समायोजन खबर खोटाङ,सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गर्नुभएको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका लागि मङ्गलबार फिर्ता गरिएको उल्लेख छ ।
ब्याच पिन तयार गर्ने कार्यालयबाट नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रतीक चिह्नमा साविकमा प्रयोग भएको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखी सङ्घीय संसद नेपाल थप गरिएको सचिवालयले जनाएको छ ।
संसदका पदाधिकारी र सदस्यले लगाउने प्रतीक चिह्नको ब्याच पिन ३५० थान तयार गर्न वाग्मती प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई गत असार २१ गते जिम्मेवारी दिइएको थियो । सरकारले अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार संसद्को प्रतीक चिह्नमा रहेको नेपालको नक्सामा समेत सुधार गर्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई सभामुख र अध्यक्षले स्वीकृत गर्नुभएको थियो । स्वीकृतिबमोजिम तयार भएको ब्याच पिनमा समस्या आएपछि सुधार गर्न लागिएको हो ।२०७७ भदौ ३ गते अपरान्ह ३ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology