समायोजन खबर खोटाङ, खोटाङमा किरात समुदायको साकेला (उधौली) चाडमा युवायुवतीदेखि बुढापाकासम्म धक फुकाएर साकेला शिली नाचेका छन्। कोरोना भाईरस(कोभिड–१९) पछि पहिलो पटक जिल्लामा मनाईएको उधौली चाडमा किरात तथा गैर किरात समुदायका युवायुवतीदेखि बुढापाकासम्म साकेला नाचेका हुन्।
किरात राई यायोक्खा खोटाङ, किरात सेवा समाज दिक्तेल, मझुवागढी संरक्षण पर्यटन प्रवद्र्धन समितिको आयोजनामा आईतबार मझुवागढीमा उधौली साकेलाको शुभकामना आदानप्रदान सहित बृहत साकेला शिली प्रदर्शनीमा सदरमुकाम दिक्तेलबजार, सोल्मा, लफ्याङ, खाल्ले, बाम्राङ, नुनथला, नेर्पा, दोर्पा, निर्मलीडाँडा लगायतका स्थानबाट किरात तथा गैर किरात समुदायका वालवालिका, युवायुवती, बुढापाका साकेला शिली प्रदर्शनी र शुभकामना आदानप्रदानका लागि मझुवागढी पुगेका थिए।
परम्परागत भेषभूषामा सजिएर साकेला शिली नाच्न त्यहाँ पुगका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्रलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले उधौलीको शुभकामना दिएका थिए।
शुभकामना प्रदानपछि नगरप्रमुख रिजाल, नगर उपप्रमुख विणादेबी राई र जिसस प्रमुख चाम्लिङसहित सयौंका संख्यामा भेला भएकाहरुले गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाचेर एक आपसमा शुभकामना आदान–प्रदान गरेका थिए।
गत जेठको उभौली चाड जिल्लाभर विधि मात्रै फुकाएर मनाईएको भए तापनि उधौलीमा भने जिल्लाका विभिन्न स्थानमा वालवालिका, युवायुवती, बुढापाका परम्परागत भेषभूषामा सजिएर ढोल–झ्याम्टा बजाउँदै र साकेला गीत गाउँदै धक फुकाएर साकेला नाचेको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले जानकारी दिए। किरातीका अनुसार मझुवागढी बाहेक जिल्लाका विभिन्न स्थानमा पनि हर्षोल्लासका साथमा उधौली चाड मनाईएको छ।
चराचुरुङगी लेकबाट बेंसीतिर झर्ने जाडो याममा उधौली चाड मान्ने प्रचलन छ। किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात बैशाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा एक/एक महिना दिनसम्म उभौली, उधौली मनाउने गरिन्छ। साकेन्वा, साकेवा, साकेला लागायतका नामबाट चिनिने साकेलाको अवशरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गरिन्छ।
राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आईनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको छ। साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्न सुरु गरिन्छ। आफन्त, साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीचमा उधौली चाडको शुभकामना आदान प्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने गरिन्छ।
साकेला चाड र साकेला नाचको शुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन्। यद्यपी, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तयामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन्।
साकेला उधौली चाड पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिन्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology