चिसाङ शेर्पा खोटाङ,
खोटाङको सदरमुकाम दिक्तेल, रत्नपार्क जिरोप्वाईन्टबाट १२ किलोमिटर पैदल अथवा गाडीको यात्रा तय गरेपछि पर्यटकीय तथा धार्मिकस्थल ‘भुलभुले दुधकुण्ड देउधाम’ पुगिन्छ । त्यहाँ पुगिन्जेलसम्म सडकबाट टाढा र नजिकमा देखिने रमणिय दृश्यहरु आँखैमा आईरहन्न्छ । भुलभुलेसम्म सडक पिच नभए पनि गाडी र मोटरबाईकबाट राम्ररी पुग्न सकिन्छ । सडक पिचको क्रममा छ ।

नेर्पामा अवस्थित भुलभुलेको केही मिटर तल मध्यपहाडी लोकमार्गको सडक छ । त्यहाँ पुगेपछि मुन्टो अलिकती फर्काएर हेर्दा चिटिक्क सिगारिएको विभिन्न संरचनाहरु देख्न सकिन्छ । देखिने दृश्यहरुमा सबैभन्दा मजाको दृश्य सातवटा ढुंगाको धाराबाट छङछङ गर्दै झरीरहेको सङलो पानी हो । धारादेखी केही तल पाखामा सलल..भगिरहेको पानीलाई एकपटक हत्केलामा लिएर आफ्नै अनुहार नियाल्न खुब मजा आउँछ । अनि, मुख पखाल्न क्या मजा । सडकको किनारामा सानो कटेज (छाप्रो) मा बसेर छङछङ र सलल…पानीको आवाज सुन्दै खाजा खानुको मजा आहा !

एकैछिन सास विसाएर उकालो हेरेपछि त्यहाँसम्म पुग्दाका थकान क्षणभरमा दुर हुन्छ । पूराना ढुंगाका सिढी चढ्दै गर्दा सेतो र पहेंलो रंगमा सिगारिएको ठूलो गेट, गेटको माथि गजुर अनि ठूल्ठूला अक्षरमा लेखिएको छ, ‘भुलभुले दुधकुण्ड देउधाम यहाँहरुलाई हार्दिक स्वागत गर्दछ’ अनि गेटको पिल्लरको दायाँबायाँमा ताम्रापत्र पनि देखिन्छन् । गेटबाट प्रवेश गरेपछि बायाँतर्फ भएको सातवटा ढुंगेधाराको मुटुनै छुने चिसोपानीमा रम्दै, सेल्फी खिच्दै उकालो लागेपछि गोलाई आकारको पोखरी, फूलहरु, चराचुरुङगीका चिरबिर आवाज त्यहाँका विशेषता हो । त्यसपछि ठूलो पोखरी भेटिन्छ अनि, पोखरीको विच भागमा किराती राजा यलम्बरको बडेमानको मुर्ती उभिरहेको छ । वरीपरी पानीको आवाज,ठाउँठाउँमा पर्यटक तथ भक्तालुलाई आरामको लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बनाईदिएको फलैचामा बसेर आफूलाई शुन्यतामा राख्नुको मजा, क्या मजा । नगरपालिकाले भुलभुलेको मुहार फेरेपछि त्यहाँ अर्कै अनुभव पाईन्छ ।

धार्मिक तथा पर्यटकीयस्थल भुलभुलेमा दैनिक आन्तरिक पर्यटक र भक्तालु, श्रद्धालुहरु पुगेर रमाउने मूख्य आर्कषणको केन्द्रविन्दु हो, ‘त्यहाँका असला माछाहरु’ । किराती राजा यलम्बरको मुर्तीको पछाडी चर्तुभुज आकारको सानो पोखरी, पोखरीविचमा सुतिरहेको वुढानिलकण्ठको मुर्तीको चारैपटी दौडिरहेको माछाले त्यहाँ पुग्ने जो कोहीलाई त्यही बसौं,बसौ, सेल्फी खिचौं बनाउँछ । भक्तालुहरु घरबाट नै माछाको लागि चारो लिएर त्यहाँ पुग्ने गरेको त्यहाँका पुजारी दिर्घराज राई बताउँछन् ।

ठूल्ठूला रुखको फेद अनि बडेमानको दुई ढुंगाको चेपारोबाट भुलभुल गरेर निस्केको पानीमा खेल्ने पाँचसय बढी माछाहरु जति हेरे पनि चित्तै बुझ्दैन । मानिसहरु त्यही माछासँग सेल्फी खिच्छन्, कतीले क्यामेरा तथा मोवाईल तेर्साएर जुम गरेर फोटो खिच्छन् । भुलभुल पानीमा खेलिरहेका माछा कसैले राखेको, लगाएको हैन, २०१४ सालमा पत्ता लागेको भुलभुलेमा त्यही वेलादेखी माछा रहि आएकोे स्थानीयको भनाई छ । माछा चलाएमा, निकालेर लगेमा अनिष्ट हुने जनविश्वासले माछा अहिले पनि सुरक्षित छन् । भुलभुलेको मूख्य आर्कषण नै माछा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल बताउँनुहुन्छ । माछा हेर्नलाई अहिले त्यहाँ विशेषगरी विदाका दिनमा मानिसको भिड लाग्छ । भुलभुले भन्ने वितिक्कै माछाको याद आइहाल्छ ।

धार्मिक तथा पर्यटकीय स्थललाई झकिभकाउ र सुन्दर बनाउन नगरपालिका तदारुकताका साथमा लागेकोे छ । भुलभुलेलाई सवैको साझास्थल बनाउन, किराती राजा यलम्बर, वुढानिलकण्ठ र बुद्धको मुर्ती राखिएको छ । भुलभुलेमा पुगेर माछा, यलम्बरको मुर्ती र बुद्धको मुर्ती हेर्न मात्रै नभएर त्यहाँ उभिएर हरियो जंगल नियाल्नुको छुट्टै मजा छ । अनि वरीपरीको फलैचामा बसेर प्रकृतीसँग रमाउदै साथीसङगी गफिनु र सेल्फी खिच्नु त्यहाँ पुगेपछिको मागको हो । भुलभुले दर्शन गरेमा गतिमुक्ति हुने, सोचेका पूरा हुने जनविश्वास छ । भुलभुलेमा रम्ने पर्यटकलाई थप मनोरञ्जन दिन नगरपालिकाले त्यहाँबाट करीव पाँचसय मिटर माथि रुवालुङ झरना र झांक्रीवास गुफाको पहिचान गरेको छ ।

रुवालुङ झरना (ठ्याक्कै उचाई थाहा नभएको) र झांक्री गुफा पुग्न भुलभुले दर्शनपछि उकालो लाग्नुपर्दछ । उकालोको थकान मेटाउन ठाउँठाउँमा नगरपालिकाले शन्देसमूलक व्यानर राखेको छ । भुलभुलेदेखी झरना र गुफासम्म सिढी नै सिढीको बाटो हिड्दै जानुपर्छ । वाटोको अवस्था अनुसार दायाँबायाँ रेलिङ लगाइएको छ । रुवालुङ झरना र झांक्रीवास गुफा आसपासमै भएकाले त्यहाँ पुगेपछिको मजा फेरी अर्कै छ । झरनाको चिसो पानी, पानीको वेगसँगै आएको चिसो हावामा हात फैलाएर फोटो सेसन अनि झांक्रीको गुफा, गुफामा एउटा झांक्रीलाई आवश्यक जनशक्ति तथा सामग्रीहरुको मुर्ती नियाल्न सकिन्छ ।

मुर्तीकार रोजन राईले बनाएको मुर्ती हेर्दाको आनन्द बेग्लै छ । झरनालाई थप आर्कषित र व्यवस्थित बनाउन नगरपालिकाले गृहकार्य बनाईरहेको छ । झरनाबाट झरेको पानीलाई बगिरहेको खोलामा पोखरी बनाउने र त्यो पोखरीमाथि वारपार गर्ने पुल बनाईनेछ । यतिबेला नगरपालिकाले भुलभुलेसम्म पुग्ने सडक आसपास विभिन्न प्रचारमूलक व्यानर राख्ने काम गरिरहेको छ ।

२०७६ असोज २६ गते दिउँसो ४ :०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology