चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेलमा दुई वसपार्क र एकवटा जीपपार्क छ । तर, यातायात व्यवसायीहरु भने ति वसपार्क र जिपपार्कमा सवारी साधन पार्किङ नगरेर सडकको दायाँबायाँ ठूल्ठूला तथा साना सवारी साधन पार्किङ गरिरहेका छन् । कोचाकोच सवारी पार्किङले दुर्घट्नाको संम्भावना त्यतिकै बढेर गएको छ । बजार कुरुप र धराप बनिरहेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यटोल र दिक्तेल सोल्माको डाडाँगाउँमा बसपार्क छ । यस्तै, दिक्तेलकै हाटडाँडामा जीपपार्क पनि छ । तर, ति वसपार्क तथा जीपपार्क सधै खाली हुन्छ । बसपार्क र जीपपार्क प्रयोग विहीन भइरहेको छ । सोल्मा बसपार्क र हाँटडाँडा जीपपार्कमा आरामसाथ सवारी साधन पुग्छन् । आचार्यटोल बसपार्क पुग्ने सडक सोलिङ गरिएकाले केही समयका लागि त्यहाँ सवारी साधन लैजान दबाब नदिएको नगरपालिकाले जनाएको छ । सोल्मा र हाँटडाँडामा सवारी साधन पार्किङ गर्न पटकपटक भनिए पनि यातायात व्यवसायीको अटेरीपनले बजारमै पार्किङ भइरहेको हो ।
बसपार्क र जीपपार्क भए पनि यातायात व्यवसायीहरु भने मध्यपहाडी लोकमार्ग सडककै दायाँबायाँ, बजारको साँघुरो सडक, होटल होटलमा पार्किङ गरिरहेका छन् । जसका कारण सवारी साधन चलाउन असहज र पैदलयात्रीलाई अत्याधिक सकस हुने गरेको छ । जथाभावी पार्किङ गर्दा बजारको सुन्दरतामा ह्रास आएको छ । रत्नपार्कस्थित जिरोप्वाईन्टमा मनलाग्दो पार्किङ हुंदा साँझको समयमा दुर्घट्नाको संम्भावना त्यतिकै बढेर गएको छ । सडक कि पार्किङस्थल भन्ने प्रश्न उठ्न थालेको छ ।
बसपार्क तथा जीपपार्क पुग्ने सडकको सुविधा हुंदाहुंदै पनि ट्राफिक प्रहरी, स्थानीय प्रशासन र स्थानीय सरकार फितलो हुंदा अस्तव्यस्त रुपमा पार्किङ गर्नमा यातायात व्यवसायीहरुको मनोबल बढेको स्थानीयको बुझाई छ । यातायात व्यवसायीहरुले स्थानीय सरकारलाई नटेरेका कारण बनेका जीपपार्क र बसपार्क काम नदिने भएको हाटडाँडा टोल सुधार तथा प्रवद्र्धन समितिका संयोजक किसन कुमार राईले बताए । स्थानीय सरकार, प्रहरी, प्रशासनले पनि मतलब नगर्दा यस्तो परिस्थिती आएको हो । उनले भने, ‘जब दुर्घट्ना हुन्छ, मान्छे मर्छ अनि सबैजना तातिन्छन् ।’ यस्तै, बसपार्क बन्छ, बस्तीको विकास हुन्छ अनि व्यापार व्यावसायमा सहयोग पुग्ने भन्दै आचार्यटोल बसपार्कलाई दुई रोपनी निःशुल्क जग्गा दिए पनि उपलब्धि शुन्य भएको जग्गादाता मित्रप्रसाद आचार्यले बताए । यातायात व्यवसायीहरु भने बसपार्कमा शौचालय, पानी, होटलको सुविधा नभए भन्दै आलटाल गर्छन् ।
यातायात व्यवसायीसँग छलफल, नियम उल्लङघन गर्ने गाडीको चाबि खोस्ने,कारवाही गर्नेजस्ता कार्यहरु बारम्बार गर्दा पनि यातायात व्यवसायीहरुको अटेरीले समस्या जस्ताको त्यस्तै भईरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रमुख दिपनारायण रिजाल बताउँछन् । ‘जहाँ बसपार्क छ त्यहाँ बस लैजानु होला, जीपपार्कमा जीप लानुहोला । अन्यथा नियम अनुसार सुरक्षा निकाय र नगरपालिकाको संयुक्त अभियानमा नगरले गर्न सक्ने कडाभन्दा कडा कारवाही गर्छौ ।’ नगरपालिकाले गर्दै आएको शुसासनका लागि मिट द प्रेसमा नगरप्रमुख रिजालले आफ्नो अधिकारभित्रका सबै जनशक्ति प्रयोग गरेर जथाभावि पार्किङ गर्नेलाई कारवाही गरिने र असोज २ गते पत्रकार सम्मेलन गरी यसको नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यस्तै, दिक्तेलबजारमा यत्रतत्र थुपारिएका निर्माण सामग्री व्यवस्थापनमा नगरपालिका कडाइका साथ लाग्ने जनाईएको छ । निर्माण चरणमा दिक्तेलबजार भए पनि स्थानीयको मनोमानीले निर्माण सामग्री जथाभावि सडकमा धराप गरेर राखिएको छ । बजारमा मनलाग्दो पार्किङ र जथाभावि निर्माण सामग्री थुपारिदा बिरामी, बृद्धबृद्धा, स्कुले बालबालिकालाई बजारमा यात्रा गर्न सवैभन्दा जोखिम छ । यसतर्फ सवैको ध्यान कहिले जाने ?
२०७६ भदौ ५ गते बिहन ७ :५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology