समायोजन खबर खोटाङ, खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर परिसरमा सीसी(क्लोज सर्कीट टेलिभिजन)क्यामेरा जडान गरिएको छ। यसअघि जडान गरिएको सीसी क्यामेरालाई चट्याङले बिगारेर काम नदिने भएपछि पुनः नयाँ र गुणस्तरीय सीसी क्यामेरा जडान गरिएको हो।
यसअघि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नौ लाख र हलेसी महादेवस्थान विकास समितिको छ लाख गरी कूल १५ लाख बजेटमा जडान गरिएको मनिटर(डिसप्ले डिभाइस) र पोल बाहेक सबै सीसी क्यामेरा र तारलाई चट्याङले नष्ट गरेपछि पहिला क्यामेरा राखिएको ठाउँमै पुनः तार टाँगेर नयाँ क्यामेरा जडान गरिएको छ।
हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको आठ लाख ६४ हजार बजेटमा सेक्युर केनाइट आइटी सोलुसन प्रालि काठमाण्डौंले एकहप्ता अघिबाट जडान सुरु गरेर आज (शुक्रबार)सम्पन्न गरेपछि सीसी क्यामेरा सञ्चालनमा आएको महादेवस्थानका वडाध्यक्ष एवंम् हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो। राती पनि प्रष्ट देखिने १९ वटा सीसी क्यामेराको कन्ट्रोल रुम ब्याट्री ब्याकअपसहित इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ। त्यहीबाट प्रहरीले क्यामेराको सहायतामा सुरक्षास्थिति अझ नजिकबाट निगरानी गर्नेछ।
पहिला पनि क्यामेरा जडान गरिएको थियो तर, चट्याङले नष्ट गरेपछि अहिले भने वारेन्टी र ग्यारेन्टी सहितको क्यामेरा जडान गरिएको छ। पहिला बिजुलीको पावर सिधै क्यामेरामा जोडिएको रहेछ। वडाध्यक्ष गिरीले भने, ‘अहिले ब्याकअपमा बिजुलीको पावर जोडिएको छ। चट्याङले बिगारे पनि ब्याकअप बिगार्छ क्यामेरा बिगार्न सक्दैन।’
सीसी क्यामेरा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको निर्देशन र वडाको समन्वयमा जडान गरिएको हो। जडान गरिएको क्यामेराले ग्यारेज टोल, ट्राफिक चोक, सालपा चोक, रिठ्ठाबोटे, मन्दिर प्राङगण, डाँडाबजार हुुँदै ट्राफिक चोकसम्म निगरानी गर्नेछ। हलेसी मन्दिर र हलेसी बजार परिसरमा सुरक्षा दृष्टिकोणलाई मध्यनजर राख्दै जडान गरिएको क्यामेराले जनतालाई सुरक्षाको प्रत्याभूति गराउन र अपराधिक कार्य हुन नदिन सहयोग पु¥याउने अपेक्षा गरिएको मेयर राईले बताउनुभयो।
बौद्ध, हिन्दु र किराँत धर्मावलम्बीहरुको संगमस्थल हलेसीमा नेपाल बाहेक चीन, भुटान, भारत, सिंगापुर, जापान, रुस, अमेरिकाबाट दर्शन तथा पुजाआजका लागि तीर्थालु भक्तजन र पर्यटक आउने गर्छन्। बौद्ध धर्मावलम्बीहरुले हलेसीलाई दोश्रो लुम्बिनी, हिन्दु धर्मावलम्बीहरुले दोश्रो पशुपतिनाथ र किराँत धर्मावलम्बीहरुले आदिमभूमिको रुपमा लिने गर्दछन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology