समायोजन खबर खोटाङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ। मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिनुभयो। गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकामा अहिले करिब पाँच महिनापछि ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्रा दिइएको छ।
“कोभिशिल्ड÷एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुईदेखि तीन महिना हुन्छ भनिएकामा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको छ,” उहाँले भन्नुभयो, “यसबीच भएका अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएका छन्।”
उहाँले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गर्नुभएको छ।
भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाएको हो।
उहाँले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकाले कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको जानकारी दिनुभयो। हालसम्म ४६ लाख ५९ हजार चार सय १४ पहिलो मात्रा र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology