समायोजन खबर खोटाङ, नेपालमा कोरोना भाइरस समुदायस्तरमा फैलिरहेको छ । महत्वपूर्ण चाडबाडहरु नजिकिदो छ । चाडबाडका अवसरमा गाउँभन्दा बाहिर रहेकाहरु दशै, तिहार मनाउन धमाधम गाउँ फर्कन थालेका छन् ।
चाडबाड बनाउन आएकाहरुमध्येमा कोही कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा त्यो सिंगो परिवारसम्म पुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसवर्षको चाडबाड जहाँ हुनुहुन्छ त्यही मनाउन पनि आग्रह गरेको छ ।
तर, पनि मानिसहरु चाडबाड मनाउन धमाधम गाउँ फर्कन थालेका छन् । यसबाट गाउँ अनि परिवार कती सुरक्षित हुन्छ, कस्ता उपायहरु अपनाउने ? स्थानीय सरकारहरु के गर्दैछ । यहि विषयमा समायोजन खबरले रावाबेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलासँग गरेको कुराकानीको संम्पादित अंश ।
चाडबाड लागेसँगै धेरैको संख्यामा मानिस भित्रदै छ । तपाईहरु चाँहि के गर्दै हुनुहुन्छ ?
चाडबाड लागेसँगै हाम्रो पालिकामा अत्याधिक संख्यामा मानिसहरु प्रवेश गरिरहनु भएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टीनले नभ्याउने अवस्था भएपछि गाउँपालिका विपद तथा गाउँ कार्यपालिकको बैठकले आफ्नै घरमा १४ दिन अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने, कसैलाई लक्षण देखिएमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, स्वास्थ्य चौकी प्रमुख, सुरक्षाकर्मीलाई खबर गर्ने निर्णय गरेका छौ । जसका लागि आवश्यक नम्बर, नाम लेखिएको ब्यानर वडा वडामा राखेका छौ ।
यस्तै, लकडाउन र कोरोनाका कारण पालिकाभन्दा बाहिर रहेकाहरुलाई यातायातमा सहज, घरसम्म आउन सजिलो होस भनेर हामीले वर्षाका कारण बिग्रिएका सडकहरु पनि चुस्तदुस्त राखेका छौ । सबै वडामा आरामले आवतजावत गर्न सक्ने सडक बनाएका छौ ।
कोरोना प्रभावित क्षेत्रबाट मानिसहरु आइरहेका छन् । उहाँहरुलाई तपाईहरुको सुझाव/सन्देश के हो ?
मैले बेलाबेलादेखी विभिन्न सञ्चार माध्यम र बैठकमा पनि भनेको छु । हामीले बनाएको क्वारेन्टीनले नपुग्ने भएकाले अनिवार्य रुपमा होम क्वारेन्टीनमा बस्नुहोस, बाहिर हिडडुल नगर्नुहोस सामाजिक दुरी कायम गरीदिनुहोस, लक्षण देखिएमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, स्वास्थ्य चौकी प्रमुख, सुरक्षाकर्मीलाई खबर गर्नुहोस । कुनै भिडभाडमा नजानुहोस, जानै परे अनिवार्य माक्स लगाउनुहोस, बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने, खानपानमा ध्यान दिनुहोस भनेको छु । सम्पुर्णमा वडाहरुमा पनि यहि गर्न/गराउन भनेको छु ।
चाडबाडसँगै कोरोना भाइरस गाउँघरमा यत्रतत्र फैलने खतरा देखियो नि ? कसरी सचेत हुने ?
चाडबाड नजिकिदै गर्दा हाम्रो पालिकामा पनि कोरोना भाइरस गाउँगाउँमा फैलने खतरा भइसकेको छ । पक्कै पनि हामी सुरक्षित छैनौ र हुन सकिन्दैन भन्ने कुरा हामीले बुझिसकेका छौ । दैनिक रुपमा काठमाण्डौ, विराटनगरलगायत कोरोना प्रभावित स्थानबाट गाडीबाट मानिसहरु आइरहेको छ ।
छिमेकी गाउँपालिका जाने बाटो पनि हाम्रै पालिकाबाट पर्ने भएकाले आवतजावत गर्ने मानिसहरु होटल, पसलमा किनमेल गर्ने गरेकाले यस गाउँपालिका पनि कोरोनाबाट अछुतो हुदैन होला भन्ने लाग्छ । त्यसैले कोरोना संक्रमणबाट बच्न आफै होसियार रहन सम्पूर्ण जन समुदायलाई सचेत हुन आव्हान गर्छु ।
पछिल्लो समय कोरोनासँग लड्न के तयारी छ ?
हामीले ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरिरहेका छौ । संघीय सरकारको १० लाख अन्य गाउँपालिकाको सहयोगमा । एमविविएस डाक्टर र स्टाफ नर्सको विज्ञापन गरिसकेका छौ । औषधि उपकरण खरीद गरिसकेका छौ । यति धेरैका संख्यामा मानिस भित्रिएपछि कोरोना भाइरस हाम्रोमा पनि नहोला भन्न सकिएन । अबको दिनमा कोरोनाका केही लक्षण देखिएका मानिस भेटिएमा हामी त्यही अस्पतालमा सुरक्षित रुपमा राख्नेछौ । त्यो भन्दा मुख्य कुरा त सबैजना सचेत हुने नै हो ।
कोरोना कहरका कारण स्थानीय सरकारको कामकाजमा कतीको असर पुग्यो ?
कोरोना कहरका कारण विनियोजन गरिएका बजेटहरुमा असर पुगेको छ । स्थानीय सरकारको धेरै काममा पनि असर पुगेको छ । गाउँपालिकाले छुट्याएका योजनाको अनुगमन, पठनपाठन, दैनिक कार्यालय सञ्चालन, हिडडुल, विभिन्न कार्यक्रम गर्न समेत कोरोनाका कारण ठूलो क्षति भएको छ ।
सामाजिक सुरक्षा भत्ता चुहावट सतहमा आएको छ । तपाईको पालिकामा केछ ?
पक्कै पनि हामीले सामाजिक सुरक्षा भत्तालाई अपडेट गरिरहेका छौ । यहि हेर्नका लागि एकजना कर्मचारी नियुक्ती गरेका छौ । हामी अनलाईनबाट नै कस,कसले भत्ता पायोे, के हुदैछ भन्ने कुरामा निरन्तर अपडेटमा छौ । मृत्यु भइसकेका मानिसको नाममा भत्ता नगएको र चुहावट भएको छैन ।
वडा वडामा जनप्रतिनिधि, कर्मचारीले सामाजिक सुरक्षा भत्ता बाँड्नु हुन्छ । त्यो बेला स्वास्थ्यकर्मी, मालपोत, कृषिका कर्मचारीहरु गएर आ,आफ्नो काम गर्नुहुन्छ । सबै कुरा अपडेट भएकाले यस गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता चुहावट भएको छैन । यदि कदमकदाचित चुहावट भएको भेटिएमा संलग्नलाई हदैसम्मको कारवाही गर्छौ ।२०७७ असोज २७ गते राती ८ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology