समायोजन खबर खोटाङ, ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत खुल्ला राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरन सिवाको ‘बिर्खे दमाईको आवाज’ नामक कविता प्रथम बनेको छ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा टेम्के तुवाचुङ साहित्यिक प्रतिष्ठान र रावासावा प्राज्ञिक समाजको सह आयोजनामा हलेसीस्थित जाम्बाला रिसोर्टमा बिहीबार सम्पन्न प्रतियोगितामा प्रथम भएको कविताले नगद ४० हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ।
भोजपुरका संग्राम राईको वाध्यता कि रहर कविता दोश्रो, उदयपुरका जीवन चाम्लिङको भरिया दाई कविता तेश्रो, सिन्धुलीका बाबुराम श्रेष्ठको छमकली रोकाया कविता चौथो र भोजपुरका सकिला राईको म यात्री मनको कविता पाँचौ भएको छ। कवितामा दोश्रो, तेश्रो, चौथो र पाँचौं हुनेले २५ हजार, १७ हजार, ११ हजार र ७ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताका लागि ८ जिल्लाबाट १६ वटा कविता छनौट भएकोमा १४ जनाले मात्रै कविता वाचन गरेका थिए । दुईजना कवि अनुपस्थित भए। कविता प्रतियोगिताको निर्णायक मण्डलमा रामविक्रम थापा, बेदीकुमार राई र कविता राई रहेका थिए।
कार्यक्रमको अवसरमा वरिष्ठ कवि जसराज किरातीलाई ११ हजार १११ रुपैयाँसहित अभिनन्द पत्र प्रदान गरेर दोसल्ला ओढाई सम्मान गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राई, सदस्य सचिव डा.धनप्रसाद सुवेदी, डा.कृष्णराज अधिकारी, मुन्दुम अध्येता भोगिराज चाम्लिङ लगायतका श्रस्टा तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्का लगायत उपस्थित थिए।
महोत्सव अन्तर्गत नै खोटाङ कलाकार समाजको सह–आयोजनामा आगामी जेष्ठ ६ गते दिक्तेलमा १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगिता र जेष्ठ ८ गते देखि १० गतेसम्म दिक्तेलमै राष्ट्रिय कराते प्रतियोगिता हुनेछ। महोत्सव अन्तर्गत बैशाख ३१ गते दिक्तेलबजारमा २१ किलोमिटर हाफ म्याराथनसहित विभिन्न विधाका दौड प्रतियोगिताहरु सम्पन्न भईसकेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology