समायोजन खबर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम राष्ट्रिय बाँस सम्मेलन गर्ने तयारी गरेको छ
नगरपालिकाको मुख्य आयोजना तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन ललितपुरको सह–आयोजनामा सम्मेलन गर्ने तयारी गरेको हो।
नगरपालिकामा शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथमा सम्मेलन गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो।
सरकारको नीतिमा स्थानीय सामाग्री प्रयोग गर्दा लागतमा २० प्रतिशतसम्म भए पनि स्थानीय उत्पादनको प्रयोग गर्ने व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले सम्मेलनको तयारी गरिएको जनाईएको छ । स्थानीय उत्पादनमा सरकारको ध्यान खिच्नकै लागि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई नगरपालिकाको तर्फबाट दक्ष जनशक्तिबाट निर्मित बाँसको कुर्सी उपहार स्वरुप उपलब्ध गराउने तयारी छ।
पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहको नेतृत्वमा बनेको राष्ट्रिय आयोजक समितिसँगको समन्वय र सहकार्यमा हुने सम्मेलनमा सरकारी निकाय, वन–वातावरण, पर्यावरणका क्षेत्रमा काम गरिरहेका दातृ निकाय, गैर सरकारी संघसंस्था, वन–विज्ञान शिक्षालय तथा नीजि क्षेत्रहरु लगायतका सबै सरोकारवाला पक्षहरुलाई सम्मेलनमा सहभागीता, साझेदारी, सहकार्य र समन्वयका लागि आव्हान गरिने नगरप्रमुख भट्टराईले बताउनुभयो।
नगरपालिकाबाट राष्ट्रिय आयोजक समितिसँग समन्वय तथा सहकार्य गरी स्थानीय स्तरमा सम्मेलनको आवश्यक तयारीका लागि नगरपालिकाका वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन समिति संयोजक मुगाधन राईको संयोजकत्वमा समिति गठन गर्ने, सम्मेलनको पूर्व तयारी र स्थानीय समुदायलाई जोड्न विद्यार्थीमार्फत बाँस सम्बन्धी निबन्ध, हस्तकला प्रतियोगिता तथा प्रदर्शनी तत्कालै नगरस्तरीय गर्ने तयारी गरिएको छ
सम्मेलनमा प्रदर्शनीका लागि १५ वटै वडामा बाँसबाट निर्मित पूराना सामाग्रीहरु संकलन गर्न वडाध्यक्षहरुलाई जिम्मेवारी दिने, प्रत्येक वडाबाट बाँससँग काम गर्ने १५ जना विज्ञ व्यक्तिहरु वडाले छनोट गर्ने र नगरपालिकाबाट प्रोत्साहित गर्ने, छनोट भएका व्यक्तिहरुबाट सम्मेलन अवधिमा प्रदर्शनीका लागि बाँसबाट निर्मित आवश्यक सामाग्रीहरु तयारी गर्न अनुरोध गर्ने लगायतका तयारी गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो।
बाँसको संरक्षण, व्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता विकास गरी प्राकृतिक संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्धि गरी संमृद्ध पालिका र राष्ट्र बनाउने सम्मेलनको मूल ध्येय रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
नगरभित्र अत्याधिक मात्रामा मलिवास, धेरै मात्रामा ढुङग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङगो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियाली लगायतका ११ किसिमका बाँस पाईने गरेको छ।
उक्त नगरपालिकाका नगरप्रमुख भट्टराई र उपप्रमुख विसन राई निर्वाचित हुनासाथ कार्यकक्षमा बाँसबाट निर्मित कुर्सी र बाँसको फर्निचरहरु प्रयोग गर्दै आईरहेका छन्।
यसैबिच, नगरपालिकाकाले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा रेड पाण्डा तथा थार महोत्सव गर्ने पनि तयारी गरेको छ।नगरपालिकाको पाथेका, नेर्पा, चिउरीडाँडामा पाईने लोपोन्मुख रेड पाण्डा र थारलाई संरक्षण गर्ने उद्देश्यले महोत्सवको तयारी गरिएको हो। महोत्सवको मिति पछि तोकिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology