समायोजन खबर काठमाडौं, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताउनुभएको छ।
कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार काम गर्छ । निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्छ । प्रजातन्त्रमा आवधिक निर्वाचन अनिवार्य हुन्छ । प्रजातन्त्र भनेको जनताप्रति उत्तरदायी सरकार हो । सरकार जनताप्रति उत्तरदायी भएन भने अर्को सरकार आउँछ।”
फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गर्नुभयो । “अर्को कुरा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वोच्च अदालत हो, अरूलाई यो अधिकार छैन । सर्वोच्चको व्याख्या सबैले मान्नैपर्छ”, उहाँले भन्नुभयो।
नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उहाँले बताउनुभयो। संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उहाँको धारणा थियो। प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने उल्लेख गर्नुभयो।
विसं १९९७ सालदेखि नै राणा शासनविरुद्ध आन्दोलन थाल्नुभएको बताउँदै उहाँले प्रजातन्त्रका लागि ठूलो सङ्घर्ष गरी लामो जेल र निर्वासन जीवन बिताउनुभएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएकोसमेत स्मरण गर्नुभयो।
कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युत्को अपार सम्भावना छ । चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौँ।” साथै उहाँले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology