समायोजन खबर खोटाङ, दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरसँग स ९ प १२१२ नम्बरको मोटरसाइकल अर्खौलेको कामीडाँडामा ठोकिदा मोटरसाइकलमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार देविटारका १८ वर्षीय टंकल राईको घट्नास्थलमै ज्यान गयो।
फागुन २० गते आइतबार दुर्घट्नामा ज्यान गुमाएका राईको भोलिपल्ट विहान जिल्ला अस्पतालमा पोष्टमार्टम गरी शव ट्याक्टरमा हालेर गाउँ लगियो । पोष्टमार्टम घरबाट हलेसी तुवाचुङ नगरपालिकाको ट्याक्टरले टंकलको शव गाउँसम्म निशुल्क लगिदियो।
टंकलको परिवारले जिल्ला अस्पतालबाट गाउँसम्म शव लैजाँदा पैसा तिर्न परेन तर, टंकलजस्तै अन्य मृतकको शव पोष्टमार्टम गराउन जिल्ला अस्पताल ल्याउन र लैजानमा परिवारले गाडी तथा टयाक्टरलाई हजारौं वजेट खर्च गर्नुपर्ने हुन्छ। पैसा खर्च गरे पनि शव बोक्न हत्तपत्त गाडी तथा ट्याक्टर मान्दैनन्। चिनजानको हुनपर्छ कि सोर्सफोर्स लगाउनुपर्छ।
जिल्लामा एउटा पनि शव वाहन नहुँदा जिल्लावासीले शव पोष्टमार्ट गराउनलाई जिल्ला अस्पतालसम्म ल्याउन र गाउँसम्म लैजानमा हजारौं पैसा खर्च गर्नुपरिरहेको छ। जिल्ला अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, चिसापानी र इन्द्रेणीपोखरीको पाँच शैयाको अस्पतालमा पोष्टमार्टम हुने गरेको छ। तर, ऐसेलुखर्क र चिसापानी स्वास्थ्य संस्थामा चिकित्सक नियमित नहुँदा अधिकांश शवहरु पोष्टमार्टम गराउन जिल्ला अस्पताल दिक्तेलमै ल्याउने गरिएको छ। झुण्डिएर आत्महत्या गरेकाहरुको शव बोक्नमा ट्याक्टरहरुले एकतर्फी मात्रको भाडा ३० हजार वढी लिने गरेको पीडित परिवार बताउँछन्।
जिल्लामा शव वाहनको अत्यन्तै खाँचो महशुष गरेर सरोकारवालाहरुबीच व्यापक छलफल भईरहेको जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले बताउनुभयो। शव वहानको विषयमा बहुत चर्चा हुने गरेको छ। प्रदेश सरकारसँग एम्बुलेन्स भन्दा शब वाहन दिनुहोस भनेर मागेका थियौ। तर, निर्णय हुन सकेन। जिसस प्रमुख राईले भन्नुभयो, ‘हुँदै भएन भने अब चाँहि दशवटा स्थानीय तहलाई पैसा हाल्न लगाएर पनि शव वाहन किन्छौ।’
जिसस प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई लगायत सरोकारवालासामू २–३ पटकसम्म शव वाहनको कुरा उठाईए पनि केही रिजल्ट नआएको जिल्ला अस्पतालका प्रमुख मेडिकल अधिकृत रुपेश संग्रौलाले बताउनुभयो। ‘अस्पतालमा पोष्टमार्टमको केही शुल्क लाग्दैन। तर, शव अस्पताल ल्याएर पोष्टमार्टम गरी पुनः घरसम्म लैजाँदा किरिया खर्चभन्दा शव बोकाउनमा गाडी भाडा बढी लाग्दो रहेछ।’
स्थानीय सरकार, दातृ निकायले शव वहान व्यवस्थापन गरी निश्चित भाडादर तोकेमा त्यस्ता पीडितहरुलाई सहुलियत मिल्ने थियो। अस्पताल प्रमुख संग्रौलाले भन्नुभयो, ‘जालपावासीले त पोष्टमार्ट गराउन अस्पताल लैजान र ल्याउनमा ठूलो खर्च हुने गरेको भन्दै जालपा सामुदायिक अस्पतालमै पोष्टमार्टमको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो।’ जिल्लामा शव वहान अत्यन्तै अभाव भएकाले त्यसका लागि पहल गरिने प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology