समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालिन मेयर दिपनारायण रिजाल, उपमेयर विणादेबी राईको कार्यकालमा फजुल खर्च स्वरुप नुनथला र बुईपाको सिमाना महुरेमा आँखा पोखरी बन्यो। बिडम्बना असोज पहिलो हप्तामा पनि आँखा पोखरीमा पानी चाँहि छैन । पोखरीमा थोरै आकाशे पानी जम्मा भएको देखिन्छ।
पोखरीमा पानी जम्मा गरेर, पाइपबाट पानीको फोेहोरा निकालेर पर्यटकको ध्यान खिच्ने/लोभ्याउने गरी बनाईएको पोखरी २०७५ साउन २५ गते उद्घाटनदेखि सुख्खा बसिरहेको छ। पूरानो आहाल मासेर बनाईएको पोखरीले तिनै मेयर रिजाल र उपमेयर राईलाई गिज्याईरहको छ। अहिले पोखरीमा पुगीहाले अलिकति फोहोर पानी र भित्तामा मेयर, उपमेयरको नाम टाँसेको ताम्रापत्र देखिन्छ।
२०७५ जेठ २१ गते महुरेदेवी गढी संरक्षण समिति(अध्यक्ष दिनेश साम्पाङ, कोषाध्यक्ष मञ्जु राई, कोषाध्यक्ष प्रकाश नाछिरिङ) र नगरपालिकाबिच ३३ लाख ३८ हजार २८२ रुपैयाँमा कन्टिन्जेन्सी ९० हजार कट्टा गरी २९ लाख ३० हजारमा पोखरी बनाईएको थियो । जसमा नगरको ३० लाख र उपभोक्ता समिति ३ लाख ३८ हजार २८१ लागत व्यहोर्ने विवरण नगरपालिकाबाट उपलब्ध भएको छ।
पोखरी, महुरेदेवी गढी संरक्षण समितिका अध्यक्ष साम्पाङको घर अगाडी छ। बाहिरबाट आएका मानिसले झट्ट हेर्दा पोखरी त्यही घर धनीको होे भन्ने सोच्छन्। तर, मेयर, उपमेयरको टाँसेको नाम(ताम्रापत्र) हेरेपछि मात्रै जनताले तिरेको संकलित करबाट बनाईएको पोखरी भन्ने पत्ता पाउँछ। राज्यको लाखौ खर्च गरेरै पोखरी त बन्यो। तर, उनीहरुले पोखरीलाई सञ्चालनमा ल्याउनै सकेन। पानी नै भर्न सकेन। यसले पनि प्रष्ट के हुन्छ भने, तत्कालिन मेयर, उपमेयर नेतृत्वले आवश्यक विकास निर्माण गरे कि कार्यकर्तामुखी विकास ?
महुरेमा रहेको पानी बिनाको आँखा पोखरी।
न पोखरी सञ्चालनमा आयो, अहिले पोखरी अलपत्र छ। अहिलेका मेयर, उपमेयरले चाँहि पानी किन नहालेको त। किन सञ्चालन नगरेको ? भन्ने प्रश्न आउँछ। रिजाल र राईले उद्घाटनपछि सञ्चालन नगरी रमिता बनाएको पोखरी सञ्चालन गर्ने/नगर्ने? कि यस्तै छोडिदिने? यो जिम्मा त वर्तमान मेयर तीर्थराज भट्टराई र उपमेयर विसन राईलाई छदैछ।
पोखरीले सगरमाथा राजमार्गलाई डिस्टर्भ गर्दा दुर्घट्ना हुनसक्ने जानकारहरु बताउँछन्। यो पोखरी सगरमाथा राजमार्गको महुरेबाट सुरु हुने सडकमै पर्छ। सगरमाथा राजमार्गको गाईघाटदेखी ४ किलोमिटरसम्म साँढे १२/साँढे १२ मिटर तथा त्यहाँबाट महुरेसम्म राजमार्गको सेन्टर लाइनबाट दायाँबायाँ २५/२५ मिटरभित्र कुनै पनि संरचना बनाउन नपाइने राजपत्रमा व्यवस्था छ। संरचना बनाउनै परेमा नक्सा पास भएको हुनुपर्छ। नक्सा पास नभएका जुनसुकै संरचना अबैधानिक हुन्छ। आवश्यक पर्दा सरकारले जहिले पनि भत्काउन सक्ने अधिकारीहरु बताउँछन्। सेन्टर लाइनबाटै दायाँबायाँ २५/२५ मिटरभित्र मध्यपहाडी लोकमार्गमा पनि संरचना बनाउँन पाइन्दैन। मध्यपहाडी लोकमार्गको महुरे सडकको २५ मिटरभित्रै यो पोखरी पर्छ। मध्यपहाडी लोकमार्गले आवश्यक परेको खण्डमा भत्काउन सक्छ। ति अधिकारी बताउँछन् ।
महुरेमा रहेको पानी बिनाको आँखा पोखरी।
यस्तै, वर्तमान मेयर भट्टराई र उपमेयर राई कार्यकालको करीव १४ महिना गुज्रिएसँगै गत असार, साउन महिनामा हाँटडाँडादेखी मझुवाकालिका भगवती मन्दिरसम्म जाने पैदल बाटोेको दायाँबायाँ श्रमदानमाफर्त फूलहरु रोपिएको छ। धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीलाई फूलैफूलको पहाड बनाउने लक्ष्यले फूलका हजारौ विरुवाहरु रोपिएको हो।
पर्यटन प्रवद्र्धन गर्ने मुख्य एजेण्डा राखेर फूलको पहाड बनाउने अभियानमा स्वस्र्फुत स्थानीयहरु घरघरबाट फूलको विरुवा लिएर नगरपालिकाले चलाएको फूले रोप्ने श्रमदानमा सहभागी भएका थिए। अहिले, भने यो अभियान सेलाएको छ । नगरपालिकाले नै चलाएको श्रमदान अभियान पनि अहिले सामसुम भएको छ।
फूलैफूलको पहाड बनाउँने अभियानमा चाँहिने औजार कुटो, कोदालो, कचिया र सामान्य खाजामा भन्दा नगरको बजेट खर्च नभएको अधिकारीहरु बताउँछन् । १६ हजारको फूलको विरुवा काठमाण्डौबाट ल्याईएको थियो।
फूलको पहाड बनाउनलाई मझुवागढी जाने बाटोमा फूलको विरुवा रोपिदै।
नगरको फूलको पहाड बनाउने अभियानमा शुभद्रा–मदन फाउण्डेसनद्धारा सञ्चालित जनजागृति माविमा अध्ययनरत विधार्थीहरुद्धारा उत्पादित विभिन्न प्रजातीका १० हजार फूल निशुल्क दिईएको फाउण्डेसनका प्रबन्ध निर्देशक सुर्य राईले बताए। नगरको अभियानलाई हामीले फूल दिएर कर्तव्य पूरा गरेका छौ। विधार्थीले उत्पादन गरेको फूल हो। नगरले विधार्थीले उत्पादन गरेको भनि प्रचारप्रसार गरिदिए पुग्छ। फूल दिए बापत हाम्रो बिल, डिमाण्ड केही छैन। नगरले पनि आफ्नो कर्तव्य पूरा गरे हुन्छ। राईले भने।
यसैगरी, फूलको पहाड बनाउने अभियानमा पूर्वशिक्षक पवन थापाले पनि फूलको विरुवा सहयोग गरेका छन्। थापाले कति विरुवा सहयोग गरेका हुन्? निशुल्क वा शशुल्क भन्ने बुझ्नलाई पटक–पटक फोन गर्दा थापाको फोन उठ्दैन।
फूलको पहाड बनाउने अभियानलाई सामुदायिक लघुवित्त वित्तिय संस्था दिक्तेलले २५ हजार र महुली लघुवित्त दिक्तेलले १० हजार सहयोग गरेको छ। फूलको नयाँ विरुवा किन्न तथा किनिसकेको पैसा तिर्न यिनै सहयोगबाट पुगेको छ। मझुवागढीमा हालसम्म मौसमी र वहुवर्षीय गरी २० प्रजातीका करीव २० हजार फूलका बिरुवा रोपि सकिएको छ। केही समयमै फलफूलका विरुवा र आयुर्वेदसँग सहकार्य गरेर मझुवागढी आसपास हुने जडिबुटी रोप्ने योजना पनि बनाईएको नगरपालिकाले जनाएको छ।
फूलको पहाड बनाउने क्रममा रोपिएको ७/८ प्रजातीका फूलका बिरुवा चोरी पनि भईसकेको छ। फूल चोरी हुन नदिनलाई तत्कालिन मेयर रिजालले नियुक्ती गरेका करारका एकजना र नयाँ एकजना कर्मचारी बजार सरसफाईसहित बाँकी समयमा त्यहाँको फूल रेखदेख, गोडमेल गर्नेगरी दुईजना कर्मचारी व्यवस्थापन गरिएको छ । फूलसँगै केही मात्रामा गुराँस पनि रोपिएको छ।
फूलको पहाड बनाउनलाई मझुवागढी जाने बाटोमा फूलको विरुवा रोपिदै।
फूलको पहाड बनाउनुको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन नै हो । त्यसपछि हलेसी आएका धार्मिक पर्यटकलाई दिक्तेलसँग जोड्ने लक्ष्यले यो अभियान थालिएको मेयर भट्टराईले बताए। मझुवागढी सौन्दर्यकरणलाई विनियोजन गरिएको १ करोड ५३ लाख बजेट यो अभियानमा खर्च छैन। सौन्दर्यकरणको गुरुयोजना बनिरहेको छ।
फूलको पहाड(फूलैफूल)भएपछि मझुवागढी आसपासको वातावरण स्वच्छ हुन्छ, विधार्थीहरुको अध्ययन अवलोकन भ्रमण गर्ने ठाउँ हुन्छ, ज्येष्ठ नागरिकलाई समय कटाउने ठाउँ हुन्छ, वरीपरी मौरी पालन फस्टाउँछ, प्राकृतिक सन्तुलन कायम हुन्छ । मेयर भट्टराईले भने, नगरपालिका फूलमा आत्मनिर्भर हुनसक्छ, युवायुवतीहरुलाई मनोरञ्जनस्थल हुन्छ, नगरपालिकालाई चिनाउने माध्यम हुन्छ, दिक्तेलबजार आउने हरेक मान्छेले हेर्दा पनि आनन्दाभूति प्राप्त हुन्छ, रिसाएका मान्छे त्यहाँ पुगेर आउँदा खुशी हुने र धार्मिक तिर्थालु आएर पूजा गर्न परेमा फूल लिन पाईन्छ।
तत्कालिन स्थानीय सरकारले मोटो रकम खर्चेर बनाएको पोखरीलाई सञ्चालनमा ल्याउन नसक्दा लगानी खेर गएको छ। वर्तमान सरकारले श्रमदान जुटाएर बनाएको फूलको पहाड बनिसक्दा कम्तीमा मझुवागढी पुग्ने आन्तरिक पर्यटकको संख्या अवश्य बढ्नेछ । जसले गर्दा स्थानीय व्यापार, व्यवसायमा टेवा पुग्नेछ। नगरपालिकाको प्रचार हुनेछ । यी दुई कामले, लगानी सानोठूलो हैन, लगानी र स्थान छनौट चाँहि महत्वपूर्ण हुनुपर्छ भन्ने प्रष्ट हुन्छ।तर, कतिपय जानकारहरुले यी दुबै काम जनमुखी भने चाँहि नभएको बताउँदै आएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology