समायोजन खबर खोटाङ, सुनसरीको इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरले प्रेस स्वतन्त्रता सेनानी प्राप्त गरिसकेका आठजना पत्रकारहरुलाई सम्मान गरेको छ।
कार्यक्रमको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको हो।
प्रेस स्वतन्त्रता सेनानी खोटाङका कृष्ण आचार्य, हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिबबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा),कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो।
सम्मानित व्यक्तिमध्ये आचार्य २०३२ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन्। सुब्बा २०२९ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन् । लम्साल ३० को दशकदेखि नै पत्रकारिता पेसामा आवद्ध रहेका छन्। उनको नेतृत्वमा तत्कालीन पत्रकार संघलाई २०५३ सालमा सुनसरीबाट पत्रकार महासंघ बनाइएको थियो। यसैगरी बराल चार दशकयता पत्रकारितामा आवद्ध छन्। कार्की २०२० को दशकदेखि पत्रकारितामा आवद्ध छन्। यसैगरी चेम्जोङ पञ्चायती व्यवस्थाको विरुद्धमा कलम चलाउँदै आएका छन्। राई ०४३ सालदेखि पत्रकारितामा सक्रिय छन्।
यसैगरी उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन्। उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको छ। 
पुरस्कृतहरू वन्त लामो समयदेखि राष्ट्रिय समाचार समितिमा आवद्ध छन् भने राष्ट्रिय फोटो पत्रकारिता समूहका अध्यक्ष छन्। उनी डेढ दशकयता फोटो पत्रकारिता गर्दै आएका छन्। यसैगरी बुढाथोकी अन्नपूर्ण पोस्टसँग आवद्ध छन्। विराटनगरमा बसेर आपराधिक क्षेत्रलाई बिट बनाएर पत्रकारिता गर्दै आएका बुढाथोकी करिब दुई दशकदेखि पत्रकारिता पेसामा आवद्ध छन्। यसैगरी भण्डारी करिब डेढ दशक र खतिवडा करिब एक दशकदेखि पत्रकारितामा आवद्ध छन्। दुवैजना प्रदेश खबरसँग आवद्ध छन्। यसैगरी रेग्मी करिब एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध छन्। उनी हिमाल प्रेस र राजधानी दैनिकमा आवद्ध छन्।
यस्तै, पर्यटनको क्षेत्रमा योगदान पु-याएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो। यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु-याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको थियो। पत्रकारहरुलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको थियो।
प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले प्रेस स्वतन्त्रता सेनानीबाट उपाधि प्राप्त गरेका बरिष्ठ पत्रकारलाई सम्मान गरिएको र हाल क्रियाशील रहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताए। उनकाअनुसार मिडिया हाउसले कोशी प्रदेशलाई प्राथमिकतामा राखेर विभिन्न प्रदेशका कार्यक्रम सम्प्रेषण गर्दै आएको छ। पछिल्लो समय डिजिटल पत्रकारिताको विकाससँगै आफूहरूले सत्य, तथ्य र निष्पक्ष रही पत्रकारिता गर्दै आएको उनको भनाइ छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्दीय सदस्य अमर खड्का, वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानीद्धय हर्ष सुब्बा र चन्द्र भण्डारी, अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटा, पुरस्कृत व्यक्तिमध्येबाट सुरेन्द्र भण्डारी, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन कोशीका महासचिव सञ्जीव वाग्ले, प्रेस चौतारी नेपालका अनुशासन कमिटिका सदस्य त्रिलोचन पौडेल, प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology