समायोजन खबर, नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना नेताको पार्टी सभापतिमा उम्मेदवारी परेको छ। उहाँहरुले सभापतिको दाबी गर्दै आफ्नो उम्मेदवारी किन र निर्वातित भएमा भावी रणनीति के हुने भन्ने आ–आफ्नै दाबी प्रस्तुत गर्नुभएको छ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी तीन तहका निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताउनु भएको छ ।
उहाँले उम्मेदवारी मनोनयपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुलूकमा आफ्नो नेतृत्वमा जाँदा पार्टीको बहुमत आउने दाबी गर्दै भन्नुभयो, तीनै तहमा काँग्रेसको विजयीका लागि सभापतिमा मेरो दाबी हो, सभापतिको जिम्मेवारी पाए आगामी तीनै तहका निर्वाचनमा काँग्रेस विजयी गराउने जिम्मेवारी मेरो हुन्छ ।’
यसैगरी अर्का उम्मेदवार उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनु भएको छ ।
निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न काँग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दावी गर्नु परेको बताउनु भयो । पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि उहाँले सञ्चारकर्मीमाझ भन्नु भयो, ‘आगामी निर्वाचनमा नेपाली काँग्रेसको सरकार बनोस । एकमना सरकार बनोस् । र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जुन हामीले ल्याएका छौं । त्यो प्रणालीको सफल कार्यान्वयन गराउनु आजको आवश्यक्ता हो । नेपाली काँग्रेसको माध्यामबाट संघीय लोकतान्त्रिक गणतन्त्रको साशन व्यवस्था र हामीले बनाएको संविधानको सफल कार्यान्वयन गर्नका लागि नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिनुहोस ।’
निधिले सबै राजनीतिक दल र नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था बिर्सिन लागेको आरोप समेत लगाउनु भयो ।
सभापतिका उम्मेदवार तथा नेता शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताउनु भएको छ ।
पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि नेता कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने र पार्टीलाई नँया सोच, विचार र कार्यक्रममा साथ अघि बढाउने बताउनु भयो । ५१ प्रतिशतभन्दा बढि युवाहरु महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरुको प्यानल विजयी हुने उहाँको भनाई थियो । नेता कोइरालाले भन्नु भयो, ‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिंग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढछौं । युवाहरुको जोश र पाकाहरुको होसले पार्टीलाई अगाडि बढाउँछौं । आफूले युवाहरुसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढि प्रतिनिधिहरु युवा भएकाले आफूहरुको प्यानलनै विजयी हुनेछ ।’
नेता कोइरालाले पार्टीलाई युवाहरुको जोश र पाकाहरुको होस्का साथ अघि बढाउने पनि बताउनु भयो ।
सभापतिका अर्का उम्मेदवार नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिनु परेको बताउनु भएको छ
पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता सिंहले पार्टीलाई विधिसम्मत, नियम सम्मत र संस्थागत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनु भएको हो । उहाँले महाधिवेशनमा दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्नो प्यानलनै विजयी हुने दावी समेत गर्नु भयो । नेता सिंहले भन्नु भयो, ‘मेन कुरा के हो भने पार्टीलाई विधिसम्मत, नियमसम्मत संस्थागत गर्ने । पार्टीलाई सुद्धीकरण गर्न, पार्टीलाई सुदृढीकरण गर्नका लागि मैले उम्मेदवारी दिएको हो । दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्ना प्यानलनै विजयी हुनेछ ।’
नेता सिंहले १३ औं महाधिवेशनमा आफूले केन्द्रिय सदस्यमा मात्रै उम्मेदवारी दिएर अरु नेताहरुलाई अवसर दिएकाले यस पटक आफूलाई सहयोग गर्न विश्वास समेत व्यक्त गर्नु भयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology