समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको पहलमा वर्षौदेखि मानसिक सन्तुलन गुमाएका फेदी पत्करुका २१ वर्षीय बिज्ञान्द्र राईले उपचार पाएका छन्। मानसिक सन्तुलन गुमाएर उपचार अभावको जीबन झेल्दै आएका राईले नबजीबन परोपकार समाज काठमाण्डौमा उपचार पाएका हुन्।
बुबाले दोश्रो विवाह गरेर बिज्ञान्द्रलाई छोडेको छ वर्ष बित्यो, अहिलेसम्म उनको बुबाको पत्ता लागेको छैन। आमाले पनि दोश्रो विवाह गरेर उनलाई तीन वर्षअघि नै छोडेको हो। सुरुमा उनको बुबाले अर्को विवाह गरे, त्यसपछि आमाले पनि विवाह गरेर गएपछि बिज्ञान्द्र एक्लिएका थिए। आमाले गाँउ नजिकै विवाह गरेकी हुन्।
आमाले अर्को विवाह गरेसम्म बिज्ञान्द्रको मानसिक सन्तुलन ठिकै थियो। तर, त्यसपछि उनको मानसिक सन्तुलन एकाएक गुम्दै गयो। फेदीका वडाध्यक्ष निरकुमार राईले भने, सुरुमा गाउँलेले पैसा उठाएर उनलाई काठमाण्डौमा उपचारमा लगे पनि डाक्टरले ठिक छ भनेर घर पठाईदियो।
डाक्टरले ठिक छ भनेर घर पठाएपछि बिज्ञान्द्रले जो कोहीसँग झगडा गर्ने, जथाभावी बोल्ने गर्न थाल्यो। गाँउलेलाई धेरै दुख दिएपछि पैसा उठाएर पुनः उनको कान्छो बुबा र कान्छी आमाको रोहवरमा १ वर्ष धरानको सुधार केन्द्रमा राखियो। सुधार केन्द्रमा वर्षदिन उपचार गरेका उनलाई कान्छा बुबाले नै घरमा ल्याईदियो। वडाध्यक्ष राईले भने, घर ल्याएको ८/९ दिनपछि पहिलाजस्तै भयो।
सन्तुलन गुमेका उनी कहिले बाक्सिला त, कहिले खार्मी पुग्थे। स्थानीयको सूचनाका आधारमा प्रहरीले फेरी घरमा ल्याईदिने गर्दथे। निको हुन्छ कि भन्दै गाउँलेले धामी लगाए। वडाध्यक्षले थपे, मलाई धामी लगाउने भन्दै बिज्ञान्द्र राती नै भोजपुरको साल्पासिलिछो गाउँपालिका पुग्यो। राती पुगेपछि त्यहाँका गाउँले चोर भने, समाएर संखुवासभाको खाँदबारी प्रहरीलाई बुझाई दिए।
प्रहरीले सन्तुलन गुमाएको थाहा पाएपछि विभिन्न नेटवर्क हुंदै उनलाई घरमा ल्याएर पुनः आफ्नै आमालाई जिम्मा लगाईयो। आमाले दोश्रो विवाह गरेर गए पनि नजिकै भएकाले आमासँग जिम्मा लगाईएको हो। ८/९ दिन आमासँग बसेका उनी भागेर पुनः भोजपुरको छिनाम्खु पुगे। छिनाम्खुमा पुनः प्रहरीले उनलाई नियन्त्रणमा लियो।
तपाईको वडाको मान्छे भन्दै प्रहरीले मलाई फोन गर्नुभयो। वडाध्यक्ष राईले सुनाए। त्यसपछि गाउँपालिका अध्यक्षलाई पनि फोन गर्नुभएछ। गाउँपालिका अध्यक्षको पहलमा छिनाम्खु नै गाडी पठाएर अहिले काठमाण्डौमा उपचारमा लगिएको हो।
नबजीबन परोपकार समाज काठमाण्डौले बिज्ञान्द्रको उपचार गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए। राईका अनुसार उनको उपचारमा गाउँपालिकाले पनि सहयोग गर्नेछ।
बिज्ञान्द्रको एक दाई छन्। भुकम्पको अनुदानबाट बनेको घरमा भाई(बिज्ञान्द्र) र श्रीमतीसँग बस्दै आएका दाई र भाउजुलाई नै मार्छु, काट्छु भनेपछि उनीहरु पनि अरुकै घरमा बस्दै आएका छन्। एक दिदी, एक भाई र एक बहिनी काठमाण्डौमा रहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology