समायोजन खबर खोटाङ, २०३२ सालदेखी बन्द गरिएको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल भानुमतीमा लाग्ने शिवरात्री मेला ब्युताइएको छ। तत्कालीन जिल्ला पञ्चायत सभापति प्रशुराम राईले बन्द गराएको शिवरात्री मेला ४७ वर्षपछि ब्युताइएको हो।
भानुमतिमा शिवरात्रीको अवसरमा १५ दिनसम्म मेला लाग्ने गरेको थियो। सावापारी दिप्लुङका तत्कालीन प्रधानपञ्च पृथिबहादुर राई र सावावारी खोटाङबजारका प्रधानपञ्च श्रीप्रसाद भट्टराईबिच मेलाका विषयमा विवाद भएपछि सभापति राईले बन्द गराएको मेला फेरि सुरु गराइएको जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम बहादुर खड्काले जानकारी दिए।
सावापारीका राई र सावावारीका भट्टराईबिच मेलाको आम्दानी कसले लिने भन्ने विषयमा विवाद भएपछि सभापति राईले मेला बन्द गराएको खड्काको भनाई छ। उनले भने ञपहिलाको जस्तै पन्ध्रदिन नै मेला लाग्दैन तर अब हरेक वर्ष शिवरात्रीको दिन मेला लगाउछौँ र आम्दानीलाई भानुमतिकै विकासमा खर्च गर्छौ।
खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको सिमाना भएर बग्ने सावाखोलामा रहेको भानुमतिमा मेला लगाउने विषयमा दुई गाउँपालिकाबिच समन्वय तथा सहकार्य गरेर मेला लगाइएको बताइएको छ।
ञम सानै हुँदा मेरो आमाले भनेको सुनेको त्यो बेला सतिप्रथा थियो रे। वरिपरिका मानिस मरेपछि त्यहीँ सदगत गरिन्थ्यो रे, अहिलेपनि घाट त्यहीँ छ। कत्ति महिला सति गएको आमाले देख्नु भएको रे। त्यो बेला नि त्यहाँ विशाल मेला लाग्थ्यो रे।झ जन्तेढुङ्गा गाउँपालिका –५ वाचिपालाका ९९ वर्षिय डम्बरसिंह राईले बताए।
ञउनले भने मैले पनि पछि मेला भरे। ठुलो मेला लाग्थ्यो। १५ दिनसम्म म नै त्यो मेलामा कत्ति बसे। त्यो बेला पुलिस थिएनन् जुवातास खेल्ने, त्रिपासा, घुर्नी खेल खेल्ने, रक्सी खाने रनघनको बजार लाग्थियो।झ मेला भर्न काठमाडौंदेखी महिनौ हिडेर मान्छे आउथे राईले सुनाए।
रक्सी खाने, झगडा र मारामार भएपछि २०३२ सालमा पर्शुराम घोडा चडेर आएर मेला बन्द गराए। त्यसपछि पनि मान्छेले टेरेनन। पछि केही वर्ष मेला लाग्यो अनि चाहीँ आफैं बन्द भयो। म पनि जिल्ला पञ्चायतको सदस्य थिएँ। बेथिति बढेपछि म पनि मेला बन्द गराउन लागे, राईले बताए। अब त प्रहरी छ, बेथिति छैन। सबै पढेलेखेका छन्। फेरी मेला सुरु भएछ खुशी लाग्यो, राईले खुशी ब्यक्त गरे।
मेलामा छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, उदयपुरलगायतका ठाउँबाट दर्शनार्थी तथा ब्यापारीहरुले मेला भर्ने गरेको भानुमति खुट्टेश्वर धार्मिक मेला आयोजक समितिको अध्यक्ष शिवप्रसाद फुयालले बताए।
जिल्लाको दक्षिणी क्षेत्र सावाखोलामा पर्ने भानुमतिमा जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले मेला सुरुवात गराएको हो। भानुमति दुई गाउँपालिकाको बिचमा पर्छ। प्रसिद्ध धार्मिक तीर्थस्थल भानुमतीको पर्यटन प्रबर्द्धन गर्न भन्दै ति गाउँपालिकाले मेलाको सुरुवात गरिएको बताइएको छ।
मेलाको उद्घाटन निवर्तमान सांसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले गरेका हुन। मेलामा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई उपाध्यक्ष रुपेश राई, जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेम बहादुर खड्काको उपस्थिति रहेको थियो।
भानुमतीमा खुट्टेश्वर महादेव उत्पन्न भएर बसेको पाइन्छ। सत्य युगमा दक्ष प्रजापतीकी जेठी छोरी हुन्छिन्। ३३ कोटी देवतालाई दक्ष प्रजापतीले सवै छोरीको कन्यादान गर्छन्, तर सत्यदेवीलाई घरको रेखदेख गर्न छोरा नभएका कारण दक्ष प्रजापतीले राख्छन्। सोही बखत सत्यदेवीलाई श्रीमहादेव विहे गर्न भनि कन्यादान माग्न आउँछन्। सत्यदेवी घरको छोरोको रुपमा राखेको भनेर दक्ष प्रजापतीले श्रीमहादेवलाई कन्यादान गर्दैनन् उल्टै महादेवलाई गलहत्याएर घरबाट निकाली दिन्छन्। त्यसपछि विष्णु भगवानले आफुलाई कन्यादान गर्न भनि दक्ष प्रजापतीसँग सत्यदेवीलाई मागी छल गरेर श्रीमहादेवसँग विहे गराई दिन्छन्।
दक्ष प्रजापतीले सत्यदेवीलाई श्रीमहादेवले विहे गरेको थाहा पाएपछि आफ्नो घरमा ३३ कोटी देवतासँगै सारा देवतालाई आफ्नो महायज्ञमा निम्तो गरेको तर श्रीमहादेवलाई भाङ, धतुरो खाने, बागको छाला ओड्न, खरानी घस्ने, साँडे गोरुमा चडेर हिड्ने बहुलाजस्तो भनेर जेठी छोरी सत्य देवी र ज्वाई श्रीमहादेवलाई निम्तो गर्दैनन्।
आफ्ना पिता दक्ष प्रजापतीले महायज्ञ गरेको सत्यदेवीले थाहा पाएपछि आफ्नो माईती घरमा आएर उनले दक्षप्रजापतीले आयोजना गरेको महायज्ञको अग्नीकुण्डमा हाम फालेर आत्मा हत्या गर्छिन्। त्यसपछि श्रीमहादेव पागल भई सत्यदेवीको मृत शरिरलाई काँधमा हाली संसार घुम्छन्। त्यसपछि सत्यदेविको एक पछि अर्को गर्दै शरिरका सम्पूर्ण अंगहरु पतन हुँनेक्रममा भानुमतीमा सत्यदेवीको वाँया खुट्टा पतन हुन्छ। जहाँ –जहाँ सत्यदेवीका अंगहरु पतन भएका छन्। त्यहाँ त्यहाँ श्रीमहादेव उत्पन्न भएको हामीले श्रीस्वस्थानी बर्त कथाको पुस्तकमा पढ्न पाउँछौं।
भानुमतीमा सत्यदेवीको देव्रे खुट्टा पतन भएपछि त्यहाँ खुट्टेश्वर महादेव उत्पन्न भएको स्वस्थानीको पूस्तकमा उल्लेख छ। भानुमतीमा हरेक वर्षको पौष अन्तिम देखि माघ १ गतेसम्म मकर नुहाउँने पनि चलन रहेको छ। साथै भानुमती मृत शरिरहरुको दाह सत्कार गर्ने मुख्य थलोको रुपमा रहेकोले दिगंवत आत्मा र आफ्ना पितृहरुको लागि रुद्री पाठलगायतका पूजा आजा लगाउने गरिन्छ। भानुमतिको दर्शन गरे रोगब्याधीले नलाग्ने, सन्तान नभएकालाई सन्तान प्राप्ती हुनेलगायतको जनविश्वास छ।
भानुमती जिल्लाकै धार्मिक तथा पर्यटकिय स्थलकारुपमा रहेपछि सम्बन्धित निकायको ध्यान नजाँदा र प्रचार– प्रसार नगरिँदा ओझेलमा परेको छ। यसबाहेक त्रिधार्मिक स्थल हलेसी, वराहपोखरी, मझुवाकालिकालगायतका धार्मिक स्थलमा शिवरात्रीको अवशरमा मेला लागिरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology