समायोजन खबर खोटाङ,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले ‘मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध’ विरोध जनाएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्र्तगत पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर त्यसको विरोध जनाएको हो ।
महासंघको अगुवाईमा बुधबार दिक्तेलको त्रिवेणीचोकमा एक कार्यक्रम गरी जिल्लामा क्रियाशिल पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर मिडिया काउन्सिल विधेयकको विरोध गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राईले बताए । कालोपट्टी बाँधेर त्रिवेणीचोकमा केही समय कार्यक्रम गरिएपछि विरोध स्वरुप पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए । 
महासंघकै केन्द्रीय कार्यक्रम अन्र्तगत जेठ ३ गते काठमाण्डौमा संसद वाहिर र जिल्लाको सदरमुकामहरुमा संचार साधनसहित बृहद प्रदर्शन कार्यक्रम रहेको छ । मंगलबार मात्रै नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पोखरेलमार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई मिडिया काउन्सिल विधेयक सच्याउन माग गर्दै ज्ञापन पत्र पठाएको थियो । 
गत बैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । ‘समाचार जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पु–र्याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने,’ विधेयकमा उल्लेख छ । प्रेस काउन्सिलले कारबाही गर्नुअघि एकपटक सम्बन्धित पक्षलाई स्पष्टीकरण लिने व्यवस्था पनि विधेयकले गरेको छ । यसअघि प्रेस काउन्सिल विधेयकमा पत्रकारलाई जरिवानाको व्यवस्था गरिएको थिएन ।
२०७६ जेठ २ गते मध्यान्ह १ : १६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology