• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अधिवेशनमा निर्वाचन हुदैन,सर्वसहमत हुन्छ : दंगाल

जिल्ला अधिवेशनमा निर्वाचन हुदैन,सर्वसहमत हुन्छ : दंगाल


समायोजन खबर
  • आइतबार, पौस १८ २०७८

  • एमाले खोटाङका जिल्ला अध्यक्ष रामप्रसाद दंगाल

    समायोजन खबर खोटाङ,नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङको सातौ जिल्ला अधिवेशन आउँदो पुस २३ गते हुदैछ । देशभर हुने अधिवेशन अन्तर्गत खोटाङमा पनि एमालेको अधिवेशन हुने भएको हो। अधिवेशन नजिकिएसँगै नेतृत्व चयनलाई लिएर एमालेमा सरगर्मी बढेको छ।

    अधिवेशनको पेरीफेरीमा रहेर एमाले खोटाङका जिल्ला अध्यक्ष रामप्रसाद दंगालसँग समायोजन खबरले समसामयिक कुराकानी गरेको छ।
    सातौं जिल्ला अधिवेशनको तयारी कस्तो भईरहेको छ ?
    आउँदो पुस २३ गते देशभर एमालेको जिल्ला अधिवेशन गर्ने कार्यसूचि छ। एमाले र माओवादी केन्द्रको एकतापछि हाम्रा पार्टीका नियमित गतिविधिहरु ओझेलमा परेका थए। पार्टीभित्रको लामो अन्तर संघर्ष र सर्वोच्च अदालतको फैसलापछि एमाले लयमा फर्केको छ।

    यो विचमा वडा, पालिका तथा दशौ राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेका छौ। र, यो २३ गते सातौ जिल्ला अधिवेशन सम्पन्न गर्दैछौ। विगतमा अघिल्लो दिन उद्घाटन गर्ने, भोलीपल्ट बन्द सत्र गर्ने, ठूलो जनसभा गर्ने, पार्टी अध्यक्ष, पदाधिकारी, स्थायी कमिटी सदस्यहरु ल्याएर अधिवेशन गरिरहेका थियौ। सातौ जिल्ला अधिवेशन लगत्तै प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले यसपाली छोटो विधिबाट अधिवेशन गर्नेछौ। उद्घाटन सत्र र बन्द सत्र एकै दिनमा भव्य ढंगले सम्पन्न गर्नेगरी अधिवेशनको तयारी गरिरहेका छौ।
    अधिवेशनमा कति प्रतिनिधि सहभागी हुन्छन् ? उनीहरुका लागि के व्यवस्था छ ?
    पार्टी सदस्यताको आधारमा प्रतिनिधि छनोटको व्यवस्था गरेका छौ। त्यो हामीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेका छौ। ८ हजार ६६४ पार्टी सदस्यहरु मध्येबाट प्रत्येक वडाबाट ५ जना, २५ बराबर ५ र त्यसपछि १० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि त्यो पनि समाबेशी हुने गरी अल्यसंख्यकहरु सहित प्रतिनिधिको व्यवस्था गरेर हजार भन्दा माथि ११ सयभन्दा तल प्रतिनिधि हुन्छ।
    सम्पर्क मञ्च, जनसंगठनहरुको प्रतिनिधि संख्या हेर्दा लगभग ११ सय पुगनपुग प्रतिनिधिहरु आउनुहुन्छ। प्रतिनिधिहरुलाई अधिवेशनमा सामान्य खाजाको व्यवस्था हुनेछ भने खाना आफैले व्यवस्था गर्नुपर्ने हुन्छ।
    कर्भडहलमा अधिवेशन हुंदैछ, त्यहाँ मान्छे अट्छ ? कसरी व्यवस्थापन गर्नुहुन्छ ?
    माटिकोरेस्थित कर्भडहलको क्षमता भनेको त्यही ११/१२ सय हो। प्याराफिट, तल पछाडी कुर्शी राख्ने, अगाडी फर्म ओछ्याएर सबैलाई अटाउछौ। त्यसको क्षमता हेरेरै हामीले प्रतिनिधि संख्या तोकेका हौ। र, हाम्रो बाध्यता के रह्यो भने कि त हामीले चउरमा पाल टाँगेर अधिवेशन गर्नुप¥र्यो। जाडो मौसममा त्यो गाह्रो हुन्छ।
    जिल्लामा त्यहाँ भन्दा बढी प्रतिनिधि अट्ने कुनै क्षमता भएको हल नै हामीसँग छैन। त्यसकारणले कभर्डहलमै अधिवेशन गर्नुपर्ने हाम्रो बाध्यता रह्यो। मान्छे मजाले अटाउँछौ।
    अधिवेशनले सर्वसहमत कि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ला ?
    तपाईहरु सबैलाई थाहा छ एमालेका विरुद्ध सारा देशीविदेशी शक्तिहरु एक भएका छन्। पाँच दलीय गठबन्धन बनेको छ। एमालेलाई कमजोर बनाउने अनेक षडयन्त्रहरु बनेका छन्। यी सबै षडयन्त्रलाई चिर्नका निम्ति हामीले सम्पूर्ण अधिवेशनहरु सर्वसहमतले गर्ने केन्द्रदेखि तलसम्मका अधिवेशनहरु सर्वसहमतले गर्ने भन्ने नेतृत्वकै एकदमै चाहाना छ, हामी सबैको चाहाना छ।हामीले छैटौ जिल्ला अधिवेशन सम्पन्न गर्दासम्म र पार्टीभित्र चरम विवाद, गुटबन्दी हुंदा पनि जिल्लामा जहिल्यै, कुनै पनि तहमा सर्वसहमतिको नीतिलाई अवलम्बन गरेका छौ। त्यो एक हदसम्म सफल भएको छ।
    खोटाङमा सबै पार्टी एक हुंदा पनि एमालेले जित निकाल्नुको पछाडी उसको आन्तरिक एकता नै प्रधान हो। त्यसकारणले यो संकटको बेला हामी निर्वाचनको पक्षमा छैनौ। निर्वाचन गर्दैनौ, हिजो पनि हामीले गरेनौ। यो बेला चाँहि सबैलाई सबैतिर सर्वसहमतका लागि अधिकतम प्रयत्न गर्न केन्द्रको नीति र निर्देशन छ। तदनुरुप हामी सर्वसहमत नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न गर्छौ।
    चेन अफ कमाण्डमा चल्ने एमालेलाई यो अधिवेशन कस्तो सावित होला ?
    यो अधिवेशन आउने निर्वाचनहरुका निम्ति एमालेको घनिभूत तयारीको एउटा कोशेढुंगा सावित हुन्छ। जिल्लाभरीका अगुवा नेताहरु अधिवेशनमा भेला हुन्छौ। र, आउने निर्वाचनमा एमालेलाई जिल्लामा पहिलो पार्टी बनाउने तथा एमालेलाई सबै निर्वाचनहरुमा जित निकाल्ने योजना बनाउनेछ अधिवेशनले।
    हामीविचमा भएका मतमतान्तरहरु छन् भने तिनलाई एकताबद्ध गर्छ, नयाँ नीति, नयाँ नेतृत्वका साथ चाँहि आउने निर्वाचनमा सम्पूर्ण रुपमा जित निकाल्ने गरी अघि बढ्छौ। यसले एमालेलाई आउने निर्वाचनका लागि थप मद्दत गर्छ, थप सुदृढ बनाउँछ, थप एकताबद्ध पार्टी बनाउन सहयोग गर्छ।
    आकाङक्षीहरु धेरै होलान् ? पदाधिकारी व्यवस्थापन कसरी हुन्छ ?
    हामी मजाले व्यवस्थापन गछौ। हाम्रो जिल्लाको एउटा सुन्दर पक्ष के छ भने, नेतृत्वको व्यवस्थापन गर्ने कुरा हिजोदेखिको लगानी योग्यता, क्षमता, भूगोल, समावेशिताको कुरालाई हेरी समेट्ने गरी गर्छौ।

    आकाङक्षी त स्वभाविक हुन्छ नि ? निर्वाचनको बेला उठ्न पाए हुन्थ्यो भन्ने हुन्छ, अधिवेशनबाट नेतृत्वमा आउन पाए हुन्थ्यो भन्ने हुन्छ। हिजो जिल्ला कमिटीमा बसेका साथीहरु क्रियाशिल हुनुहुन्छ, अझै लागिरहनु भएको छ। उहाँहरुलाई निरन्तरता दिन्छौ। त्यसपछि पार्टी एकताको क्रममा साविक नेकपा माओवादीबाट नेकपाकै निरन्तरताका रुपमा थुप्रै साथीहरु हुनुहुन्छ, जिल्ला कमिटी, गाउँ कमिटी, पालिका कमिटी, वडा कमिटीबाट धेरै हुनुहुन्छ। उहाँहरुलाई पनि जिल्ला कमिटीमा समेट्छौ, अन्य कमिटीमा व्यवस्था गर्छौ, गर्दै आएका पनि छौ।
    नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट धेरै साथीहरु आउनुभएको छ। उहाँहरुलाई पनि हामी समेट्छौ र एमालेमा गईसकेपछि योग्यता र क्षमताको काम पाईन्छ भन्ने कुराको ग्यारेन्टी गर्छौ। अरुलाई पनि समेटेर एकताबद्ध कमिटी बनाउँछौ, समावेशी कमिटी बनाउँछौ।
    तपाई आफैको आकाङक्षा चाँहि के हो त ? त्यो पूरा होला ?
    लामो समयदेखि म यो पार्टीमा क्रियाशिल रहेको कुरा सवैमा जगजाहेर छ। पार्टीमा जतिसुकै संकट, आँधीहुरी आउँदा होस वा आक्रमण हुंदा म हलचल नभई लागेको छु, पार्टीमा खटेको छु, संघर्ष गरेको छु, पार्टीलाई जीवन दिंदै आएको इतिहास साक्षी छ। त्यो आम एमाले कार्यकर्ताले देखेका छन्, भोगेका छन्।
    त्यसैले स्वभाविक रुपमा हिजोदेखि पार्टीमा लागेको हुनाले यो पार्टीको एकपल्ट नेतृत्व गर्ने इच्छा छ। मूलतः आम कार्यकर्ताको चाहाना पनि मैले नेतृत्व लिनुपर्छ भन्ने छ। सबैभन्दा ठूलो कुरा त कार्यकर्ताको माग हो। उहाँहरुले चाहेको कुरा पार्टीले पूरा गर्नुपर्छ। हामीबिचमा पनि सल्लाह भईरहेको छ । मलाई लाग्छ यो अधिवेशनले सर्वसहमत नेतृत्व चयन गर्छ।
    अधिवेशनले नजिकिदै गरेको स्थानीय चुनावमा एमालेलाई फाईदा कि बेफाईदा हुन्छ ?
    यो अधिवेशनले एमालेलाई फाईदा गर्छ। यो अधिवेशन त हाम्रो अगामी चुनौतीको सामाना गर्ने कार्य योजना बनाएर अघि बढ्ने थलो हो। अधिवेशनमा कार्ययोजना बनाउँछौ, सबै केन्द्रीय, प्रदेश सदस्य, जिल्लाका पदाधिकारीहरु, पार्टीका सिंगो पक्ति र जिल्लामा ११ सय एमालेका नेता कार्यकर्ता गाउँ गाउँबाट हामी भेला हुन्छौ। आउने निर्वाचनको कसरी सामाना गर्ने भन्ने रणनीति बनाउँछौ।

    आगामी कार्ययोजना र समिक्षामै समय खर्चन्छौ। मलाई लाग्छ नेतृत्व निर्माणमा धेरै खर्चनु पर्दैन किनभने सबै साथीहरुले अबको नेतृत्व कस्तो बनाउनुपर्छ, ‘यो म हुनुपर्छ’ भन्दा पनि आम कार्यकर्ताको भावनालाई हामीले समेटेर नेतृत्व निर्माणमा हामी कुनै बिलम्ब गर्दैनौ र नेतृत्व निर्माण गरेर आउने निर्वाचनको सामाना गर्न जान्छौ।
    अधिवेशनमा हामीले बनाउने खास कार्य नीति भनेको आगामी निर्वाचनमा एमालेको जित निकाल्ने हुनेछ। अधिवेशनको नियमित काम त छदैैछ। तर, हामी आगामी कार्य योजना र तीनै तहको निर्वाचनको तयारीका रुपमा यो अधिवेशनलाई लिएका छौ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology