समायोजन खबर खोटाङ, केपिलासगढी गाउँपालिकाले हालसम्म कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई सघाउ पुग्ने धेरै काम गरेको छ । बाक्स्लिास्थित पृथ्बी माविमा गाउँपालिकाले १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
२६ चैत्रमा बसेको कार्यपालिकाको वैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सातै वडाका वडाध्यक्षहरुबाट १५ दिनको सेवा सुविधा ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोष’मा जम्मा गर्ने, ५ दिनभित्र अति विपन्न परिवारको लगत संकलन गर्ने, वडामा अनुगमन समिति बनाई मौज्दात खाद्यान्न, कालोबजारी, मूल्यबृद्धि नियन्त्रण, म्याद गुज्रेका सामाग्रीहरु चेकजाँच लगायत विभिन्न काम गर्ने निर्णय गरेको छ ।
समग्रमा त्यस स्थानीय तहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा केके गरेकोे छ त ? यहि विषयमा केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार राईसँग समायोजन खबर डटकमले गरेको कुराकानीको संम्पादित अंश ।
लकडाउनको अवस्था कस्तो छ ।
लकडाउन जनताले पूरै पालना गरेका छन् । अहिले सवै हाटबजार, धार्मिक स्थल, भोजभतेर, सभा सम्मेलन, पुराण, भीडभाड हुले खाले सबै गतिविधि बन्द छ ।
लकडाउन गाउँघरसम्म प्रभावकारी बनाउन के उपाय अपनाइरहनु भएको छ ।
मुख्य गरेर प्रचारप्रसारलाई बढी ध्यान दिएका छौ । वडा वडाका जनप्रतिनिधिलाई कोरोना भाइरस सम्बन्धि अभिमुखीकरण तालिम दिएर पठाएका छौ । माइकिङ गर्ने गरेका छौ, होर्डिङ बोड राखेका छौ । विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसारलाई बढी महत्व दिएका छौ । यसले लकडाउन गाउँघरसम्म प्रभावकारी बनाउन धेरै सघाउ पुगेको छ ।
बाँकी लकडाउनलाई अझ प्रभावकारी बनाउन के उपाय अपनाउनु हुन्छ ।
विशेष गरेर हरेक क्षेत्रमा बढी निगरानी गर्ने, सुरक्षा निकायहरु त्यतिकै परिचालन छ । स्वास्थ्यकर्मीहरुलाई ठाउँठाउँमा परिचलान गर्ने, किन भने घरघरमै स्वास्थ्य चेकजाँच पाएमा स्वास्थ्य कार्यालयसम्म जनता आउनु परेन । आफ्नो जाति अनुसारको संस्कार संस्कृती (भीडाभाड हुने क्रियाकलाप) गतिविधि केही समय रोक्न अनुरोध गरिएको छ । र, जनतालाई घरमै बसेर कोरोना भाइरस विरुद्ध एकजुट भएर लड्नुपर्छ, हामी आफै त्यसको सिपाही हौ, यस विरुद्ध हामी लडेनौ भने एकले गर्दाखेरी सवैलाई क्षति हुनसक्छ भन्ने तरिकाले लकडाउनलाई अझ प्रभावकारी बनाउने प्रयास गरिरहेका छौ ।
कतीजना क्वारेन्टाइन, कतीजना होम क्वारेन्टाइनमा राख्नु भएको छ ।
अहिले ४ जना क्वारेन्टाइनमा रहेको छ । होम क्वारेन्टाइनमा २५ जना जति छन् ।
४ जनालाई खानपिनका लागि के व्यवस्था गर्नुभएको छ ।
उहाँहरुलाई बिहान खाजा, दिउँसो दालभात, साँझमा नास्ता, रातीको खाना, चिया, नियमित तातोपानीको व्यवस्था छ । स्वास्थ्य जाँचका लागि बिहान, दिउँसो, साँझ र राती १२ बजे एकएक पटक चेकजाँच हुन्छ ।
स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई पाएका छन कि छैन ।
राज्यस्तरबाट पिपिई पाएको छैन । तर गाउँपालिकाले १० थान पिपिई खरीद गरेर उपलब्ध गराइदिएको छ । १० थान पिपिईमा १ थान क्वारेन्टाइनमा, १ थान हेल्थ डेस्कमा, तीन मोवाइल टिमलाई दुईदुई थान र सुरक्षा निकायलाई १ थान दिएको छ ।
कोरोना महामारीसँग जुधिरहेको स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने केही व्यवस्था गुर्नभएको छ ।
अहिले त्यस्तो केही व्यवस्थापन गरेका छैनौ । उहाँहरुका लागि सुरक्षा सामग्रीमा कुनै कन्जुस्याई गरेका छैनौ । अग्रभागमा उहाँहरु खटिरहनु भएकोमा उच्च प्रशंसा गर्छु । विशेष रुपमा उहाँहरुको लागि पनि सोच्नपर्ने स्थिती छ । किनभने, हेर्नु पनि पर्छ, उहाँहरु फ्रण्ट लाइनमा हुनुहुन्छ । उहाँहरुले फेस गरेपछि मात्रै थाहा हुने हो त्यसकारणले हेर्नुपर्ने आवश्यकता छ तर, अहिले गाउँपालिकाले त्यो गरेको छैन ।

खाद्यान्न आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ।
हामीले खाद्यान्नका लागि अनुगमन गरेका थियौ । गाउँपालिकामा करीव १२ सय बोरा चामल मौज्दात छ । दाल, नुन पर्याप्त नै छ । तोरीको तेल सटेज भएको छ । त्यसलाई आपूर्ति गर्ने प्रयत्न छ । नेपाल खाद्य डिपोबाट पनि केही चामल वितरण भइरहेको छ । डिपोमा अझै ३५० बोरा चामल मौज्दात छ । त्यसैले तत्कालका लागि खाद्यान्नको लागि संकट छैन ।
लकडाउनले दैनिक ज्यालादारी गर्नेको गाँस गुमेको छ । उनीहरुलाई के व्यवस्था गर्नुभएको छ ।
केपिलासगढी गाउँपालिकाले यसको तयारी गरेको छ । तर, हामीले लकडाउनकै कारणले दैनिक मजदुरी गर्ने ब्यक्तिहरु पहिचान गर्दा उहाँहरु केही न केही कृषिमा पनि सम्बन्धित भएकाले अहिले कोदो कुटेको, घरमा केही खाने व्यवस्था भएको स्थिति देखिन्छ । अब, यसरी नै लकडाउन लम्बिदै गयो भने विशेष गरेर अत्यन्तै गरीव वर्गलाई समस्या आयो भने राहत दिन तयार छौ । २५० घरको लगत संकलन गरेका छौ ।
एक स्थानीय तहबाट अर्को तह जानसमेत सरकारले रोक लगाएको अवस्था छ त्यसलाई कसरी हेर्नुभएको छ ।
यो एकदम राम्रो कुरा हो । किनभने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन एकमात्र विकल्प हो । एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक्नैपर्छ । हामीले चाँहि एक वडादेखी अर्को वडा आवतजावतमा पनि अत्यावश्यक काम वाहेकमा सोधपुछ गरेर मात्रै पठाउने र अन्य स्थानबाट आएको भेटिएमा त क्वारेन्टाइनमै राख्ने गरेका छौ ।
तपाईको चाँहि लकडाउन अनुभव कस्तो छ ?
लकडाउन सबैले पालना गरिरहेका छन् । बाक्सिला बजारमा लाग्ने बुधबारे हटिया यतिको सुनसान भएको मेरो जीवनको पहिलो अनुभव हो । द्धन्द्धकालमा हटिया नलाउ भन्दा अनि नेपाल बन्द हुँदा पनि हटियो लाग्थ्यो तर अहिले ठप्प छ । गाउँघरका जनताले पनि लकडाउनलाई साथ दिएको छ । आम जनता, कर्मचारी, जनप्रतिनिधिले लकडाउनको पूर्ण पालना गरेर सरकारलाई साथ दिएको छ । यसर्लाइ हामीले अनुभव र आवश्यकताको रुपमा लिनुपर्दछ । २०७६ चैत ३० गते बिहान ९ :३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology