समायोजन खबर खोटाङ, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले आगलागीबाट भएको धनजनको क्षति र पहलको विवरण माग गरेको छ।
जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, दुई नगरपालिका र आठ गाउँपालिकालाई आयोगले मंगलबार पत्रचार गर्दै हालसम्म आगलागीबाट भएको धनजनको क्षति र आगलागी रोकथाम तथा नियन्त्रणमा गरेका पहलहरुको विवरण माग गरेको हो।
आयोगका प्रमुख उपसचिव गीता कुमारी दाहालले पठाएको पत्रमा जिल्लामा आगजानीबाट भएको धनजनको क्षतिको विवरण र हालसम्म गरिएका पहलहरुको विवरण माग गरिएको छ।
आयोगले आगलागी तथा डढेलो जोखिम न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्व तयारी, सुरक्षा, प्रतिकार्य लगायतका विषयको उचित व्यवस्था गर्न तथा आमसञ्चार माध्यममार्फत सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रसारणमा थप जोड दिन भनेको छ।
आगलागी र डढेलोजस्ता प्राकृतिक विपद्का कारण नागरिकको जीउधनको सुरक्षा हुन नसक्दा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ३ मा उल्लेखित प्रत्येक व्यक्तिको जीवनको सुरक्षाको अधिकार, नेपालको संविधानको धारा १६ मा उल्लेखित सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा २५ मा उल्लेखित नागरिकले आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने मौलिक हकको संरक्षण हुन नसकेको आयोगको भनाई छ।
विपद्जन्य घटनामा द्रूत प्रतिकार्य टोली एवम् घटना प्रतिकार्य टोलीको समयमा नै परिचालन गरिनुका साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ समेत प्रभावकारी रुपमा कार्यान्वयन हुनु आवश्यक रहेको आयोगको ठम्याई छ।
हाल जिल्लामा प्रहरी र विधुत प्राधिकरणले मात्रै आगलागी रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। स्थानीय तहहरु आगलागी रोकथाम तथा नियन्त्रणमा उदासिन देखिन्छ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८० साउन महिनादेसख २०८१ बैशाख १२ गतेसम्म आगलागीबाट ४ करोड ९ लाख २२ हजार ६०० को क्षति भएको छ। १०८ स्थानमा आगलागी(डढेलो) लागेको छ। आगोबाट ४६ वटा गोठ, ६४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ।
आगलागीबाट १७५ वटा चौपाया र १९५ पंक्षिमा क्षति पुग्दा ६ जना मानिस आगलागीबाट घाईते भएका छन्। डढेलोबाट रावावेंशी गाउँपालिका–१ कुभिण्डे हरमटारका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको जलेर मृत्यु भएको छ। बैशाख १२ गते मैनचौर सामुदायिक वनको झिक्रा तथा पत्करमा लगाएको डढेलो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology