समायोजन खबर खोटाङ,
प्रीय कान्छा, नेपाल सितोरियो कराँते संघ खोटाङको अध्यक्ष जिम्मेवारी प्राप्त गरेकोमा तिमीलाई हार्दिक बधाई!
उपाध्यक्षको जिम्मेवारीमा रहि मलाई तिमिले १० वर्ष सबै खालको सहयोग गर्यौ। अब सहयोग गर्ने पालो मेरो हो। मैले पनि सक्ने सहयोग गर्ने नै प्रतिबद्धता व्यक्त गर्दछु ।
दश वर्ष निकै लामो समय हो । व्यापार गरेको वा विदेश गएको भए सानो घर र घडेरी जोहो हुन्थ्यो होला। सिपाहीमा भर्ना भएको हुदो हो त हवल्दार पक्कै बन्थ्यौ होला। अलिअलि पैसा पनि कमाईन्थ्यो नै होला। समय बितेको पत्तै भएन। यो बीचमा हाम्रो जीवनमा परिवार र व्यक्तिगत कामहरू प्राथमिकता भित्र पर्दै परेनन् । हामी काममा यति लिप्त भएछौ कि हामीलाई समय गएको महसुस र मनन गर्नै फुर्सद भएनछ। मेहनत गर्ने कुनै कसुर बाँकी राखिएन। सम्भवत मेरो पालामा खोटाङलाई प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउदै जम्मा ३७० विभिन्न पदकहरु प्राप्त भएको छ। प्रदेश र राष्ट्रिय प्रतियोगितामा खोटाङले निकै पटक आफुलाई अब्बल सावित गर्दै विभिन्न उपाधिहरु चुम्न सफल भएको छ। दिक्तेल रुपाकोट मझुवागढि नपा १ मुख्य डोजो, केपिलाशगढी गाउँपालिका बाक्सिला ४ डोजो, हलेशी तुवाचुङ डोजो, दिक्तेल रुपाकोट मझुवागढि नपा, १२ जालपा डोजोगरी खोटाङ जिल्लामा चार सेट म्याटहरु (तातामि) खरीद गर्न सफल भएका छौ। यो चानचुने संघर्षले प्राप्त उपलब्धि हुँदैहैन । यो सिङ्गो टिमको लगनशीलताले भएको हो। तिनीहरुमा खेलाडीहरुले निरन्तर प्रशिक्षण गर्ने वातावरण बनाउनु अबको प्रमुख जिम्मेवारी हो। मुसाले खाए वा मान्छे सुत्नेमा प्रयोग गरिए सच्चा खेलकुदकर्मीहरुको मन रुनेछ। खोटाङमा लगभग २५ लाखको खेलकुद सामाग्रीहरु जोरजाम गरेका छौ। १० वटा जिल्ला स्तरीय प्रतियोगिता, एउटा राष्ट्रिय प्रतियोगिता र दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु सम्पन्न भई सकेका छन्। यीनिहरुले आगामी दिनमा कसरी निरन्तरता पाउने हो, यो निकै पेचिलो र चुनौतीको विषय पनि हो ।
स्वाभाविक रूपमा १० कक्षा पछि ११ मा पढ्न सुरु गरिए झै थप महत्त्वपूर्ण र प्रभावकारी ढंगले तिमिले कामहरु गर्नुपर्नेछ। हिजोको साख जोगाउनु छ, थप प्रगतिहरु गर्नु समयको माग हो। नेपाली कराँतेको जन्मदाता थानेश्वर राई ज्युको गृह जिल्ला भएको पनि हामीले कहिल्यै नभुली काम गर्नुपर्छ। जसले गुरुको शिर उच्च बनाउनेछ भने हाम्रो कर्मले थप सफलताको चोमोलुङमा छुनेछ ।
थोरै विषयान्तर गरौं। यो अन्तरालमा सामुहिक कराँते परिवारको जीवनमा हामीले थुप्रै पटक आर्थिक अभाव, प्राकृतिक र व्यावहारिक समस्याहरु भोगेका छौ। हामीले परिवार गुमायौ, परिवारको माया र साथी भाईको साथ छुटायौ। पारिवारिक जिम्मेवारीहरुबाट परै रह्यौ। पैसा गुमायौ, निशुल्क श्रमदान गर्यौ। साथी भाईहरुलाई र परिवारहरुलाई अन्याय नै गरियो जस्तो लाग्छ। जेहोस् बदलामा धेर थोर नतिजाहरु आएका छन्। थप आउनेनै छ। हामीले गाली बढी, ताली कम पायौ। कराँतेकर्मको जीवनमा कैयौं पटक कृत्रिम र प्राकृतिक प्रहार, धोका, पिडा, मान, अपमान र सम्मान पनि पाएका छौ। हामीलाई कमैले चिने र बुझें, हामीले सिङ्गो समाज, राजनैतिक दल, तिनका नेतृत्वहरु, र उनिहरु सबैको चरित्र र मस्तिष्कलाई पढ्ने अवसर पायौं। नजिकैबाट चिन्ने र बुझ्ने अवसर पायौ। ज्ञान पाउन र शिक्षा ग्रहणका लागि विश्व विद्यालय नै जानू नपर्ने रहेछ भन्ने ज्ञान पायौ। हामीले यही कर्म गर्दै संघर्षको मैदानमै थुप्रैपटक अगणित निशुल्क शिक्षाहरु पाएका छौ। फरक यति हो विश्व विद्यालयले मापन गरेर प्रमाणपत्र दिन्छ तर त्योभन्दा बढी हामीले अनुभव र व्यवहारिक ज्ञान पायौं। ती सबैका श्रोत अनुभव यीनै घटनाक्रमहरु नै हुन्। हामी सामाजिक कर्म गर्नेहरुको चोरले पनि लुट्न नसक्ने, अरुले आहारिस हर्दा पनि नाश हुँदै नहुने, जति गरे पनि खर्च गरेर नसकिने, सुनामीले पनि बगाउन नसक्ने, ज्वालामुखिले पनि पगाल्न नसक्ने, निर्मम पहिरोहरुले पनि भत्काउदा नभत्किने सम्पत्ति भनेको सायद यिनै होलान् ।
खोटाङ जिल्लामा निरन्तर खेलकुदकर्महरु गर्नु फलामकै चिउरा चपाउनु सरह हो। यो भयानक युद्धभूमिमा होमिनु सरह पनि हो। खोटाङे अभिभावकहरु सार्है अप्ठ्यारो अभिभावकहरु हुन् आफ्ना बच्चाहरु दिनमा छ घन्टा मोबाईलमा पब्जी खेल्दा वास्ता गर्दैनन् तर बच्चाहरुले दिनमा दुई घन्टा मानसिक र शारीरिक वृद्धि, विकास र आत्मारक्षा, माटो प्रेम, र परिपक्व व्यक्तित्व निर्माण हुने खेल कराते खेल्दा बिग्रन्छन् भन्ने गलत विश्लेषण र परिभाषा गर्छन्। जुन निकै दुस्खद र हाँस्यास्पद छ। यसका बाबजुद पनि तिमिले संघर्ष गर्न खुट्टा नकमाउनु।
भने खोटाङका राजनैतिक नेतृत्वहरुको शैली र स्वभाव औपचारिक कार्यक्रमहरुमा कुन बेला बोल्न पाईने हो रु अग्रीम म्यासेज गर्न भ्याउनु हुन्छ, तर प्रत्येक आर्थिक वर्षमा युवा तथा खेलकुद शिर्षकमा बजेट व्यवस्थापन गर्ने ठिक समयमा उहाँहरुको कलमको मसि लेख्दा लेख्दै सकिने गर्छ र अगाडिको अङ्क बिजोर अङ्क, सानो र पछाडि शुन्य थोरै लेखिन्छ । फेरि यो घटना प्रत्येक वर्ष दोहोरिरहन्छ । निरास नहुनु, अझ यसो भनौ अप्सनी बजेट छुटयाईन्छ। स्थानीय सरकारहरुले खेलकुदलाई नीति तथा कार्यक्रममा पार्दै पार्दैनन् र प्राथमिकतामा पर्दैन। पारे संविधानको कुन अपराध अन्तर्गत पर्छ कुन्नी?
राजनैतिक नेतृत्वहरुको बढी अपेक्षा गरौला, निराश बनौला, झुक्कियौला कान्छा! अग्रीममै नाङ्गो यथार्थ बताउदैछु, अर्कोतर्फ खोटाङ भित्रीने राष्ट्रसेवकहरुको नजरमा खेल भनेको ब्याडमिन्टन मात्रै हो। उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्मा १८३ वटा संघ तथा महासंघ दर्ता छ्न् भन्ने चेत नै छैन। सायद भुडी घटाउनु नपरेको, स्वास्थ्यका लागि बाध्यात्मक परिस्थितिमा खेल्नु नपरेको हुदो हो त ब्याडमिन्टन पनि यिनिहरुको नजरमा खेलकुदकर्म भित्र पर्दैन नै थियो। अहिलेसम्मको एशियाली प्रतियोगिताहरुमा विशेषगरि मार्शल आर्टस्, कराँते अन्तर्गत १९९४ बार्हौ एशियाली जापान, सीता राई काँश्य पदक, तेर्हौ एशियाली बैंकक, १९९८ थाईल्यान्ड, सम्मर बहादुर गोले काँश्य पदक, सत्रौ एशियाली ईन्चेन, दक्षिण कोरिया २०१४, बिमला तामाङ, काँश्य पदक पदक, २०१९ नेपालमा सप्पन्न तेर्हौ दक्षिण एशियाली प्रतियोगितामा सहभागी ३० खेल मध्ये ५२ स्वर्ण पदक नेपालले जितेको थियो। जसमा १० वटा स्वर्ण पदक करातेले मात्रै जितेको हो। अझ भनौ एकल काता र समुह काँतातर्फ आदरणीय मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जितेको सुनौलो ईतिहास छ।
जिल्लाकै शान र गरिमाको रुपमा खोटाङ कराँतेलाई बाहिरबाट बुझिन्छ, मानिन्छ। यथार्थतस् आफ्नै खोटाङ जिल्लामा चाहिँ त्यस्तो देखिदैन। राष्ट्रका लागि खेलिने र वार्षिक रूपमा कम्तीमा १ न. प्रदेशमा ३० र राष्ट्रिय प्रतियोगितामा १० विभिन्न पदकहरु जित्दै आएको खोटाङ कराँते र अन्य खेलहरु उनीहरुको नजरमा प्राथमिकतामा पर्दैन। हामीले एक वर्षमा कम्तीमा ३ वटा प्रतियोगिताहरुको लागि खोटाङ बाहिर सिङ्गो टिमको नेतृत्व गरेर जानै पर्छ। एक पटकमा कम्तीमा तीन लाख पैसा खर्च हुन्छ। कम्तीमा वार्षिक दश लाखको पोको जुनसुकै हालतमा ऋण धन गरेर जोहो गर्नैपर्छ। अन्यथा खेलाडीहरुले सीप र कला प्रदर्शन गर्नबाट बन्चित हुन्छन्। खोटाङमा सहयोग गर्ने संस्कृति कम छ। आरोप र आलोचना गर्ने र खुट्टा मात्रै तान्ने बढी देखिन्छ। त्यो समय मन सानो गर्दै नगर्नु। अझ थप अर्कोतिर प्रष्ट कुरो सायद उपभोक्ता समिति र गतिला योजना आयोजनाको अगुवासँग जस्तो हामी सामाजिक कर्म गर्नेहरुसँग साइनो सम्बन्ध, तौरतरिका, आपसी समझदारी नभएर पनि होला, कर्मचारीको कलमले खेलकुदको बारेमा सोच्न र महत्त्वपूर्ण निर्णय लेख्न विवेकले नभ्याएको देखिन्छ।
केहि जनप्रतिनिधिहरुको चाँहि अध्ययन कम, दशरथ रंगशालाबारे सुचना नहुनु, खेलकुदकर्म गर्ने भौतिक संरचनाहरुको बारेमा नजान्नुले पनि आवश्यक बजेट छुटयाउदैनन्। तर अहिलेको उर्जाशील प्रमुख प्रसासकीय अधिकृत र लेखा अधिकृतहरुले हातमै विश्व देखेको र महत्त्वपूर्ण खेलकुद भौतिक संरचना र जित बहादुर केसि, बैकुण्ठ मानन्धर लगायत थुप्रै ओलम्पियनहरुको नाम कण्ठस्थै लोक सेवाको तयारीमा गरेको ठम्याई थियो मेरो। यस अर्थमा युवा अधिकृतहरुसँग खेलकुद कर्ममा देखिने गरि अपेक्षा राखिन्थ्यो। तर वास्तविकता त्यस्तो भएन। जनप्रतिनिधि र कर्मचारी संयन्त्र दुबै पक्षबाट सहयोग नपाएको खोटाङको खेलकुद क्षेत्र भनेको लामो यात्रामा निस्किएको यात्री जसको हातमा गाडीको चाबि छ, तेल किन्ने पैसा छैन, दु:खले पैसाको जोहो गरेपछि, पेट्रोल पम्प टाढा टाढासम्म नहुनु झै हो?
दु:खले सबैसँग हात जोडी,जोडी कार्यक्रमहरु आयोजना गर्दा बजारका व्यापारीहरुले झर्किदै चार पोका बिस्कुट र दुई केजि दाल दिई हाले खुसी,खुसीले स्वीकार्नु। मुखै छोडेर नकारात्मक गाली गरे मुस्कानले उत्तर दिनु। विदेशबाट शुभेच्छुकले पसिनाको श्रमबाट दुई चार हजार पठाएको श्रद्धाले लिनु। कार्यक्रम सकिएको भोलि पल्टै देखि चौक,चौकमा तिमीले काठमाडौंमा घर,घडेरी जोडी सकेको समिक्षाहरु कानमा परि हाले सामाजिक सम्पत्ती र उनिहरुको उपहार सम्झनु। मुख्य कुरा थोरै यस्ता अभिभावकहरु, शुभेच्छुकहरु, राजनैतिक नेतृत्वहरु छ्न् जसको कारण खोटाङ कराँतेको प्राण जोगिएको छ। खोटाङे खेलकुद धानिएको छ। वहाँहरुको विश्वास, सहयोग, प्रेम र आशीर्वाद कहिल्यै नबिर्सनु। वहाँहरुको मन दुखाउदै नदुखाउनु। यसका लागि तिमिले र तिम्रो सिङ्गो टिमले तन, मन, वचन र कर्मले निरन्तर रुपमा कर्महरु गरिरहनु नै पर्नेछ।
अन्त्यमा,
आफ्नै हातले, कडा मेहनत गर्छौ, मल,जल, घेराबारा, घाम पानीबाट बिरुवाहरु हुर्काउँछौ, तर उहीँ बिरुवा हुरि बतास आउँदा प्राकृतिक रुपमै प्याट्ट भाँचिनु, आशा लाग्दो बिरुवा कुनै धुन्दुकारीले मिलि सेकेन्डमा आफ्नै आँखा अगाडि च्वाँट्ट काटि दिनु, वा श्रावणको मकै बादरले खाई दिनु, पाकेको धान मङ्सिरमा असिनाले झार्नु, उक्त समय जसरी एउटा किसान विवश र निरीह ढंगले सहन बाध्य हुन्छ, त्यसै गरी वर्षौ हाम्रो आफ्नै सम्पुर्ण लगानीमा खेलाडीहरु हुर्काउँछौ, बिस्तारै आशा लाग्दो बन्छन्, बन्ने क्रममा छन्, थप उत्कृष्ट पदक नतिजा दिने समय भएको बेला प्रतियोगिताको ठिक अघिल्लो रात ब्वाई फ्रेन्डसँग लभ म्यारिज गरेर हिड्नु, खेलाडीहरुले एक वा दुई वटा पदक जितेपछि गतिलो डोजोको र हामी भन्दा सक्षम प्रशिक्षकहरुको खोजीमा खोटाङ छोडेर हिड्दा, बाध्यताले ठुलो जहाज चढेर जाँदा, हाम्रो जीवनभर मेहनत, लगानी र सुन्दर सपना पनि उसँगै उड्नेछ ।
मनन गर्नु र भावुक हैन, यथार्थ बुझी सम्हालिनु अहमताले फुलिएर प्वाक्क चित्त दुख्ने गरी मुख लाग्दा, दुई चार लाखको धनी बनेपछि के छ मिलन जि, बाटोमा सम्बोधन गरि बोलाउदा मन्द मन्द मुस्कान सहित हात मिलाएर हिंड्नु। हालखबर सोध्नु, तिमी अत्यन्तै कम बोल्ने, बढी काम गर्ने स्वभावको मान्छे हौ। नेपाली समाजलाई कम काम गर्ने र बढी बोल्ने मान्छे चाहिएको छ। पटक्कै रिसाउन नसक्नु र झगडा नगर्ने तिम्रो बानी नै तिम्रो निकै ठुलो कमजोरी हो। यसका बाबजुद पनि तिमिले नेतृत्व लिएको छौ। जहाज उडान भरेपछि सफल अवतरण गराउन सक्ने सफल चालक हौ तिमि। विगतले यहि प्रमाणित गरेको छ। आशा र पूरा भरोसा गर्छु, मैले कति गर्न सके वा सकिन, ईतिहासले मूल्याङ्कन गर्ला नै। दश वर्षको परिवेशमा मलाई पिडा दिने, प्राकृतिक सहयोग गर्ने सबै सबैप्रती ऋणि छु। यी सबै,सबै मेरो अनुभवको बैंक खातामा सम्पत्तीको रूपमा जतन गरि राख्नेछु मेरो कार्यकालमा महा अप्ठ्यारोको अक्करे भिरहरुकै बिच खुला गरि दिएको खोटाङ कराँतेको ट्रयाकमा, तिम्रो कार्यकालमा सोलिङसम्म गर्न भ्याउने छौ। बाँकी पुस्ताले चिल्लो पिच गर्लान्। फेरि पनि तिमि र तिम्रो टिमलाई हार्दिक बधाई र अगणित प्रेम, स्नेह र सिर्जनात्मक, रचनात्मक सफल कार्यकालको अग्रिम शुभकामना।
आजदेखि टाउको केही हलुका भएको महसुस गरेको छु। नेपाल सितोरियो कराँते संघ खोटाङको अबको नेतृत्व र संघको सबै,सबै विश्वास र सम्पत्तिहरु तिम्रै काँधमा छ बाँकी समय आएपछि लेख्ने नै छु, बोल्ने नै छु। कामको नतिजाको आधारमा दण्डित र पुरस्कृत समाज र समयले गर्ने नै छ।
जय गुरु
जय खेल
जय नेपाली खेलकुद Ossss
लेखक : सन्जय कुमार राई, पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी कराँते, राष्ट्रिय निर्णायक, निवर्तमान अध्यक्ष नेपाल सितोरियो कराते संघ र हाल नेपाल कराँते महासंघको केन्द्रीय सदस्य हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology