समायोजन खबर काठमाण्डौ,
आज देशभर उधौली पर्व मनाइदै छ । आजको दिन काठमाडौको टुडिखेल, खोटाङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम लगायत देशका विभिन्न किराँतहरुको बाहुल्यता भएको ठाँउमा नाँचगान गरी उधौली पर्व मनाउने चलन रहेको छ । आजको दिनलाई पवित्र भुमी पूजाका रुपमा लिने गरिएको छ । भुमी अर्थात माटोको श्रद्धाकासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नकालागि भगवानलाई धन्यवाद दिंदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्ने चलन रहेको छ ।
यसैबिच, नेवार समुदायले यःमरि पुन्हि तथा ज्यापू दिवस आज धुमधामका साथ मनाउँदै छन् । नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरुप बनाएर त्यसभित्र चाकू, तील, दूधको खुवा आदि राखेर पानीको बाफबाट यःमरि तयार पारिन्छ । यःमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ भन्ने विश्वास छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा पनि छरिएर रहेका नेवार समुदायको यो पर्व प्राचीन संस्कृति र परम्परामा आधारित छ ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार पानीको देवताका रूपमा काठमाडौँवासीले मत्स्येन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णलाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा यःमरि चढाउने परम्परा पहिलेदेखि चलिआएको हो । यसैदिन ज्यापू दिवस पनि मनाइनेछ । ज्यापू संस्कृतिको रक्षार्थ बिसं २०६१ सालबाट यो दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, सङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता परम्पराको महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतका लागि हरेक वर्ष काठमाडौँ उपत्यकाका भिन्ना भिन्नै स्थानको अगुवाइमा आयोजना गरी ज्यापू दिवस मनाइन्छ । महर्जन, जकमी, डङ्गोल, मुनिकार, सुवाल, अवाल, प्रजापति, पाछै, सिंह थर ज्यापू समुदायमा पर्छ ।
२०७५ पुस ७ गते बिहान ९ : ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology