समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिकाले आङ खसेका महिलालाई उपचारका लागि अस्पताल लगेको छ। गत भदौ र असोजमा स्क्रिनिङ गर्दा आङ खसेको पत्ता लागेका छ महिलालाई पहिलोपल्ट उपचारका लागि कोशी अस्पताल बिराटनगर लगेको हो।
चैत ११ गते अस्पताल लगिएकामध्ये पाँच महिलाको आङ खसेको समस्याको सफल शल्यक्रीया गरिएको छ। एक जनाको भने फोक्सोमा समस्या देखिएका कारण पाठेघरको शल्यक्रीया गर्न नसकिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राईले बताईन्।
गाउँपालिकाले आङ खसेका महिलालाई निःशुल्क उपचारको प्रवन्ध मिलाएर अनमी अनिता भट्टराईको साथमा अस्पताल पठाएको हो। १५ वर्षअघि आङ खसेका ६३ वर्षकी, २० वर्षअघि आङ खसेका ५६ वर्षकी, २५ वर्षदेखि पाठेघर खस्ने समस्याबाट ग्रसित ५४ वर्षकी, ३३ वर्षदेखि पाठेघरको समस्या खेप्दैआएका ५८ वर्षकी महिलाको सफल शल्यक्रीया गरिएको छ । गाउँपालिकाले बिरामी र कुरुवा सहितलाई अस्पतालसम्म जाने आउने, खाने वस्ने प्रवन्ध मिलाएर उपचारमा पठाएको हो।
स्क्रिनिङ गर्दा १२ जनाको पाठेघरको शल्यक्रीया गर्नुपर्ने अवस्था पहिचान भए पनि छ जना अस्पताल जान नमानेको गाउँपालिका अध्यक्ष राईले बताईन्। ‘धेरैजसो महिला आङ खसेको समस्या लुकाएर बस्ने गर्नुहुन्छ। खुल्न चाहनुहुन्न। कतिपय महिला उपचारमा जान मान्नु भएन। डर मान्नुभयो। हामीले पनि कर गरेनौं,’ गाउँपालिका अध्यक्ष राईले भनिन्, ‘जति जना उपचारमा जान तयार हुनुहुन्छ त्यतीलाई मात्र लग्यौं। उपचार सफल भएपछि त्यो खबर सुनेपछि भविष्यमा अरु महिला पनि उपचारमा जान तयार हुनुहुन्छ भन्ने आशा राखेका छौँ।’
गाउँपालिका अध्यक्षमा निर्वाचित भएर कुर्सीमा बस्दैगर्दा अरुणादेबीले आङ खस्ने समस्या झेलिरहेका विपन्न आमाहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेकी थिईन्। सोही घोषणा अनुसार गाउँपालिका अध्यक्ष राईले आङ खस्ने समस्या भएका महिलाको खोजी गर्दै उपचारका लागि अस्पताल लैजान सुरु गरेकी हुन्। घोषणा–पत्रमा नलेखिए पनि आङ खस्ने महिलालाई निःशुल्क उपचारको प्रवन्ध मिलाएर तारिफयोग्य काम गरिएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology