चिसाङ शेर्पा खोटाङ,
जन्तेढुंगा गाउँपालिकामा टेलिफोनको चरम समस्या रहेको छ । गाउँपालिकाको काहुलेमा नेपाल टेलिकमको टावर भएपनि अधिकांश स्थानमा टेलिफोनको समस्या भएको हो । भौगोलिक रुपमा डाँडापहरा रहेको गाउँपालिकाको डम्र्बखुशिवालय, काहुले, देविस्थान, दिप्लुङ, वोपुङमा टेलिफोनको समस्या रहेको जन्तेढुंगा गाउँपालिका प्रमुख शंकर बहादुर राईले जानकारी दिनुभयो । टेलिफोनको भरपर्दो सुविधा नहुंदा नियमित काममा समस्या हुंदै आएको छ । फोन गर्नकै लागि डाँडा–डाँडामा नेटवर्क खोज्दै हिड्नुपर्ने बाध्यता छ ।
स्थानियवासीले बर्षैदेखी झेल्दै आएको टेलिफोनको समस्या समाधानका लागि डम्र्बखुशिवालयमा रहेको कूहिभीरडाडाँमा थप टावर राख्न आफू स्वंयम टेलिकमको क्षेत्रिय कार्यालय विराटनगर र केन्द्रिय कार्यालय काठमाण्डौमा पटकपटक अनुरोध गरेपनि उनीहरुले वेवास्ता गरेको गाउँपालिका प्रमुख राइले बताउनुभयो । टेलिफोनको असुविधाकै कारण खबर आदनप्रदान गर्नमा ढिलाई हुंदा कतीपयको अकालमै ज्यान समेत जाने गरेको छ ।
टेलिफोनको समस्या समाधानका लागि केन्द्रसम्म पहल गरिदिन खोटाङका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, राजन राईलाई पनि अनुरोध गरिएको थियो । उहाँहरुबाट सम्बन्धित निकायसम्म खाशै प्रभावकारी समन्वय नभएको पाइएको छ । जन्तेढुंगा गाउँपालिकावासीलाई यातायातमा समेत उस्तै चरम समस्या छ । गाउँपालिकाको ६ वडामध्ये ४ वडामा हिउद बर्खा नै गाडी गुड्ने सडक बनेता पनि उदयपुर र खोटाङको सिमानामा रहेको दुधकोशी नदीमा पक्की पुल नहुंदा यातायातमा ठूलो समस्या देखिएको हो ।
गाउँपालिकाको सबै वडादेखी सिधा र छोटोदुरीमा तराई जान सकिने भए पनि नदीमा पुल नहुंदा ६ महिना तराईसँगको सम्बन्ध टुट्ने गरेको छ । भर्खरै दुधकोशी नदीको बंशिलाघाटमा बनेको झोलुङगे पुलले यातायातमा केही राहत दिएको छ । झोलुङगे पुल बनेपछि तरकारी, फलफुलहरु विक्रीका लागि तराई लगिने गरिएको छ ।
साकेला गाउँपालिकाको अधिकांश वडाहरुमा बर्षैदेखी टेलिफोनको उस्तै समस्या रहेको छ । बिशेषगरी खिदिमा,च्यानडाँडा, रतन्छा लगायतका वडाहरुमा टेलिफोनको विकराल समस्या रहेको छ । त्यस भेगका स्थानिय फोन गर्नकै लागि अग्ला–अग्ला डाँडाहरुमा निस्कनुपर्ने नमिठो बाध्यता छ ।
खोटाङको बराहपोखरी गाउँपालिकामा फोनको उस्तै अत्याधिक समस्या छ । त्यस गाउँपालिकाको सबै वडाहरुमा फोनको समस्या रहेको हो । गाउँपालिकाको वडाभन्दा बाहिरका केही स्थानमा भएका नेपाल टेलिकम र निजी कम्पनी एनसेलको टावरले आंशिक रुपमा काम गरेता पनि गाउँपालिकाभरी नै फोनको समस्या रहेको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए ।
फाक्टाङ, पौवासेरा, मौवाबोटे, बराहपोखरी वडाहरुमा तराईका फोनका टावरले काम गरीरहेको छ । सुन्तलेमा पनि तराई र ईन्द्रेणीपोखरीको एनसेल फोनको टावरले काम चलीरहेको छ । फोनको टावर राख्नका लागि आवाश्यक प्रक्रिया र बजेट विनियोजन भएर सोलार प्यानल जडान सकिएको र बर्खाका कारण अन्य काम गर्न नसकिएको गाउँपालिकाको भनाई छ ।
खोटेहाङ गाउँपालिकामा पनि टेलिफोनको उस्तै समस्या छ । गाउँपालिकाको लिकुवापोखरीमा सबैभन्दा वढी फोनको समस्या छ । लिकुवापोखरीको वडा कार्यालय बाहेका अन्य स्थानमा टेलिफोनको अत्याधिक समस्या रहेको खोटेहाङ गाउँपालिकाकी उपप्रमुख कविता राईले जानकारी दिइन् ।
उहाँका अनुसार लिकुवापोखरीमा टावर राख्न पहल भइरहेको छ । वडा नम्बर ५, ६ को केही स्थानमा आशिंक रुपमा मात्रै टेलिफोन चल्ने गरेको छ । टेलिफोन गर्नका लागि डाँडामा चड्नुुपर्ने बाध्यता रहेको छ । विजुली बत्तीको हकमा भने लिकुवापोखरी, वाफलुखा, सावाकटहरेमा बल्न बाँकी रहेको छ । अन्य वडाहरुमा बिजुली बलिरहेको छ ।
ऐसेलुखर्क गाउँपालिकामा सबैभन्दा धेरै टेलिफोनको समस्या रहेको छ । गाउँपालिकाको सात वडाभरी नै फोनको ठूलो समस्या रहेको पाइएको छ । राखावाङ्देल, वाकाचोल, माक्पामा टेलिफोनको सुविधा शुन्य छ ।
सञ्चारको विकासमा नयाँ नयाँ आयम आए पनि त्यस भेगका मानिसलाई अझैसम्म फोनकै सुविधा छैन । ऐसेलुखर्क बजारमा मात्रै टेलिफोन चल्ने गरेको र वडाकै अन्य स्थानमा समस्या रहेको गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले जानकारी दिनभयो । जलेश्वरी, महेश्वरी र ज्यामिरेमा आशिंक रुपमा टेलिफोन सञ्चालनमा रहेको छ ।
टेलिफोनको चरम समस्या झेलिरहेका गाउँपालिकावासीका लागि राखावाङ्देलमा टावर राख्ने भनिए पनि बर्खाका कारण संम्भव नरहेको गाउँपालिकाले जनाएको छ । बर्खाकै कारण प्राविधिकहरु समेत आउन मन नगर्दा टेलिफोनको अत्याधिक समस्या भएको हो । फोन गर्नकै लागि घण्टौ हिडेर डाँडाहरुमा धाउनुपर्ने बाध्यता स्थानियमा यथावत छ । केपीलासगढी गाउँपालिकामा भने हाल टेलिफोनको समस्या नरहेको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । बाक्सिला, वासपानी, सप्तेश्वरमा बिजुली बत्ती पुगेको छ । अन्य वडामा विस्तारको काम भईरहेको छ ।
२०७५ साउन २९ गते बिहान ७ :५७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology