समायोजन खबर खोटाङ, प्रतिनिधिसभाको १० मिनेटका लागि स्थगन गरिएको बैठक सूचना टाँसेर यही फागुन २६ गते दिनको १ बजे बस्ने गरी स्थगन भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटा पक्षको अवरोध एवं बहिष्कारपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगन गर्नुभएको थियो ।
संसद् बैठक नभएका समयमा सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने तथा अन्य कार्यसूचीमा अघि बढ्ने वा नबढ्ने भन्नेमा विवाद भएपछि प्रतिनिधिसभाको आजको पहिलो बैठक अवरुद्ध भएको हो ।
सभामुखले बैठकको कार्यसूचीमा रहेका विषयलाई प्रक्रियामा लैजानासाथ प्रमुख प्रतिपक्ष र दाहाल–नेपाल समूहले त्यसको विरोध गर्दै संसद्को कारबाही बहिष्कार गरेको थियो ।
यसअघि बैठकमा सभामुखले सांसदहरूलाई स्वागत गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सदनको आजको कार्यसूचीमा विभिन्न आठ अध्यादेश पेश गर्ने कार्यतालिका थियो ।
अघिल्लो अधिवेशन र यस अधिवेशनको बीचमा निधन भएका दुई प्रतिनिधिसभा सदस्य तथा १२ जना पूर्वसांसद्प्रति श्रद्धाञ्जलि प्रकट गरी शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि बहिष्कारका कारण प्रभावित भयो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय अध्यादेश सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश तेजाब तथा अन्य घातक रसायनिक पदार्थ नियमन अध्यादेश, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश र कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही संशोधन गर्ने अध्यादेश, यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology