समायोजन खबर खोटाङ,
गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोल्ने क्रम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिज खोल्न थालेपछि उदयपुर र खोटाङबीचको सोझो यातायात सम्पर्क टुटेको छ । ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको बेलिब्रिज खोल्न थालेदेखि नै २ जिल्लाबीचको सोझो यातायात सेवा आउँदो ६ महिनाका लागि ठप्प भएको हो ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङतर्फ खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीको फोक्सिन्टारमा बेलिब्रिज हरेक वर्खायाममा खोल्ने तथा हिउँदमा पुनःजडान गर्ने गरिएको छ । वर्षाको मौसममा कोसीमा आउने बाढीले बगाउने जोखिमबाट बँचाउन बेलिब्रिज खोल्ने गरिएको हो । गत १४ गतेदेखि खोल्न थालिएको बेलिब्रिज ८० प्रतिशत खोलिसकिएको र २/३ दिनभित्र सबै खोलिसक्ने गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ ।

योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले वर्षायाममा कोसीमा अत्याधिक आउने बाढीबाट जोगाउन बेलिब्रिज खोलेर सबै सामग्री सुरक्षित गर्ने गरिएको बताए । हिउँद लागेपछि हरेक कात्तिक मध्यतिर पुनः जडान गरेर दुई जिल्लाबीचको सोझो यातायात आवागमन सुचारु गर्ने गरिएको छ भने हरेक जेठमा बेलिब्रिज खोलेपछि सोझो यातायात सम्पर्क टुट्ने गरेको ज्ञवालीले बताए । यो वर्ष त्यत्ति पानी नपरेकाले बेलिब्रिज केही ढिला खोलिएको जोड्न तथा खोल्न जिम्मा पाएको ठेकेदार कम्पनी सगरमाथा कन्स्ट्रक्सन गाईघाटले जनाएको छ । कम्पनी सञ्चालक प्रेमराज कार्कीले वर्षा छिटो सुरु भएको साल वैशाख अन्तिमदेखि जेठ पहिलो साताभित्रै बेलिब्रिज खोलिसक्ने गरिन्छ भने ढिला सुरु भएको वर्ष ढिलै खोल्ने गरिएको छ । यो वर्ष अहिलेसम्म त्यति ठूलो वर्षा नभएकाले जेठ दोस्रो सातादेखि मात्र खोल्न थालिएको उनले बताए ।
यो वर्ष बेलिब्रिज जडान र खोल्नका लागि सडकले ८७ लाख हाराहारी खर्च गरेको छ। फोक्सिन्टारमा पक्की मोटरेबल पुलको अभावमा विगत ४ वर्षयता करोडौं खर्च बेलिब्रिज लगाउने र खोल्ने काममा खर्च भइरहेको छ । त्यसअघिसम्म फोक्सिन्टामा फेरि सञ्चालन गरेर मान्छे, उपभोग्य सामग्री तथा सवारी साधन कोसी वारपार गर्ने गरिएको थियो । २०७२ को बाढीले फेरि बगाएपछि बेलिब्रिजको प्रयोग गरिँदै आएको छ ।

सात वर्षदेखि फोक्सिन्टारमा निर्माणाधीन पक्की मोटरेबल पुलको काम भर्खर जग मात्र राखिएको छ । ०७५ चैत २० गते सम्पन्न गरिसक्नेगरी ०६९ चैत २० गते ठेक्का सम्झौता भएको पक्की पुल निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिलेसम्म २० प्रतिशत मात्र काम भइरहेकाले आउँदो २ हिउँदरबर्खा बेलिब्रिजकै भर पर्नुपर्ने सम्भावना रहेको स्थानीय बताउँछन् । १९ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको गौरीपार्वती र बाइपी जेबीले अहिलेसम्म ६ करोड ६६ लाख भुक्तानीसेमत लिइसकेको पुल योजना सेक्टर १ सुनसरीले जनाएको छ ।
गाईघाट–दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग ०५३ सालदेखि जारी रहे पनि अझै पूर्ण हुन सकेको छैन । फोक्सिन्टारदेखि उदयपुरतर्फ ५३ किलोमिटर र दिक्तेलसम्म ७६ किलोमिटर गरी १ सय ३९ किलोमिटर लामो लोकमार्ग दोहोरो लेनको पक्की र कालोपत्रे गर्ने क्रम चलिरहे पनि अहिलेसम्म १९ किलोमिटर (गाईघाट–साउने) सम्म) कालोपत्रे सम्पन्न भएको छ । आउँदो ०७६ असारभित्र दिक्तेलसम्मै कालोपत्रे भइसक्ने गरी काम अघि बढिरहेको डिई ज्ञवालीले बताएका छन् ।
२०७६ जेठ २० गते साँझ ७ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology