समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निशुल्क तीन दिने आँखा शिविर सुरु भएको छ। आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि अप्रेसनसहितको शिविर हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारबाट सुरु भएको हो।
शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावाबेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका नागरिकहरु हलेसी आएका छन्। आँखाको समस्या भएका बृद्धबृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यहरुले शिविरमा लिएर आएका छन्।
शिविरको पहिलो दिन २ सय ५१ जना ब्यक्तिहरु उपचारका लागि आएका छन्। उनीहरुको आँखा परिक्षण पश्चात औषधि उपचार, चस्मा प्रदानसँगै निःशूल्क अप्रेसन गर्ने काम धमाधम भइरहेको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। 
शनिबारसम्म सञ्चालन हुने शिविर हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको हो। शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ।
शिविरको औपचारिक उद्घाटन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै विभिन्न कार्यक्रम गरिरहेको बताईन्। पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनदेखि नगर अस्पताल सञ्चालन गरेर बिमा गर्ने र बिमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताईन्।
अघिल्लो वर्ष हलेसीमा सञ्चालन भएको आँखा शिविरमा ७ सय ६५ जनाले निःशूल्क आँखा परिक्षण गराएका थिए। जसमध्ये ७६ जनाको निःशूल्क अप्रेसन भएको थियो। यसवर्ष करीब १०० जनाको अप्रेसनमार्फत उपचार हुने लक्ष्य छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology