समायोजन खबर खोटाङ, कुनै पनि संघसंस्था, सरकारी कार्यालयले उपलब्धी आउनेगरी लगानी गर्छ। तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले त सानोतिनो हैन नौ लाख रकम स्वाह पारेको छ। त्यसको कुनै उपलब्धी छैन,चिनोबानो छैन।
त्रि–धार्मिकस्थल हलेसी आउने पर्यटकलाई दिक्तेलबजारसम्म ल्याउने भन्दै नगरपालिकाले हलेसी महादेवस्थान विकास समितिको भवनमा २०७५ चैतमा निःशुल्क कोठा लिएर ‘पर्यटन सूचना केन्द्र’को स्थापना ग¥र्यो।
स्थापना भएको सूचना केन्द्रको २०७५ चैत २९ गते हलेसी मन्दिर प्राङगणमा तत्कालिन मेयर दिपनारायण रिजाल र प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बडो तामझामका साथमा उद्घाटन गरे। पहाड नै उचाल्ने झै गरी ढर्रा देखाए, घाँटी सुकिन्जेल भाषणबाजी गरे अरुले परर..ताली पड्काए। उद्घाटनको तडकभडक हेर्दा दिक्तेलबजारका व्यापारी तथा बजारबासी ढुक्क भए, अब हलेसी आउने पर्यटक दिक्तेलसम्म आउँछ र, यहाँको व्यापार व्यवसाय चल्छ, आर्थिक चलखेल हुन्छ।

पर्यटन सूचना केन्द्रको उद्घाटन गर्दै तत्कालिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, तत्कालिन मेयर दिपनारायण रिजाल लगायत ।
दिक्तेलबजारबासी ढुक्क नहुन पनि कसरी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नौ लाख बजेट खर्चेर त्यति धेरै तडकभडक र तामझाम गरेका थिए। हुँदाहुँदा कार्यक्रममा मान्छे धेरै देखाउन नगरपालिकाले मोटो रकम खर्चेर दिक्तेलबाट दुई गाडी मान्छे समेत लगे/ल्याए। उद्घाटनमा सहभागी सयौलाई खाजा नास्ता खुवाईए, नचाईए। नगरपालिकाको पर्यटकीय तथा धार्मिकस्थलहरुको फोटो वर्णन भएकों हाते ब्रुसर बाँडे, युवायुवतीलाई टिसर्ट पनि बाँडियो।
स्थापना गरेको सूचना केन्द्रमा नगरपालिकाले सुरुवातमा निर्णय गरेर नवराज घिमिरे र त्यसपछि नगरकै कार्यालय सहयोगी मोहन दुलाललाई कर्मचारीका रुपमा राखे। उनीहरुको काम हलेसी आएका पर्यटकलाई दिक्तेलसम्म जानुहोस भन्दै ब्रुसर बाड्ने र नगरको पर्यटकीय तथा धार्मिकस्थलहरुको भिडियोे डिस्प्लेमा देखाउने बाहेक केही थिएन। उनी दुईलाई नगरपालिकाले तलब दिंने गरेका थिए। त्यहाँ बसे वापत छुट्टै तलबको व्यवस्था थिएन।
नगरपालिकाले नौ लाख खर्चेर सूचना केन्द्र स्थापना गरे, अफिस व्यवस्थापनका लागि फर्निचरमा केही खर्च गरे, अनि पर्यटन प्रवद्र्धन समिति संयोजक अनिल जोशीलाई बनाए। कोभिडले जोशीको निधन भईसकेकाले धेरै कुरा निकाल्न सकिएन। तर, प्रयास भईरहेको छ।
हेर्दाहेर्दै सूचना केन्द्र स्थापना, उद्घाटन, ब्रुसर बाँड्न, टिसर्ट बाँड्नमा मात्रै नगरपालिकाले नौ लाख रकम स्वाह पारे। उपलब्धी शुन्य रह्यो। ‘पर्यटक भने दिक्तेलमा एकैजना आएन,देखिएन। त्यति धेरै रकम खर्चेर सुरुवात गरिएको कार्यक्रम प्रभावकारी भएन। नेतृत्वको कमजोरी र मिलेमत्तोमा भएको कार्यक्रमले प्रतिफल दिनुको सट्टा मिलेमत्तोमै पैसा झ्वाम भयोे, मोजमस्ती गरे, पचाए, सिध्याए।’ श्रोत भन्छ।
सूचना केन्द्रको थ्रु बाट आएको भनेर एकजना पनि मान्छे दिक्तेलमा आएको देखिएन,भेटिएन। नाँच्न जान्दैन आँगन टेडो भने झै काम गर्न जाँन्दैन अनि मान्छे आउँछ दिक्तेलमा ? काम गर्न जान्नु प¥र्यो नि? पर्यटन सम्बन्धी काम गर्दै आएका दिक्तेलका एक अगुवाले प्रतिप्रश्न गरे, योजना दिएजस्तो गरी कार्यकर्तालाई पैसा दिएर सक्नु थियो, पचाउनु थियो, मान्छे किन आउनु प¥र्यो त, कमिशन आईहाल्यो।
सूचना केन्द्रमा बसेका कर्मचारीका अनुसार पनि खासै पर्यटक दिक्तेल आएनन्। एकादुई सूचना केन्द्रमा सोध्न चाँहि आउथे तर, मान्छे दिक्तेल गएनन्। नगरपालिकाका सूचना अधिकारी मोहन कुमार भट्टराईका अनुसार एकवर्ष सूचना केन्द्रमा कर्मचारी बसेको र कोभिड आएपछि उनलाई नगरपालिकानै तानिएको बताउँछन्। अहिले नगरपालिकाले राखेको डिजिटल डिस्प्ले छ तर, चल्दैन, त्यसैलाई पनि धुलोले खाईसकेको प्रत्यक्षदर्शी बताउँछन्। सूचना केन्द्रको कार्यालयमा भोटे ताल्चा लागेको छ।
कोरोना भाईरसको बहाना त धेरैलाई ढाँट्न, छल्न, कमिशन सफल बनाउने गज्जबको बहाना भएको छ। नगरपालिकाकै अधिकारीले भने अनुसार वर्षदिन सूचना केन्द्र चले पनि प्रतिफल शुन्य नै भएको पुष्टि हुन्छ। होला कोरानापछि सूचना केन्द्र चलेन, तर चले अवधिको प्रतिफल खै ? कि नौ लाख रकम त्यतिमै पच्यो ? नगरबासी सबैको यो साझा प्रश्न बनेको छ।
सूचना केन्द्र करीव वर्ष दिन चल्दा हाते बु्रसर बाँड्ने र आक्कलझुक्कल भिडियो देखाउने काम बाहेक अन्य केही नभएको श्रोत बताउँछ। नगरपालिकाको सूचना केन्द्र अहिले डामाडोल छ। ताल्चा लागेर बन्द छ। डिजिटल डिस्प्लेले अरुलाई भिडियो देखाउनुको सट्टा धुलो, धुवा खाईरहेको छ, नगरपालिकाको कामले उसैलाई गिज्याईरहेको छ। अरुले मजाक बनाईरहेको छ।
जनताबाट कर उठाएर संकलन भएको रकम स्वंयम् स्थानीय सरकारले नै सही ठाउँमा सदुपयोग नगरेको यसले प्रस्ट हुन्छ। अन्य धेरै संरचानहरु आँखै अगाडी छन्। स्थानीय सरकार त कार्यकर्ता भरणपोषण र कमिशनको खेलमा चुर्लुम्म डुबेको छरप्रस्टै देखिन्छ।(आवश्यक परे त्यो प्रमाण सुरक्षित छ)
सूचना केन्द्रबाट पर्यटक दिक्तेल ल्याउने भन्दै अघिल्लो सरकार प्रमुख, उपप्रमुख र उनका आसेपासेहरुले सजिलो तरिकाबाट नौ लाख रकम स्वाह पार्दा त्यसलाई खोज्न, छानविन गर्न र निरन्तरताका लागि बहालवाला मेयर, उपमेयर कही कतै एकै शब्द बोलेको सुनिन्दैन। पूराना मेयर र उद्घाटन गर्न भ्याएका भट्टराई अनि उनीहरुको पछिपछि कुद्नेहरु पनि यो विषयमा चुईक्क बोलेका छैनन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology