्द्रको घरबाट लोड गरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, सोडा र छर्रा तथा कृष्णको घरबाट भरुवा बन्दुकको ५ थान नाल, बनाउन लागेको बन्दुकको एक थान बट र बन्दुक बनाउन प्रयोग हुने औजारहरु बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जना बिरुद्ध हातहतियार तथा खरखजना सम्वन्धी कसुरको मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरी निरिक्षक गजमेरले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology