समायोजन खबर खोटाङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको अध्यक्षमा फुर्वा दोर्जी शेर्पा दोहोरिएका छन्।
महासंघको बुधबारबाट दिक्तेलस्थित समिक्षालय हलमा सुरु भई बिहीबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुडेका शेर्पा पुनःदोहोरिएका हुन्।
महासंघले बिहीबार अपरान्ह दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलन गर्दै शेर्पाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समन्वय परिषद गठन भएको जानकारी दिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा एलबी मगर, महिला उपाध्यक्षमा पदम कुमारी सैंजु र पर्शुराम तामाङ रहेका छन्।
सचिवमा सप्तमणि राई, सह–सचिव तीनजनामा वीरेन गुरुङ र बाँकी दुई जना सह–सचिव मनोनित गरिने जनाईएको छ। कोषाध्यक्षमा किसन भुजेल रहेका छन्। सदस्यहरुमा रविन सुनवार, निर्मल राई, यादव श्रेष्ठ, चित्रकला भुुजेल, भुवन राई र संगीता राई रहेका छन्। दुईजना सदस्य जातियता संख्या र भुगोलका आधारमा मनोनित गरिनेछ।
रुपाकोट होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनका सहभागीहरु।
अधिवेशनमा किरात राई यायोक्खा, जिल्ला शेर्पा संघ, नेवा ध्ये दबु, मगर संघ, तामाङ घेदुङ, भुजेल सेवा समाज र तमु छेदीबाट दुई–दुई जना प्रतिनिधि सहभागी थिए। जातिय संस्थामध्ये मगर संघ जिल्ला कार्य समिति बाहेक अन्य संस्थाका प्रतिनिधिले लिखित रुपमा चयन भएका पदाधिकारीलाई लिखित रुपमा सिफारिस गरेको पत्रकार सम्मेलनमा जनाईएको छ।
जातिय घटकहरुले दस्तखतसहित सिफारिस गरेपछि सर्वसहमत नेतृत्व घोषणा गरिएको निर्वाचन अधिकृत नारायणदास राईले बताए। निर्वाचन अधिकृत राई, सदस्य सचिव डार्विन चाम्लिङ र ध्यान बहादुर राई निर्वाचन समितिमा थिए। अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका उप– महासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए।
नेतृत्व चयनमा असहमति
केही व्यक्तिहरुको स्वार्थका कारण सुनियोजित तरिकाले विधान विपरित चक्रिय प्रणालीलाई बेवास्ता गर्दै नेतृत्व चयन गरेको भन्दै तीन जातिय संस्थाले असहमति जनाएको छ। किरात याक्थुम चुमलुङ, नेपाल मगर संघ जिल्ला कार्य समिति र नेपाल माझी उत्थान सेवा समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन मण्डल नै कब्जा गरी लोकतान्त्रिक विधि र पद्धतिलाई अबलम्बन गर्न समेत बन्देज गरेर नेतृत्व चयन गरेकामा पूर्ण असहमति रहेको जनाएको छ।
‘यस किसिमका अराजक गतिबिधिहरुले सिगों आदिवासी जनजाति समुदायहरुलाई एकतातर्फ भन्दा पनि बिभाजनतर्फ लाने निश्चित देखिएको छ।’ प्रेस विज्ञप्तिमा भनिएको छ।
बन्द सत्रभित्र नेतृत्व चयन गर्दा सबैले सहमति जनाएकाले सबैलाई समेटेर लैजाने अध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले तीनवर्षे कार्यकालभित्र महासंघको भवन बनाउने लक्ष्य रहेको बताए। महासंघको भवन निर्माणका लागि शेर्पा दम्पत्तीले थामखोरेडाँडामा आठ आना जग्गा निशुल्क दान गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology