• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुन्दुम चित्रकलामा शम्भु राईको रेडपाण्डा

मुन्दुम चित्रकलामा शम्भु राईको रेडपाण्डा


समायोजन खबर
  • बिहिबार, कार्तिक ३० २०८०

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र रेडपाण्डा देखाउनुहुँदै चित्रकार शम्भु राई।

    तीर्थराज भट्टराई खोटाङ,

    २०८० असोज १७ गते १४ देशका ४३ जना ख्याति प्राप्त चित्रकार दिक्तेल आउने निश्चित भईसकेको अवस्था थियो। स्वदेश–विदेशबाट आउने चित्रकारलाई आफ्नो मौलिकता अनुसारको कुनै सिर्जना देखाउने हुटहुटी थियो मलाई। दिक्तेलको पहिचान र हाम्रो जिल्लाका कलाकारको मौलिक सिर्जनालाई अन्तर्राष्ट्रियकरण गरेर छुट्टै छाप बनोस् भन्ने अपेक्षा सहितको थियो मेरो स्वार्थ।चित्रकला कार्यक्रममा आएका चित्रकार महुरेमा हात हल्लाएर खुशी साट्दै।

    दिक्तेलको भिन्नै मौलिकता पनि झल्कियोस्, विश्वमा लोप हुँदै गरेको हाब्रे (रेडपाण्डा) हाम्रो नगरपालिकाको वडा नं.–१० पाथेकामा पाईने भएकाले चित्रकलाको अवसरमा अन्तर्राष्ट्रियकरण गर्ने सोच गरेर हाब्रे संरक्षण अभियानका सदस्य तथा रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका वडाध्यक्ष बीरेन्द्र मगरसँग सल्लाह गरें । मेरो प्रस्ताव र महत्वको विषयमा समझदारी भएपछि वडा नं.–६, नेर्पा निवासी शम्भु राईलाई सम्पर्क गरेर मेरो परिकल्पना सुनाएँ ।

    समय अभाव र नयाँ विषयप्रतिको असहजता र असमर्थताको कुरा सुनेर म चिन्तित भएँ केहि समय। मेरो सल्लाह, यसको महत्व र विषयवस्तुको गाम्भिर्यतालाई बुझाउँदै ३–४ दिनसम्म दिनमा ३–४ पटक फोन गरेर बाँसबाट हाब्रे बनाउँन अप्रत्यक्ष दबाब दिएं। मेरो पटक–पटकको आग्रह र दबाबपछि शम्भु राई राजी हुनुभयो बाँसैबाँसबाट हाब्रे बनाउन। मैले किन दवाव दिएभने शम्भु राईले मेहेनत गरेपछि लोभलाग्दो कलाकृति बनाउन सक्ने क्षमता छ भन्ने थियो, मलाई आत्मा विश्वास।रेड पाण्डाको थ्रीडी चित्र बनाउँदै नेर्पाका शम्भु राई।

    मैले मेरो अवधाराणा र सोच बताए उहाँलाई । मेरो प्रस्ताव र परिकल्पना पूरा गर्ने बचनबद्धताले मलाई फुरूङग बनायो। हाम्रै नगरपालिकाको वडा नं.–६ , नेर्पामा जन्मिएर खोटाङगे जनताको सेवामा निरन्तर सकृय रहनु भएका तत्कालिन समयका चर्चित राजनीतिककर्मी, जनताका मसिहा पर्शुराम राई र मेनुका राईको कोखबाट २०२९ पुष ५ गते जन्मनु भएका शम्भु एक सिद्ध हस्त कलाकर्मी हुनुहुन्छ। सिर्जनात्मक काम र स्थानीय सामग्रीको भरपुर उपयोग गरेर कलात्मक घर, फर्निचर, उपकरण लगायत बनाउँनुहुन्छ र प्रेरित गर्नुहुन्छ अरूलाई पनि। बाँसको महत्व नबुझेर हामी आधुनिकता र आकर्षणको नाममा विदेशी सामग्रीको उपयोगमा तल्लिन रहनु हाम्रो दुर्भाग्य हो भन्नुहुन्छ शम्भु। मेरो पनि त्यही धारणा रहेकोले आफुलाई म बाँस प्रेमी हुँ भन्न रूचाउँछु।

    जिल्ला पन्चायतको अध्यक्ष, राष्ट्रिय पन्चायतको पटक–पटक सदस्य हुँदै उपाध्यक्ष जस्तो माथिल्लो ओहोदामा पुग्नुभएको पिताजीको सरलपन, जनताप्रतिको समर्पण र गहन जिम्मेवारी हुँदाहुँदै पनि खेति गर्न कहल्यै छोड्नु भएन। पिताजीको त्यहि संस्कारबाट हुर्किएको हुँदा म पनि विहानदेखि बेलुकीसम्म खेतिको काममा लागि रहन्छु। हामी सम्पन्न परिवारमा जन्मिएको भएता पनि सम्पत्तिको घमण्ड कहिल्यै आएन भन्नुहुन्छ शम्भु राई। पंचायतकालमा पिताजीको प्रतिष्ठाको कारण अन्चलाधिशदेखि प्रहरीको माथिल्लो ओहोदाका मानिससँग परिवारको हिमचिम र शक्ति सम्झनुहुन्छ उहाँ। तर त्यो शक्तिको कहिल्यै दूरुपयोग नगरी आफ्नै दुःख र काममा लागेको बताउनु हुन्छ शम्भु। पक्कै पनि यो भनाईमा सत्यता छ किनकी रोजगारीको सिलसिलामा परदेशमा पसिना बगाई मासिक ५–६ लाख कमाई गर्दागर्दै कोरिया बस्न छोडेर पर्शुराम कृषि फार्म एवं होमस्टे संचालन गर्दै केहि वर्षदेखि आफ्नो पुर्खाको सालनाल झरेको गाउँ नेर्पामा रमाई रहनु भएको छ शम्भु।

    रेड पाण्डाको थ्रीडी चित्र बनाउँदै नेर्पाका शम्भु राई।

    सायद पर्शुराम राईले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनु भएको भए शहर बजारको कुलिन परिवारमा ठाँटकाँट सहित रमिरहेको भेटिन्थ्यो होला अहिले। उहाँको दिनचर्या खेतबारीमा रमाउने, पोखरीमा पालेका माछा र लोकल कुखुरासंग रम्दै अलैंचीको हेरचाह गर्ने, फलफूल संगको सामिप्यता र गाई भैंसीको सेवामा तल्लिन रहेर गोठाले जीवन वितिरहेको पाईन्छ। उहाँमा न हिनता बोध छ, न पश्चताप। आफ्नो पिताजीले सत्कर्म र सत्विचार बोक्दै देशको सच्चा सेवक हुनुभएको र माटोलाई चुम्ने संस्कारी बनाउनु भएकोले कृषि कर्ममा लाग्न पाउँदा आफूले गर्व महशुस गरेको छु भन्नुहुन्छ शम्भु।

    चित्रकला कार्यक्रममा आएका चित्रकारलाई महुरेमा स्वागत गरिदै।

    केहि समय अगाडि विशाल जनसहभागितामा मुन्दुम अन्तराष्ट्रिय प्लेन एयर चित्रकला प्रदर्शनी–२०८० कार्यक्रमको चौथो दिन सरस्वति मावि, दिक्तेलमा वृहत् कार्यक्रम गरेर सम्पन्न भयो। १४ देशका ४३ जना ख्याति प्राप्त चित्रकारले बनाएका १०९ वटा चित्र र खोटाङका निधी स्थानीय स्रोत र सामग्रीसँग अगाध प्रेम गर्ने कलाकार शम्भु राईले बाँसैबाँसबाट बनाउनु भएको अद्भुत हाब्रे (रेडपाण्डा) को स्वरूप प्रदर्शनीको एउटा छुट्टै मौलिकता बोकेको आकर्षक केन्द्रबिन्दुको रूपमा थियो। हाब्रे बनाउँदा उहाँले बाँसैबाँस मात्रै प्रयोग गर्नु नै त्यसको अझ बढी भयो महत्व र छुट्टै विशेषता पनि। विदेशी तथा स्वदेशी कलाकारले मुक्तकण्ठले कलाको प्रशंसा गर्दै शम्भु राई प्रति सम्मानभाव प्रकट गरेका थिए। चित्रकार तथा मुर्तिकार प्राज्ञ धनबहादुर याक्खाले उहाँको क्षमताको खुलेरै गुनगान गाउनु भएको थियो मसँग। कलाको महत्व अपरम्पार हुन्छ भने झैं कलाकारको क्षमता र अद्भुत कलाकृतिको सकिन्न मापन गर्न। सिर्जनशिल कलाको अरूले न कुनै मूल्य निर्धारण गर्न सक्छ न लाखौं रूपैंया तिरेर बनाउन सकिन्छ आफ्नो सोच अनुसारको कलाकृति। यो एउटा जन्मदै लिएर आएको क्षमता हो। बीचमा अभ्यास गर्ने भनेको त केवल बनि रहेको खुकुरीमा साँध लगाए जस्तो मात्रै हो मेरो विचारमा। हो त्यस्तै अद्भुत क्षमतावान र कलाको माध्यमबाट शक्ति प्रदर्शन गर्ने पारखी हुन् शम्भु राई।नेर्पाका शम्भु राईले बनाएको रेड पाण्डाको थ्रीडी चित्र।

    जिल्लाका स्थापित पत्रकार चिसाङ शेर्पाले सञ्चालन गर्नुभएको समायोजनखबर अनलाइनमा केहिदिन अगाडी प्रकाशन गर्नुभएको समाचारमा उक्त अद्भुत कला सिर्जनाको सम्पूर्ण जस मलाई दिनु भएको छ सिर्जनाका धनी शम्भु राईले। तर त्यसमा कुनै योगदान र भूमिका छैन मेरो। हो पक्कै पनि बाँसैबाँसबाट यसप्रकारको सिर्जना नौलो र नयाँ थियो अभ्यास। मेरो पटकपटकको हौसला पूर्वकको आग्रह र सम्मानित ढंगको दबावले यो सिर्जना पुरा हुनमा पुगेको हुन सक्छ मद्दत। तर यसको सम्पूर्ण जसको भागिदारी शम्भु राई नै हो। यसमा ममा कुनै दुविधा छैन र हुनु हुँदैन शम्भु राईमा पनि। उहाँले जुन धारणा राख्नुभयो चिसाङजी सँग यो महानता हो शम्भु राईको। बरू बाँसैबासबाट मात्रै बनाउने हो, अरू सामाग्री कुनै मानेमा पनि प्रयोग गर्नु हुुँदैन भनि मैले उहाँलाई दर्जनौं पटक दिएको दबाव र यसबाट उहाँलाई पुगेको असहजताप्रति सार्वजनिक रूपमा मैले आत्मालोचित हुनु जरूरी छ। तर, मेरो दबाव नयाँ प्रयोग र सिर्जना निर्माणका लागि थियो, न कि अन्य कुनै स्वार्थ सहितको दबाव।बनाएको रेड पाण्डाको चित्र देखाउँदै नेर्पाका शम्भु राई।

    नयाँ सिर्जनाका लागि दुबिधामा पर्नु भएको शम्भु राईलाई हाब्रे बनाउनु भएको स्थान पुगेरै वा दूरभास यन्त्रमार्फत प्रोत्साहन पूर्बक मैले दिएको पटकपटकको दबाव एवम् उपप्रमुख विसन राई, वडा अध्यक्षहरू नवराज राई, ध्रुवविक्रम राई, महेन्द्र राई, खगेन्द्र राई, दिनेश घिमिरे, माधव राई, दानबहादुर राई र नगरका अधिकृतद्वय ओजोनबाबु आचार्य, तेजप्रकाश जैसी, समाजसेवी सूर्यबहादुर राई, नेपाली कंग्रेसका नेता शहरमान राई र प्रकाशकुमार श्रेष्ठ तथा नगरका कर्मचारीत्रय चिरन्जिवी खतिवडा, मनोज खत्री, निश्चल श्रेष्ठ लगायतले हाब्रे बनाईरहनु भएको स्थान मुन्दुम रिसोर्टमा पुगेर गरेको हौसला पूर्ण प्रोत्साहनले पनि नयाँ सजिव सिर्जना निर्माणमा कतै न कतै हौसला पुगेको हुनसक्दछ मेरो बुझाईमा।मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी २०८० समापनमा १४ देशका चित्रकारका साथमा मेयर तीर्थराज भट्टराई,उपमेयर विसन राई।

    मैले नथापाई सर्जक भोगेन एक्ले लगायत अन्य विशिष्ठ व्यक्तित्व र सर्जकहरूले दिनुभएको प्रोत्साहनलाई यस आलेखमा नसमेट्दा पक्कै पनि अन्याय भएको छ । यसमा नाम उल्लेख गर्न नसकेको प्रति शिर निहु–याउनु मेरो कर्तव्य हुन आउँछ। तर ज–जसले जेजे भूमिका निर्माण गरे पनि यो सिर्जनाको एक्लो हकदार उनै खोटाङका निधि सिर्जनाका धनि सम्मानित व्यक्तित्व नेर्पाली शम्भु राई नै हुन्। केहि अंश काममा सहयोग पु–याउने उहाँको टिमलाई जान्छ र जानुपर्दछ पनि। चर्चित गायक तथा नगर सद्भावना दूत राजेशपायल राईले पटकपटक सार्वजनिक रूपमा हाब्रे सिर्जनाका धनी शम्भु राईको कला कौशलताको मुक्त कण्ठले प्रशंसा गर्नुले पनि यसको महत्व अझ बढेर गएको महशुस गरें मैले। त्यो तहका सम्मानित व्यक्तित्वले हाब्रे सर्जक शम्भु राई र सिर्जनाको प्रशंसा गर्नुले नेपाली माटोमा मात्र होइन विदेशी माटोमा पनि सर्जक र सिर्जना सम्मानित भएको ठम्याई छ मेरो।नगरदूत गायक राजेश पायल राई र मेयर तीर्थराज भट्टराई।

    अन्त्यमा, स्वदेशी–विदेशी पाहुनाको विशेष उपस्थितिमा शम्भु राईले बाँसैबाँसबाट सिर्जना गर्नुभएको हाब्रे (रेडपाण्डा) को कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको समेत महत्व राष्ट्रिय अन्तराष्ट्रिय जगतमा अझ बढेर गएकोमा दुई मत छैन। आगामी दिनमा उहाँको सिर्जनात्मक क्षमता अझै बढेर जाओस् साथै राष्ट्रिय–अन्तराष्ट्रिय रूपमा ख्याति प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछु। लेखक, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई हुनुहुन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology