समायोजन खबर काठमाडौं,
आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ । नेकपाका एक शीर्ष नेताका अनुसार महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन् ।
महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् । सम्भवतः महराले आजै राजीनामा दिन सक्नेछन् । नेकपा सचिवालयका एक सदस्यले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिजोदेखि नै महराजीलाई यसको संकेत गरिसक्नुभएको छ । घटनाक्रमहरू जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रूपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य–तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुन्छ ।’
स्रोतका अनुसार महराले आफूमाथिको आरोप खण्डन गरे पनि उनी हतास अवस्थामा छन् । के गर्ने भन्नेबारे उनले परामर्श गरिरहेका छन् । आजै साँझसम्म महराले राष्ट्रपतिसमक्ष राजीनामा दिने सम्भावना पनि छ । बलात्कार जस्तो संगीन आरोप लागेपछि सभामुख पदमा रहिरहन महरालाई नैतिक र राजनीतिक संकट हुनेछ । सभामुखलाई पदबाट हटाउन महाअभियोग लगाउने विकल्प हुन्छ । तर, महाअभियोग लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग एक चौथाइ संख्या पनि प्रतिनिधिसभामा छैन । सभामुखमाथि गम्भीर आरोप लागेकाले नेकपाले नै निकास दिनुपर्ने देखिन्छ । अधिकांश नेता र सांसदहरूले महराले राजीनामा दिनुपर्ने भनेका छन् ।
२०७६ असोज १४ गते मध्यान्ह १२ : १४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology