समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाण्डौको संयुक्त आयोजनामा काठमाण्डौमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु भएको छ।
काठमाण्डौ बबरमहलस्थित कला परिषद नेपालको भवनमा शनिबारदेखि सुरु भएको चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले दीप प्रज्वलन गरी क्यानभासमा चित्र कोरेर हस्ताक्षर गरी उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका चित्रहरुको केही समय अवलोकन गर्नुभएको थियो। 
आगामी १७ फागनुसम्म चल्ने चित्रकला प्रर्दशनीमा नेपालसहित १४ देशका ख्यातिप्राप्त चित्रकारहरुले नगरपालिकाको कला, संस्कृति र पर्यटन झल्कने गरी तयार गरेको २०६ वटा चित्रहरु प्रदर्शनीमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो।
नगरपालिकालाई कलाको माध्यमबाट देशविदेशमा चिनाउने लक्ष्यले चित्रकला प्रदर्शनी राखिएको मेयर भट्टराईको भनाई छ। उदघाटनमा मेयर भट्टराईले राष्ट्रपति पौडेललाई ५० देशका २०० चित्र, चित्रको व्याख्या, चित्रकारको परिचय समेटिएको क्याटलक बुक हस्तान्तरण गर्नुभएको छ।
उद्घाटनमा पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीसहित विभिन्न देशका चित्रकार, राजदूत लगायतको उपस्थिति थियो। खोटाङ कलाकार समाजमा आवद्ध खोटाङगे कलाकारहरुले खोटाङलाई समेटिएको सांगितिक प्रस्तुती दिएका थिए भने विभिन्न झाँकीहरु प्रदर्शनी गरिएको थियो।
पहिलो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी अन्तर्गत १७ असोजदेखि २१ असोजसम्म नगरपालिको १५ वडा र अन्य नौ पालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थललाई लाईभ उतारेको पेन्टिङ(क्यान्भास)लाई काठमाण्डौमा प्रदर्शनी गरिएको हो । त्यसबेला नगरपालिकाको १८ लाख बजेट खर्च भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology