चिसाङ शेर्पा खोटाङ, पर्यटकीय गन्तब्यको रुपमा विकसीत भइरहेको बगरेभन्ज्याङमा दृश्यावलोकनका लागि २७ मिटर अग्लो पेन टावर‐डटपेन आकारको) निर्माण भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नम्बर ६ नेर्पा, वडा नम्बर १० पोथका र वडा नम्बर ११ खार्मीको सिमाना बगरेभन्ज्याङमा पेनटावर बनाइरहेको हो ।
प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर मनोरम डाँडामा गोलो आकारमा निर्माणाधिन ६ तल्ला टावरको काम ८० प्रतिशत सकिएको छ । नगरपालिकाको ७२ लाख बजेटमा रावा निर्माण सेवाले निर्माण गरिरहेको टावरमा अब टुप्पोमा पेनको आकार निकालेर फिनिसिङको काम र शौचालय निर्माण गर्न बाँकी रहेको रावा निर्माण सेवा प्रालिका साईड इन्चार्ज नेत्र गुरुङले बताए । उनीहरुले पौष मसान्तमा टावरको काम सकेर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । 
नगरपालिकाले ११ वटा पर्यटकीय गन्तब्यस्थल बनाउने उद्देश्यले तयार पारेको गुरुयोजना अन्तर्गत बगरेभन्ज्याङमा निर्माण भइरहेको पेनटावरलाई निक्कै महत्वपुर्णका साथ हेरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । पेनटावर सञ्चालनमा आएपछि धेरैभन्दा धेरै पर्यटक भित्र्याएर प्राकृतिक हिसाबले प्रवद्र्धन गर्ने र आन्तरिक राजस्व बृद्धि गरेर नगरपालिकालाई सहयोग पुग्ने नगरप्रमुख रिजालले बताए । टावर चढ्नका लागि केही शुल्क तोकिनेछ ।
निर्माणाधिन पेन टावरबाट उत्तरतर्फ ६ वटा हिमाल र मनोरम पहाडी दृश्यहरु सजिलै अवलोकन गर्न सकिनेछ । पेनटावरसँगै एकैपटकमा १ हजार जना अट्ने पिकनीङ स्थल पनि बनिरहेको छ । टावर र पिकनीङ स्थलदेखी केही तल कृतिम ताल पनि निर्माण भइरहेको छ । ‘रुरु ताल’ नाम दिइएको उक्त तालमा भविष्यमा डुंगा शयर गर्न मिल्नेछ । ३५ लाखमा पिकनीक स्थल र ४५ लाखमा ताल निर्माण भइरहेको छ ।
सदरमुकाम दिक्तेलबाट करीब १६ किलोमिटर टाढा रहेको उक्त स्थानमा तीनै किसिमको पर्यटकीय संरचना निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि दिनमा सयौं आन्तरिक पर्यटक घुम्न आउने र वर्षमा लाखौं आम्दानी हुनेमा विश्वस्त रहेको नगरप्रमुख रिजालले दावि गरे । पर्यटकीय गन्तब्यको रुपमा क्रमिकरुपमा विकास भइरहेको बगरेभन्ज्याङले आगामी दिनमा स्थानीयलाई व्यापार, व्यवसाय गरेर जिविकोपार्जनमा पनि सघाउ पुग्नेछ ।
रुरु ताल
त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटकलाई बगरेभन्ज्याङसम्म ल्याउनका लागि नगरपालिकाले हलेसीमा स्थापना गरेको सूचना केन्द्र अहिलेदेखी नै प्रचारप्रसारमा लागि परेको छ । नगरको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्दै प्रवद्र्धनमा टेवा पु¥याउन यसअघि नगरपालिकाले हलेसीमा सूचना केन्द्र स्थापना गरिसकेको छ । सूचना केन्दले हलेसी आएपछि दिक्तेलसम्म पुगेर रमणियस्थल र ऐतिहासिक स्थलहरुको भ्रमण, अवलोकन गर्न पर्यटकलाई सन्देश दिने काम गर्दै आएको छ ।
कसरी पुग्ने बगरेभन्ज्याङ
खोटाङको सदरमुकाम दिक्तेलबजार पुगेपछि गाडी तथा मोटरसाइकलबाट बगरेभन्ज्याङ सजिलै पुग्न सकिन्छ । रत्नपार्क‐जिरोप्वाइन्ट)बाट करीव १६ किलोमिटर टाढा रहेको बगरेभन्ज्याङ पुग्न सोल्मा, तालखर्क कच्ची सडक हुंदै जानुपर्छ ।
बगरेभन्ज्याङमा मनै लोभ्याउने पर्यटकीय गन्तब्यस्थल बनिरहंदा त्यहाँसम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि डिपिआर भइसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए ।
यी हुन नगरपालिकाको ११ वटा पर्यटकीय गन्तब्यस्थल
नगरपालिकाले रुपाकोट डाँडा, मझुवागढी, मझुवा कालिका भगवती/बुधेश्वर महादेव मन्दिर, साप्सुढाप, भुलभुले दुधकुण्ड–रुवालुङ झरना, महुरेगढी आँखापोखरी, सीतादेवी मन्दिर बुईपा, सहदेउगढी विजयखर्क, यलम्बर पार्क, बगरेभन्ज्याङ, तिप्सालिम्चुङपार्क अल्छेढुंगालाई ११ वटा पर्यटकीय गन्तब्यस्थल बनाएको छ ।२०७७ कार्तिक ६ गते बिहान ७ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology