समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला मुलडाँडाका साङडोमा शेर्पाले विदेशबाट आएको रेमिट्यान्सलाई फजुल खर्च नगरी बचत गर्न थालेको बताउनुभयो।
सुरक्षित आप्रवासन(सामी)कार्यक्रमले सञ्चालन गरेको २१ हप्ते रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षापछि आफ्नो श्रीमानले कतारबाट पठाउने पैसालाई चाहिदो मात्रामा घरखर्च गरेर बचत गर्न थालेको छु। बालबालिकाको फजुल खर्च घटाएकी छु। पसलसँगै बंगुर पालेर आम्दानी बढाउन थालेको छु। श्रीमान विदेशमा हुनुहुन्छ। परिवार चलाउन उहाँको मात्र भर पर्दिन। म पनि आम्दानी गर्छु। साङडोमाले भनिन्, ‘आम्दानीलाई कम खर्च गरेर बचत गर्न थालेकी छु।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रमले नुनथलामा २१ दिने रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा समापनको अवसरमा मंगलबार वडा कार्यालयमा सञ्चारकर्मी र सरोकारवालासँग फिल्ड भिजिट र अन्तरक्रिया गर्दा साङडोमाले जस्तै सहभागीहरुले फजुल खर्च घटाएर बचत गर्न थालेको बताएका छन्।
नुनथलाकै मिना राईले छोरा दुबईमा रहेको बताईन्। ‘छोरा विदेशमा छ । छोराको मात्र भर परेर नहुने रहेछ। आम्दानी बढाउन डालो,नाङलो बेचेर आम्दानी बढाउन थालेकी छु।’ मिनाले भन्नुभयो। वित्तीय साक्षरता कक्षा लिएपछि विदेशबाट आएको पैसालाई फजुल खर्च नगरी सही ठाउँमा सदुपयोग गर्न र बचत गर्नुपर्छ भन्ने चेतना आएको साङलामु शेर्पाले बताईन् । कक्षा लिएपछि नै कतार पुगेका श्रीमानको सम्पूर्ण कागजातको एकएक प्रति फोटोकपी गरेर घरमै राखेको साङलामुले बताईन्।
वित्तीय साक्षरता कक्षाले आम्दानी बढाउनुपर्ने खर्च कम गर्नुपर्ने बानीको बिकास गराएको अन्तरक्रियामा सहभागी निर्मला तामाङले बताईन्। तामाङले अहिले खुत्रुके बचतलाई प्राथमिकता दिएर बाख्रा पालन सुरु गरेकी छन्। अर्का सहभागी पबित्रा तामाङले पनि खुत्रुके बचत गर्दै कुखुरा र बाख्रा पालेको सुनाईन्। फर्लमु शेर्पाले बंगुर पालन गर्नुभएको छ।
रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षामा सहभागीलाई प्रमाण पत्र प्रदान गरिदै।
वित्तीय साक्षरता कक्षापछि व्यवसायिक रुपमा बेमौसमी तरकारी खेती गर्न थालेको मुलडाँडाका दोर्जे शेर्पाले बताउनुभयो। एकवटा टनेलामा टमाटर र अर्को टनेलामा फुलकोपी लगाउँदै आएको छु। गाँजर,खुर्सानी,बन्दाकोपी पनि लगाएको छु। उत्पादन भएका तरकारी दिक्तेलमा बिक्री गर्न लान्छु। त्यसको सम्पूर्ण आयव्याय खर्च पनि राख्न थालेको छु। वित्तीय साक्षरता कक्षापछि नै ‘नुनथला वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श समूह’ नामक कृषि समूह नगरपालिकामा दर्ता गरिसकेको शेर्पा जानकारी दिनुभयो।
पत्रकार केदार मगरले वैदेशिक रोजगारीका क्रममा कुनै समस्या आएमा तत्काल पत्रकारलाई खबर दिन र सहकार्य गर्न आग्रह गर्नुभयो। गाउँघरमा विदेशबाट आएको पैसाको अझै पनि सही सदुपयोग नभई रहेको पत्रकार भिम राईले बताएका छन्। वरिष्ठ पत्रकार कृष्ण आचार्यले समस्यापछि लड्नुभन्दा बैदेशिक रोजगार सम्बन्धी अगाडी नैै सचेत भएमा समस्या कम गर्न सकिने बताउनुभयो । श्रीमान वा विदेश जाने व्यक्तिको प्रत्येक कागजातको फोटोकपी मगाएर अनिवार्य रुपमा घर परिवारले राख्न पत्रकार आचार्यले सुझाव दिनुभयो।
रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षामा सहभागीलाई प्रमाण पत्र प्रदान गरिदै ।
रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षाले फजुल खर्च गर्नबाट जोगाएर परिवारको श्रीमानलाई बारम्बार विदेश जान रोक्नमा मद्दत गर्ने सामी परियोजनाका कार्यक्रम संयोजक ओजोन बाबु आचार्यले बताउनुभयो। आचार्यका अनुसार वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि, व्यवसायिकता, आर्थिक, व्यवहारिक विषयवस्तुहरुमा छलफल गरिएको थियो । वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिहरुमा हुने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिईएको थियो।
वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा संलग्न व्यक्तीका परिवार, विशेष गरेर महिला सदस्यहरु सहभागी भएका थिए। चालू आर्थिक वर्षमा नुनथला र जालापमा २५/२५ जनाको दुई दुई समूह बनाएर वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा नेर्पा र बुईपामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा संचालन गरिएको थियो। बाँकी वडाहरुमा क्रमशः वित्तीय साक्षरता कक्षा संचालन गरिनेछ। वित्तीय साक्षरता कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाले पनि संचालन गरिरहेको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सामी कार्यक्रम संचालन गरिरहेका छन।
यो पनि पढ्नुहोस, बैदेशिक रोजगारलाई सुरक्षित बनाउन ‘गन्धर्व गीति यात्रा’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology