समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सुरु गरेको छ।प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा पाथेकाबाट शिविरको सुरुवात गरिएको हो।
पाथेकामा बिहीबार शिविरको आयोजना गरेर २७६ जनालाई विभिन्न किसिमको सेवा प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इरन राईले जानकारी दिईन्।
राईका अनुसार सात जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। ३८ जनाको अपाङ्गता स्वास्थ्य परीक्षण, १४३ जनाको आँखा जाँच, ९३ जनालाई निशुल्क चश्मा वितरण र १४३ जनालाई निशुल्क औषधि वितरण गरिएको छ।
शिविरमा २४ जनाको फिजियोथेरापी गरिएको छ। एकजनालाई ह्वीलचेयर,चारजनालाई क्यान लठ्ठी, दुईजनालाई विशेष जुत्ता,एकजनालाई वाकर र एकजनालाई श्रवणयन्त्रका लागि सिफारिस गरिएको छ।
१५ वडामै चल्ने शिविरको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए।
शिविरमा नगरका कर्मचारी बाहेक जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख मेडिकल अधिकृत डा.पुस्कल राई, फिजियोथेरापिष्ट डा.ईश्वर तिमिल्सिना, अडियो टेक्निसियन आशाराम चौधरी, बी अप्टम व्याचलर अफ अप्टोमेट्री सत्यजित सिन्हाले सेवा दिईरहेका छन्।
यस्तै, शुक्रबार खार्मीमा सम्पन्न शिविरमा १९९ जनाले सेवा लिएका छन्। खार्मीमा १८ जनाको अपाङ्गता स्वास्थ्य परीक्षण, ४९ जनाको प्रारम्भिक स्वास्थ्य जाँच, ८१ जनाको आँखाको जाँच,४४ जनालाई चश्मा वितरण, २४ जनाको कानको जाँच गरिएको छ।
शिविरमा १२ जनाको फिजियोथेरापी गरिएको छ। नौ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छ।सेतो छडीका लागि तीनजना, ह्वीलचेयरका लागि एकजना, विशेष जुत्ताका लागि दुईजना र श्रवणयन्त्रका लागि पाँचजना सिफारिस गरिएको छ। सेतो छडी, जुत्ता लगायत प्राथमिकताका आधारमा वितरण गरिनेछ।
कहाँ–कहिले शिविर
बैशाख महिनाको १५ गते विजयखर्क, १६ गते बुईपा, १७ गते नुनथला, १८ गते निर्मलीडाँडा, १९ गते बुवालुङ, २० गते चिउरीडाँडा, २१ गते नेर्पा, २२ गते खाल्ले, २३ गते बाम्राङ, २४ गते लफ्याङ, २५ गते सोल्मा, २६ गते जालपा, २७ गते दिक्तेलमा शिविर चल्नेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology