समायोजन खबर खोटाङ,कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एबं संविधानसभा सदस्य उषाकला राई आफ्नो मृतक बाबुको किरियापुत्री बसेकी छन्। हाल नेकपा एमालेका केन्द्रीय सदस्य रहेकी उषाकला ८७ वर्षको उमेरमा माघ ११ गते साँझ निधन भएका आफ्नो बुवा रुद्रकुमार राईको किरियापुत्री बसेकी हुन्।
शुक्रबार पशुपति इलेक्ट्रिक शवदाह गृहमा दागबत्ती दिएर बुबाको अन्तिम संस्कार गरेपछि उनी कपाल मुण्डन गरेर काठमाडौंस्थित घरमा किरियापुत्री बसेकी हुन्। एमाले खोटाङको पहिलो जिल्ला सचिव रुद्रकुमार विगत लामो समयदेखि छोरी उषाकला र ज्वाई शेरबहादुर तामाङ (एमाले नेता एबं पुर्व कानून मन्त्री) सँग बसिरहेका थिए। माता दैवश्वरी राई र पिता प्रजातन्त्र सेनानी सर्वधन राईको जेठा छोराको रुपमा विक्रम संवत १९९३ साल असार २० गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले सेरामा जन्मिएका राईको बिहिबार साँझ ८ः३० बजे निधन भएको थियो।
उनको निधनमा छोरी उषाकला ६ दिन (माघ १७ गते) सम्म काठमाडौंमा किरियापुत्री बसेपछि बाँकी ७ दिनको काजकिरिया जन्मथलो खाल्लेमा गरिने पारिवारिक श्रोतले जनाएको छ। उषाकलाले अस्तुलाई काठमाडौंबाट खाल्लेस्थित मनमायाँ राई खानीडाँडा बिमानस्थल नजिकै रहेको पुर्खाहरुको समाधिस्थलसँगै बुवाको समाधिस्थल बनाउने बताएकी छन्। उषाकला घरकी एक्ली सन्तान भएका कारण छोराको रुपमा काजकिरियामा अघि सरेकी हुन्।
२०७५ सालमा आमा लक्ष्मी राईको निधन हुँदा पनि उनी केस मुण्डन गरेर १३ दिन किरियापुत्री बसेकी थिइन्। बुवाको निधनमा कपाल मुण्डन गरेर सेतो कपडा पहिरिएर किरियापुत्री बसेकी उषाकलाप्रति अहिले आफन्त तथा शुभेच्छुकले सम्मान, सद्भाव र समबेदना प्रकट गरिरहेका छन्। “छोरीलाई तैंले केस मुण्डन गर्न पाउँदैनस्। तैंले किरियापुत्री बस्न पाउँदैनस् भन्ने समाज थियो। अहिले त्यो अवस्था छैन। सबैको समर्थन छ, दाजुभाईको हौसला छ, तँ जस्तो छोरी भएपछि छोरा किन चाहियो भन्नेहरु हुनुहुन्छ,” उषाकलाले भनिन्, “यो त पिडित महिलाका लागि साहस र राहतको कुरा हो। मैले केस मुण्डन गरेर आमाको किरियापुत्री बसेपछि विभिन्न ठाउँका अरु दिदिबहिनीले पनि मुण्डन गर्नुभएको थियो।”
को हुन् रुद्रकुमार राई ?
बुवा सर्वधन राई कांग्रेसका नेता भएपनि छोरा रुद्रकुमार राई विद्रोह गरेर पुष्पलालसँगको सम्पर्कबाट भूमीगतरुपमा कम्यूनिष्ट राजनीतिमा प्रवेश गरेका थिए। पञ्चायत कालमा प्रधानपञ्च बनेका स्वर्गीय राई बहुदल आएपछि २०४८ साल चैतमा नेकपा (एमाले)को खोटाङको पहिलो सचिव बनेका थिए। उनी २०५४ सालमा खाल्लेको गाबिस अध्यक्षमा पनि निर्वाचित भएका थिए।
उनले सदरमुकाम नजिकै निःशुल्क जग्गा दिएर मनमायाँ राई खानीडाँडा विमानस्थल बनाउनका लागि प्रोत्साहित गरेका थिए। विद्यालय स्थापना, बाटो निर्माण लगायतका सामाजिक काममा अग्रणी भूमिका निर्वाह गरेका थिए। तीन वर्षकै उमेरमा आमा गुमाएका उनले दरबार हाइस्कुलबाट मेट्रिक पास गरेका थिए। यो समाचार पत्रकार दमन राईले तयार पार्नुभएको हो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology