समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्तादेखि योजना सम्झौतासम्मका सेवा प्रदान गरिएको छ। नगरपालिका र वडाको संयुक्त पहलमा सोमबार वडा कार्यालयमा एकिकृत सेवा प्रवाह कार्यक्रम राखेर भत्ता, योजान सम्झौता, स्वास्थ्य परीक्षण, परिचयपत्र जस्ता पाँच प्रकारको सेवा प्रदान गरिएको हो।
कार्यक्रममा १५ वटा वडागत योजना सम्झौता, १५० जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। अन्य समयमा लाभग्राहीहरु भत्ता लिन वडाबाट हलेसी पुग्नुपर्छ। आफ्नौ घर आँगनमा बिना झन्झट भत्ता थाप्न पाउँदा खुशी लागेको राजापानीका ज्येष्ठ नागरिक तुलसी बहादुर कार्कीले बताए। वडामा भत्ता थाप्न पाउँदा सुविधै सुविधा भएको अर्का ज्येष्ठ नागरिक शिवकुमारी राईले बताईन्।
सामाजिक सुरक्षा भत्ता लिदै ज्येष्ठ नागरिक ।
वडामै योजना सम्झौताको काम नगरपालिकाको सबैभन्दा राम्रो काम भएको र आउँदो सालहरुमा पनि यसरी नै वडामै योजना सम्झौता गरिदिए सजिलो र सुविधा हुने स्थानीय जसराज राईले बताए। आफू उपभोक्ता समितिको अध्यक्ष बसेर राईले एक लाखको ‘तल्लो वेराखा सडक मर्मत’ योजना सम्झौता गरेका छन्।
कार्यक्रममा ज्येष्ठ नागरिक र अन्य गरी २०० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । ३० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ‘क’ वर्गका आपङगता परिचयपत्र १ जनालाई, ‘ख’ वर्गको परिचयपत्र ४ जना, ‘ग’ वर्गको परिचयपत्र २ जना र ‘घ’ वर्गको अपाङगता परिचयपत्र १ जनालाई वितरण गरिएको नगरपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख बिजय विश्वकर्माले जानकारी दिनुभयो।
योजना सम्झौता गर्नुहुंदै योजना शाखाका कर्मचारीहरु।
कार्यक्रममा नगरपालिकाको ‘बालिका विकास बचत’ कार्यक्रम अन्तर्गत सालपा विकास बैंकमा मुद्दती खाता खोली नियमानुसार जम्मा भए अनुसारको १७ जनामध्ये १० जना बालिकाको आमालाई बैंक भौचर वितरण गरिएको छ।
उपमेयर रमेश कुमार राउतले राजापानीकै अपाङगता भएका लोक बहादुर बुढाथोकीलाई घरमै पुगेर अपाङगता परिचय पत्र वितरण गर्नुभएको छ। वडा ठूलो रहेकाले वडासम्म आउन नसकेका लाभग्राहीहरुलाई घरमै पुगेर प्रकृति अनुसार कागजात वितरण गरिएको उहाँको भनाई छ।
सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक र अपाङग परिचयपत्र तथा बालिकाको आमालाई बैंक भौचर मेयर बिमला राईले वितरण गर्नुभएको थियो। भूगोल टाढा भएकाले यहाँका नागरिकको सहजता तथा समय र श्रोतको बचतका लागि एकिकृत सेवा प्रवाह गरिएको मेयर राईले बताउनुभयो। आवश्यकता अनुसार अन्य वडाहरुमा एकिकृत सेवा प्रवाह गर्ने योजना रहेको उहाँको भनाई छ।
ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुहुंदै स्वास्थ्य संयोजक प्रकाश घिमिरे।
एकिकृत सेवा प्रवाहमा कागजात नमिलेर/नपुगेर खासगरी भत्ता नलिई फर्केकाहरुलाई कागज मिलाएर परिवारका सदस्यलाई सिफारिस दिईने र उहाँहरुले बैंकबाट भत्ता लिएर आउने वडाध्यक्ष अनिश कार्कीले बताए।
के हो बालिका विकास बचत कार्यक्रम ?
हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमबाट पारित भएको कार्यक्रम हो ‘बालिका विकास बचत’ कार्यक्रम।
‘बालिका विकास बचत’ कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को साउनयता जन्मिएको बालिकाहरुलाई तीन वर्षसम्म वार्षिक चार हजारका दरले रकम प्रदान गरिने व्यवस्था छ। यसका लागि नगरपालिका र सालपा विकास बैंक हलेसीविच सम्झौता भएको छ। सम्झौता अनुसार जन्मिएका बालिकाको नाममा मुद्धती खाता खोलिने र आमा मात्रै हकवाला रहनेछ।
बालिका अमृता राईको नाममा जम्मा भएको बैंक भौचर आमा आयु राईलाई हस्तान्तरण गर्नुहुंदै मेयर विमला राई।
स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, स्थानीय स्वास्थ्य संस्थाले नसकेको अवस्थामा कतै रिफर भई सुत्केरी गराएर जन्मिएको बालिकालाई यस कार्यक्रमले सहयोग गर्नेछ। लामो समय वाहिर बसेर आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा यो कार्यक्रम लागू नहुने मेयर राईले बताउनुभयो।
बालिका विकास बचत कार्यक्रममा नगरपालिकाले बालिकाको बैंक खातामा ३ वर्षमा १२ हजार रुपैयाँ बैंकमा जम्मा गरिदिने छ। जम्मा भएको रकम बालिका १५ वर्ष पुगेपछि मात्र निकालेर प्रयोग गर्न सक्छिन्। यसविचमा आमाबुबाले पनि छोरीको खातामा पैसा जम्मा गर्न सक्नेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology