समायोजन खबर खोटाङ, खोटाङमा असार सकिदा आधा पनि रोपाइँ हुन सकेको छैन। महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगले गोरुहरु मरेपछि खेतबारी जोत्न नसकिदा रोपाइँ गर्न नसकिएको हो।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर गत आर्थिक वर्ष २०७८/२०७९ को असार २७ गतेसम्म ५८ प्रतिशत रोपाइँ भएको थियो। तर, आर्थिक वर्ष २०७९/२०८० को असार २८ गतेसम्म ३३.५ प्रतिशत अर्थात ४ हजार ३२० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। गतवर्षको तुलनामा असारसम्म मात्रै २४.५ प्रतिशत रोपाइँ हुन सकेको छैन।
सोल्मामा रोपाइँ गरिएको धान।
जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ। जिल्लाभर जेठ अन्तिम साताबाट साउन मसान्तसम्म रोपाइँ हुने गर्छ। तर, बेलैमा पानी नपर्दा र मुख्य गरेर लम्पी स्किनले बारी जोत्नलाई पालिएको गोरुहरु धमाधम मरेपछि बेलैमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सन्जय कुमार पण्डितले बताए।
पण्डितका अनुसार हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३० प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा २५ प्रतिशत, रावाबेंशी गाउँपालिकामा १५ प्रतिशत, केपिलासगढी गाउँपालिकामा ३० प्रतिशत र ऐसेलुखर्क गाउँपालिकामा २० प्रतिशत रोपाइँ भएको छ।
साकेला गाउँपालिकामा ४० प्रतिशत, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ५० प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा ४० प्रतिशत तथा बराहपोखरी गाउँपालिकामा २० प्रतिशत रोपाइँ भएको छ।
नेर्पामा गरिएको रोपाइँ। तस्विर, मनोज आचार्य।
केपिलासगढी गाउँपालिकामा पानी ढिलो पर्दा तथा गोरुमा लम्पी स्किन रोग लाग्दा, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकामा खेतको मकै नपाक्दा र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा लम्पी स्किनका कारण रोपाइँ हुन सकेको छैन। हलेसी तुवाचुङ नगरपालिकामा आकासे पानीको भर पर्दा रोपाइँ ढिला भईरहेको हो।
जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको बेशी क्षेत्रमा रोपाइँ सकिएको छ । तर, अन्य स्थानीय तहहरुमा केही मात्रामा रोपाइँ भए पनि मुख्यतः खेत जोत्न गोरु अभाव हुँदा भनेजस्तो रोपाइँ हुन नसकेको कृषि प्रसार अधिकृत पण्डितको भनाई छ।
जिल्लामा रन्जित, खुमल–४, खुमल–८, खुमल–१०,अट्टेमासी, भोटाङगे, च्याम्पियन हाईब्रिड युएस–३१२, सुख्खा–२ प्रजातीका धान रोपिने गरिन्छ । गतवर्ष १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा शत प्रतिशत रोपाइँ भएको थियो।
यो पनि पढ्नुहोस,खोटाङमा भयावह बन्दै लम्पी स्किन,हप्ता दिनमै ८१ वटा गाई गोरु मरे
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology