समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यचौकी पाथेकालाई कार्डियाक मनिटर र सेमी अटो एनालाइजर प्रदान गरेको छ। नगरपालिकाले बिरामीको रगतमा अक्सिजनको मात्रा, रक्तचाप, मुटुको गति लगायतको चेकजाँचको व्यवस्थाका लागि स्वास्थ्यचौकीलाई दुई लाख मूल्य पर्ने कार्डियाक मनिटर हस्तान्तरण गरेको हो।
यस्तै, रगतको सामान्य अवस्था, बोसोको मात्रा, कलेजो, मिर्गौला, वाथरोग, मधुमेह लगायतका स्वास्थ्य जाँचकाका लागि पाँच लाखको १५ वटा एनालाइजर प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए।
कार्डियाक मनिटर र एनालाइजर कोशी प्रदेश सरकार स्वास्थ्य आपूर्ती महाशाखाले उपलव्ध गराएको हो। कार्डियाक मनिटर र एनालाइजर शुक्रबार मेयर भट्टराईले वडाध्यक्ष मुगाधन राई र स्वास्थ्यचौकीका प्रमुख सन्तोष भट्टराईलाई हस्तान्तरण गरेका छन्।
सामान्य स्वास्थ्य अवस्था चेकजाँचका लागि जिल्ला अस्पताल पुग्नुपर्ने वाध्यता अन्त्यका लागि स्वास्थ्यचौकी पाथेकालाई आधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। स्वास्थ्यचौकी पाथेका जिल्लाको ७९ स्वास्थ्यचौकीमध्ये कार्डियाक मनिटर र एनालाइजरको प्रयोगमा ल्याउने पहिलो स्वास्थ्यचौकी बनेको दावी गरिएको छ।
स्वास्थ्यचौकी पाथेकामा व्यवस्था गरिएको स्वास्थ्य उपकरणबाट खार्मी, खार्ताम्छा, फेदी र बासपानीका स्थानीय समेत लाभान्वित हुने स्वास्थ्यचौकीका प्रमुख भट्टराईले बताए।
कार्डियाक मनिटर र एनालाइजर उपकरण सञ्चालनका लागि स्वास्थ्यचौकीमा राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत जडान गर्नुपर्ने देखिएको छ। हाल स्वास्थ्यचौकीमा बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म सञ्चालनमा रहेको स्थानीय लघुजलविद्युत जडान गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology