समायोजन खबर खोटाङ, साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले जटिल प्रकारको रोग लागेर अन्यत्र उपचारका लागि रेफर गर्नुपर्ने बिरामीहरुलाई अस्पताल सम्म जाने–आउने र उपचार गर्दा बिरामी र कुरुवाको खानेबस्ने व्यवस्था पालिकाले गर्ने बताउनुभएको छ।
स्वास्थ्य चौकी बाँझेच्यानडाँडामा आईतबार भएको प्रजनन स्वास्थ्य, रुग्णता सम्बन्धि स्क्रिनिङ शिविर कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष राईले आङ् खसेर बिरामी भई अन्त्रय उपचारका लागि रेफर गर्नुपर्ने बिरामीको सहजताका लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाएर सहयोग गर्ने बताउनुभएको हो।
गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि जटिल समस्या रहेको बताउँदै उहाँले संम्भव भएसम्म आगामी दिनहरुमा टोलटोलमा घुम्ती सेवाहरु पुर्याउने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ। आमा स्वस्थ्य भए मात्र भावि सन्तान स्वस्थ हुन्छ, सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुगेमात्र समग्र गाउँपालिकालाई समृद्धि तर्फ लैजान सकिन्छ। उहाँले भन्नुभयो।
वडाअध्यक्ष हेमन राईको अध्यक्षतामा भएको उक्त शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायतको उपस्थिति थियो। शिविरबाट ५० जना नागरिकहरुले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा २० जनाले पाठेघरमा हुने क्यान्सर रोगको उपचार गराएका छन् भने परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट ८ जनाले राखेका छन्।
त्यस्तै परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट झिक्ने ९ जना, पुन झिकेर लगाउने २ जना र योन रोग सम्बन्धी १० जना नागरिकले उपचार पाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताइन् । शिविरबाट आङ खसेर बिरामी भएकी ७४ वर्षीया वृद्धालाई भने उपचारका लागि अन्यत्र रेफर गरिएको ढकालको भनाई छ। स्वास्थ्य सम्बन्धी शिविर गाउँपालिकाको सबै वडाहरुमा सञ्चालन गरिने उहाँको भनाई छ।
यसैबीच, गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणाका लागि १० दिनभित्र घरधुरी सर्वेक्षण सम्पन गरेर फागुनभित्रै पूर्ण खोप र दिगोपना घोषणा गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ।
हालैमात्र साकेला गाउँपालिकाको सभाहलमा भएको पालिका स्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धनका लागि आयोजना गरिएको योजना तर्जुमा गोष्ठिलाई सम्बोधन गर्दै अध्यक्ष राईले सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत पूर्णखोप सुनिश्चितता गराउने र दिगोपना घोषणा गर्ने अभियानलाई स्थानीय सरकारले महत्वका साथ हेरेको बताउनुभएको छ। उक्त कार्यक्रममा उपस्थित जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले सबै सूचकहरु पुरा भएर सिफारिस आउनसाथ साकेलालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणाका लागि आफुहरु तत्पर रहेको बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology