समायोजन खबर खोटाङ, ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले अमर प्रहरीका परिवारलाई सम्मान गरेको छ। सामेबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा अमर प्रहरीका तीन परिवारलाई दोसल्ला ओढाई सम्मान गरेको हो।
प्रहरीको काम कर्तव्य पालना गर्ने क्रममा २०७६ असार २५ गते भोजपुरमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका संजीव राईको श्रीमती नमुना राई र बुबा शेर बहादुर राईलाई प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले दोसल्ला ओढाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गर्नुभएको छ।
सम्मान तथा पुरस्कार ग्रहणका लागि आमा र बाजे(हजुरबुबा)सँगै संजिवका दुई छोरा प्रहरी कार्यालय दिक्तेलमा आएका थिए। स्वर्गीय संजीवका श्रीमती नमुना अमर प्रहरीहरुमा श्रद्धाञ्जली अर्पण गर्ने समय र पुरस्कार ग्रहणका समयमा भावविव्हल भएकी थिईन्। उनको आँखाभरी आँसु देखिएको थियो।
दिवसकै अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका–१ दिक्तेलका आचार्य गाउँका अमर प्रहरी जयप्रसाद आचार्य र दिक्तेल अस्पताल चोकका अमर प्रहरी नवराज ठाकुरका आमालाई सम्मान गरिएको छ। अमर प्रहरी आचार्यका आमा कमलादेबी र ठाकुरका आमा सरस्वतीदेवीलाई दोसल्ला ओढाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयको नाममा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा निःशुल्क तीन रोपनी जग्गादान गर्ने स्थानीय रोहिणी प्रसाद अधिकारीलाई कदर पत्रले सम्मान गरिएको छ । अपराध अनुसन्धानतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी जवान सुनिल राई पुरस्कृत भएका छन्।

प्रहरी दिवसकै अवसरमा आन्तरिक भेट्रान टेवल टेनिस प्रतियोगितामा प्रथम हुने प्रहरी हवल्दार रिक्ष कटवाल र दोश्रो हुने वरिष्ठ हवल्दार प्रकाशयोङ पाङदेन तथा खुल्ला टेवल टेनिस प्रतियोगितामा प्रथम हुने प्रहरी जवान रामजी बस्नेत र दोश्रो हुने सहायक हवल्दार प्रेम बहादुर बस्नेतलाई पुरस्कार प्रदान गरिएको छ।
आन्तरिक हाजिरीजवाफ प्रतियोगितामा पहिलो हुने जिल्ला प्रहरी कार्यालय ‘क’, दोश्रो हुने जिल्ला प्रहरी कार्यालय ‘ख’ र तेश्रो हुने इलाका प्रहरी कार्यालय खोटाङबजारलाई पनि पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।
प्रदेश नं. १ प्रदेश प्रहरी कल्याण कोषद्धारा प्रदान गरिने उत्कृष्ट जेहेन्दार छात्र/छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत २०७८ सालको एसईई परीक्षामा संस्थागत विद्यालयतर्फबाट उच्च अंक प्राप्त गर्ने प्रहरी सन्ततिको रुपमा छनौट भएका छात्रा सुजता राय क्षेत्रीलाई दश हजार र प्रमाण पत्र प्रदान गरिएको छ। क्षेत्रीले दिक्तेल बोर्डिङ स्कुलबाट एसईई दिएकी थिईन्। यसैविच, ६७ औं प्रहरी दिवसको अवसरमा रक्तदान गर्नेलाई प्रशंसा पत्र प्रदान गरिएको छ।
जग्गादाता, उत्कृष्ट प्रहरी, टेवल टेनिस र हाजिरीजवाफ प्रतियोगिताका विजयीलाई प्रमुख जिल्ला अधिकारी सेडाई, प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसी खोटाङका डिएसपी श्याम रावत, गोरखनाथ गण मुढेका मेजर राजकुमार वुढाथोकी, जिल्ला न्यायाधिवक्ता संगिता न्यौपाने ढुङगेल, जिल्ला अदालतका श्रेष्तेदार रामाकान्त यादव, रेडक्रस सभापति ज्ञानेन्द्र जोशीले पुरस्कार तथा कदर पत्र वितरण गरेका थिए ।
बालमैत्री कक्ष स्थापना
जिल्ला प्रहरी कार्यालयमा बालमैत्री कक्ष स्थापना गरिएको छ। बालमैत्री कक्षको प्रमुख जिल्ला अधिकारी सर्य प्रसाद सेडाईले उद्घाटन गर्नुभएको छ। बालमैत्री कक्षमा बालबालिकाले अध्ययन गर्ने किताब राखिएको छ। भित्तामा विभिन्न ज्ञानदिने चित्रहरु कोरिएको छ।
हिरासत बस्नुपर्ने अवस्थाका बालबालिकालाई समय कटाउन तथा शिक्षामा प्रेरणा जगाउने उद्देश्यले बालमैत्री कक्षको स्थापना गरिएको प्रनाउ मुकारुङले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology