चिसाङ शेर्पा खोटाङ, खोटाङको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सञ्चालित फार्मेसी तथा क्लिनिकले अबैध रुपमा भिडियो एक्सरे र औषधि विक्री गर्ने गरेको पाईएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहको नेतृत्वमा मंगलबार जिल्ला अस्पतालको फार्मेसी र फेमेली केयर अस्पतालसहित दिक्तेलबजारका फार्मेसी तथा क्लिनिक अनुगमन गर्दा दिक्तेलबजारको मानवअधिकार चोक(सिंचाई गेट)नजिकको ॐ हलेसी मेडिकेयर क्लिनिकले गर्भवती महिलाहरुको अबैध रुपमा भिडियो एक्सरे गर्ने गरेको पाईएको छ।
ॐ हलेसी मेडिकेयर क्लिनिकको भिडियो एक्सरे मेशिन ।
बिना इजाजत उक्त क्लिनिकले ४७ दिनसम्मको अर्थात छ हप्ता पाँच दिनको गर्भवती महिलाको भिडियो एक्सरे गरेको भिडियो एक्सरे मेशिनमा रेकर्ड(डाटा)भेटिएको छ। अनुगमनमा पुगेको टोलीले गर्भवती महिलाहरुको अवैध रुपमा भिडियो एक्सरे गरेको एक दर्जन पुर्जा फेला पारेको छ।
ॐ हलेसी मेडिकेयर क्लिनिकले गर्भवतीहरुको अबैध रुपमा भिडियो एक्सरे गरेको पुर्जा।
उक्त क्लिनिकलाई अबैध रुपमा भिडियो एक्सरे नगर्न र गरेमा पसल सिल गर्ने अन्तिम चेतावनी दिएको छ। क्लिनिक सञ्चालक वेदनारायण साह तेलीकै नाममा दर्ता भएको न्यू हलेसी डेन्टल क्लिनिक प्रालिमा पनि अबैध रुपमा दाँत सम्बन्धी उपचार हुने गरेको पाईएको छ।
दाँत स्कृनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको वेदनारायणले जबर्जस्त रुपमा जोखिम मोल्दै दाँतको डाक्टरले गर्ने सम्पूर्ण उपचार गर्ने गरेको पाईएको छ। डेन्टल साँघुरो, सफा नभएको तथा मापदण्ड पूरा नभएको पाईएको छ।
ॐ हलेसी मेडिकेयर क्लिनिकमा मापदण्ड विपरीतको डेन्टल हाउस ।
ताकि दर्ता भए पनि इजाजत प्राप्त दन्त चिकित्सक राखेर मात्रै डेन्टल चलाउन पाइन्छ तर, वेदनारायणले नागरिकको स्वास्थ्यमाथि गम्भिर रुपमा खेलवाड गरेको पाईएको अनुगमन टोलीले बताएको छ।
यहि क्लिनिक मापदण्ड विपरीत चलेको पाईएपछि औषधि व्यवस्था विभागले २३ चैतमा सिल गरिदिएको थियो। ॐ हलेसी मेडिकेयर क्लिनिकसँगै रहेको न्यु हलेसी मेडिकेयर क्लिनिकमा पनि अबैध रुपमा भिडियो एक्सरे हुने सूचना प्राप्त भए पनि त्यहाँ पुग्दा(पोर्टएबल)मेशिन लुकाईएको पाईएको थियो।
न्यु हलेसी मेडिकेयर क्लिनिकमा देखिने गरी राखिएको ल्याक्टोजिन हटाइदै।
यस्तै, अबैध रुपमा भिडियो एक्सरे हुने गरेको सूचनाकै आधारमै नेहा फार्मेसीमा छापा मार्दा त्यहाँ भिडियो एक्सरे मेशिन नभेटिए पनि भिडियो एक्सरे गराउने गोप्य कोठा, कोठामा टेबल र बेड तथा ल्याब भेटिएको थियो।
नेहा फार्मेसीमा गर्भवतीहरुको अबैध रुपमा भिडियो एक्सरे गर्ने ठाउँ।
अबैध रुपमा भिडियो एक्सरे गर्ने ॐ हलेसी मेडिकेयर क्लिनिक र भिडियो एक्सरे गराउने गरेको सूचना आएको न्यु हलेसी मेडिकेयर क्लिनिक र नेहा फार्मेसीलाई तत्काल ति संरचना हटाउन निर्देशनसहित अब उप्रान्त भिडियो एक्सरे गरेको पाईएमा फार्मेसी र क्लिनिक सिधै सिल गर्ने चेतावानी दिईएको छ।
फर्मासिष्ट बिनै औषधि विक्री गर्छन क्लिनिक र फार्मेसी सञ्चालक
औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ। तर, दिक्तेलबजारमा क्लिनिक र फार्मेसीमा फर्मासिष्ट वा फार्मेसी सहायक नै छैेनन्,उनको कागजात मात्रै पाईएको छ। औषधि क्लिनिक र फार्मेसी धनीले बेच्ने गरेका छन्। क्लिनिक र फार्मेसी सञ्चालकले जथाभावी औषधि विक्री गर्दा ज्यानै जोखिममा पर्ने अनुगमन टोलीमा रहेका एकजना स्वास्थ्यकर्मीले बताए।
न्यु हलेसी मेडिकेयर क्लिनिकमा भेटिएको म्याद गुज्रेको औषधि ।
मंगलबार अनुगमन गर्दा निको मेडिकल, ॐ हलेसी मेडिकेयर क्लिनिक, हसिन फार्मेसी र फेमेली केयर अस्पतालमा फर्मासिष्ट बिनै औषधि विक्री भईरहेको पाईएको छ। फेमेली केयरले रनमाया चेपाङ र खिलानन्द अमात्यको फर्मासिष्टको कागजात देखाए पनि उनीहरु अस्पतालमा भेटिएन। ल्याब टेक्निसियनले औषधि दिन गरेको पाईएको छ।
फेमेली केयर अस्पतालको फार्मेसी अनुगमन गरिदै ।
जिल्ला अस्पताल, नारायण मेडिकल, नेहा फार्मेसी र न्यु हलेसी मेडिकेयर क्लिनिकमा मात्रै फर्मासिष्टले औषधि विक्री वितरण गरेको पाईएको छ। फार्मेसी पढेकाले मात्रै औषधि विक्री गर्न पाउने जान्दाजान्दै पनि क्लिनिक तथा फार्मेसी सञ्चालकहरु नै मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै औषधि विक्री वितरण गरिरहेका छन्। यसले स्वस्थ्य क्षेत्र भद्रगोल देखिएको छ।
मापदण्ड विपरीतका क्लिनिक र फार्मेसीलाई अन्तिम चेतावानी
अनुगमनमा पुगेको टोलीले मापदण्ड विपरीत चलेका क्लिनिक र फार्मेसीलाई सबै औषधिको रेकर्ड राख्न, फर्मासिष्टबाट मात्र औषधि विक्रीवितरण गर्न, ल्याक्टोजिन देख्नेगरी नराख्न, ल्याक्टोजिन बिना प्रेस्क्रीप्सन नबेच्न, मापदण्ड अनुसारको ठाउँ व्यवस्थापन गर्न, म्याद गुज्रेका औषधि नराख्न, म्याद गुज्रिन लागेका औषधिलाई अलग राख्ने, भेन्टिलेशनको व्यवस्था गर्न र २४ सै घण्टा पसलमा फर्मासिष्ट राख्न चेतावानी दिएको छ।भिडियो हेर्नुहोस,
https://www.facebook.com/samayojankhabar/videos/828075068956668
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology