समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी)मा विद्युत प्राधिकरणको निर्माणाधिन सव–स्टेशन अलपत्र परेको छ। सम्झौता म्याद सक्दा पनि काम नहुँदा सव–स्टेशन निर्माण काम अलपत्र परेको हो।
भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जिनियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो।
ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रशारण लाईनको काम पुरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको हो। सव–स्टेशनको बाँकी काम पुरा गराउन पटक–पटक विद्युत प्राधिकरण पुग्दा पनि सुनुवाई नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए।
सम्झौता अनुसार २०७६ सालमै बनिसक्नुपर्ने सव–स्टेशनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ। निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन्। खुला चौंरमा थुपारिएका कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको छ। कतिपय संरचनाको पिलर मात्र ठड्याइएको देखिन्छ। बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा लगिएकै छैन।
सव–स्टेशन निर्माणमा ढिलासुस्ती हुँदा अत्याधिकरुपमा विधुत फल्ट हुने गरेको छ। बारम्बार विधुत फल्ट हुने समस्याले सेवाग्राही हैरानी भएका छन्।
केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै बाक्सिलामा सव–स्टेशन निर्माणको काम थालिएको थियो। पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सव–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताए। बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology