समायोजन खबर खोटाङ, सूचना प्रविधि र सञ्चारको प्रयोग गरी साकेला गाउँपालिकालाई प्रविधिमैत्री डिजिटल पालिका बनाउने कार्यको सुरुवात गरिएको छ। गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै सुशासनतर्फ अग्रसर बनाउने उद्देश्यका साथ डिजिटल गाउँपालिका निर्माण गर्ने कार्य सुरु गरिएको हो।
डिजिटल गाउँपालिका निर्माण गर्ने अभियान अन्तर्गत गाउँपालिकाले आफ्नै मोवाईल एप(साकेला एप)समेत सञ्चालनमा ल्याएको छ। साकेला एप प्रयोग गर्न मोवाईलको प्ले स्टोरबाट एप डाउनलोड गरी डिजिटल पालिका निर्माण सम्बन्धि गतिविधि हेर्न र प्रयोग गर्न सकिनेछ।
गाउँपालिकाको हरेक काम कारवाही र गतिविधिलाई विद्युतीय प्रणालीमार्फत सेवाग्राहीलाई बिना झण्झट सुविधा प्रदान गर्ने पालिकाको उद्देश्य छ। गाउँपालिकाले निर्माण गरिरहेको पाँच वर्षे आवधिक गुरु योजनामा समेत डिजिटल पालिकालाई गौरवको योजनामा अघि सारिएको छ। सोही योजनालाई प्राथमिकता दिँदै गाउँपालिकाले डिजिटल पालिका निर्माणको कार्य सुरुवात गरेको हो।
उक्त कार्यका लागि गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा डिजिटल भिलेज प्रोफाईल निर्माण सम्बन्धि पहिलो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। छलफलको क्रममा अध्यक्ष राईले डिजिटल प्रोफाईल निर्माण सम्पन्न भईसकेपछि सामान्य कामको लागि समेत पालिका र वडा सम्म धाई रहनुपर्ने सर्वसाधारण नागरिकको वाध्यता हटेर जाने बताउनुभयो।
घरै बसि बसी सरकारको सुविधा उपभोग गर्न पाईन्छ, उहाँले भन्नुभयो– पालिकाको गौरवको योजनाहरुमध्ये प्रविधिमैत्री डिजटल पालिका र पेपरलेस कार्यालय निर्माण गर्दै देशकै उत्कृष्ट पालिका बनाउनेछौं। अर्थतन्त्रलाई टेवा पुग्ने प्रकारका विकास योजनाहरु, पर्यटन प्रवर्द्धन हुने प्रकारका योजना, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा समेत पालिकालाई विकास गर्दै लगिने अध्यक्ष राईले बताउनुभयो।
पालिकाले निर्माण सुरु गरेको डिजिटल भिलेज प्रोफाईलमा साकेलाबासी नागरिकहरुको सत्यतथ्य विवरण सहित वैयत्तिक विवरणदेखि वडा अनुसारको विवरण, घरधुरीहरुको स्मार्ट विवरण, सार्वजनिक स्थलहरु, सुशासनको क्षेत्रदेखि व्यक्तिगत घटना, नागरिक वडापत्र, डिजिटल सिफारिस, आकस्मिक सेवा, भुक्तानी, शिक्षा, स्वास्थ्य, कृषि लगायत जनप्रतिनिधि र नागरिकबीचको सहकार्यका विषयहरुलाई समेटिनेछ।
पालिकालाई सूचना तथा आधुनिक प्रविधिको माध्यमद्धारा सशक्त बनाई हरेक नागरिकलाई डिजिटल प्रविधिको प्रयोगमा अग्रसर गराउने उद्देश्य गाउँपालिकाको रहेको अध्यक्ष राईले बताउनुभयो।
प्रोफाईल निर्माण सम्पन्न भएपश्चात विद्युतीय सुशासन अन्तर्गत डिजिटल विधिद्वारा सिफारिस, जुनसुकै ठाउँबाट घटना दर्ता, डिजिटल नागरिक वडापत्र तथा भुक्तानी, पेपरलेस पञ्जीकरणको सुविधा लगायत ऐन,नियम र निर्देशिका, जनगुनासो, कर भुक्तानी लागायतको सेवा नागरिकहरुले प्राप्त गर्नेछन्।
डिजटल भिलेज प्रोफाईल निर्माणको प्राविधिक सहयोग स्मार्ट पालिका प्रालि काठमाडौले गरिरहेको छ। पहिलो चरणको छलफल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई सहित जनप्रतिनिधिहरु र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology