• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओली-नेपालको एकता सम्भावना लगभग सकियो, एक-अर्कामाथि विधान पद्धति उल्लंघन गरेको आरोप

ओली-नेपालको एकता सम्भावना लगभग सकियो, एक-अर्कामाथि विधान पद्धति उल्लंघन गरेको आरोप


समायोजन खबर
  • बुधबार, जेष्ठ २६ २०७८

  • समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एकता हुने सम्भावना लगभग सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि शर्तसहित गरेको प्रस्ताव माधवकुमार नेपाल समूहले अस्वीकार गरेपछि एकताको सम्भावना सकिएको हो ।

    प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सर्वोच्चमा बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्तसहित आफू २०७५ जेठ ३ मा पार्टीलाई फर्काउन तयार रहेको बताउनुभएको थियो । तर, नेपाल समूहले संसद् विघटन फिर्ता लिनुपर्ने, एकताका लागि जेठ २ को अवस्थामा फर्किनुपर्ने भन्दै जवाफ दिएको थियो । संकटमा परेपछि ओलीले अन्तिम समयमा नेपाल समूहलाई एकताको प्रयास गर्नुभएको थियो । नेपाल समूहले ओलीको प्रस्तावलाई आफूहरूलाई अलमल्याउन ल्याएको भन्दै अस्वीकार गरेको छ ।

    एमाले नेता ईश्वरी रिजालले एमालेका तर्फबाट निरन्तर एकताको प्रयत्न जारी रहेको बताउनुभयो । अध्यक्ष ओली निरन्तर एकताको पक्षमा रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘हामी निरन्तर रूपमा पार्टी एकताको पक्षमा छौँ । अध्यक्ष ओली पार्टी एकताको पक्षमा हुनुहुन्छ । फलानो दिनसम्म भन्ने होइन । भइरहेको छ ।’

    पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा नेपाल समूहले चालेको कदमले कसले एकता चाहेको छैन भन्ने भ्रम निवारण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओलीकै कारणबाट समस्या भएको भ्रम थियो । विस्तारै त्यो भ्रम निवारण हुँदै गयो । को रहेछ पार्टी एकताका लागि भाँजो खडा गर्ने रु भन्ने कुरा स्पष्ट भइसकेको छ । कसले वातावरण बनाउन खोजेको छ । कसले भाँड्न खोजेको छ रु भन्ने कुरा क्लियर भइसकेको छ ।’ ओलीले एकताका लागि अपिल गरे पनि नेपाल समूहले त्यसलाई मिनिमाइज गरेर अर्को वक्तव्य दिएर भ्रममा पार्न खोजेको उहाँले बताउनुभयो ।

    विधान पद्धतिको कुरा गर्ने नेपाल समूहको चरित्र संघीय संसद्मा खेल्नुभएको भूमिका र सुदूरपश्चिमको घटनाले प्रष्ट पारिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विधान पद्धति प्रणालीको कुरा बारम्बार उठाउँदै आउनुभएको छ । सुदूरपश्चिमको घटना संघीय संसद्मा खेल्नुभएको भूमिका । त्यसपछि आफ्नै पार्टीको प्रधानमन्त्रीविरुद्ध प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर सबै कुराले दुनियाँ प्रष्ट भएको छ ।’

    नेपाल समूहका नेता भीम आचार्य ओलीको भ्रमपूर्ण प्रस्तावबाट एकताको सम्भावना सकिएको बताउनुहुन्छ । आफूहरूले एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन माग राख्दै आएको भए पनि उहाँले त्यसलाई बेवास्ता गर्दै आएपछि सम्भावना सकिएको बताउनुभयो । ओलीले एकता नै नचाहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ओली प्रवृत्ति सच्चिन गाह्रो छ । उहाँले एकता नै चाहनुभएको भए त प्रयास गरिहाल्नुहुन्थ्यो नि । अहिले पार्टीमा प्रष्ट दुई गुट देखिँदा आफ्नो गुटलाई बलियो पार्ने गरी भएका निर्णय नसच्याउँदासम्म एकता सम्भव छैन ।’

    अझै आफूहरू एकताको पक्षमा रहेको पनि बताउनुभयो । अन्तिम समयसम्म पनि एकता नभएको अवस्थामा कसरी अगाडि बढ्ने भनेर आन्तरिक तयारी भएको पनि उहाँले बताउनुभयो ।
    यता, ओली पक्षका नेता कर्ण थापाले नेपाल समूहले एकता नै नचाहेको बताउनुभयो । मंगलबार सुदूरपश्चिबाट पार्टी विभाजन चाहेको प्रष्ट भएको उल्लेख गर्दै भन्नुभयो, ‘उहाँहरूले पार्टीलाई एक बनाएर अगाडि बढाउने सोच्नुभएकै छैन । मंगलबार सुदूरपश्चिममा पनि त्यही देखियो । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउने र विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रयास उहाँहरूको छ । कसरी एकता हुन्छ । पार्टीमा आए पनि उहाँहरूले पार्टीलाई नै ध्वस्त पार्नुहुन्छ ।’

    यस्तै, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि एकताको सम्भावना सकिएको बताउनुभएको छ । उहाँले माधवकुमार नेपाल समूहले जेठ २ मा फर्कन नचाहेको भन्दै त्यो रटानको उपादेयता सकिएको बताउनुभयो । उहाँले नेपाल समूहले राखेका शर्तमा कांग्रेससँग एकता होला भन्दै व्यंग्यसमेत गर्नुभएको छ ।

    उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ । माधवकुमार नेपालका शर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला । तेल निकाल्न बालुवा होइन, तोरी पेल्नुपर्ने’ भन्दै ‘ल्याङल्याङ’ अति भएको निष्कर्ष निकाल्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले एकताका लागि गरेको प्रस्ताव मानेर आउनेलाई स्वागत गर्नुपर्ने अन्यथा असम्भव कोशिस छाड्नुपर्ने बताउनुभएको छ ।

    यस्तै, ओली समूहका अर्का नेता गोकुल बाँस्कोटाले पनि सुदूरपश्चिम प्रदेशमा नेपाल समूहले चालेको कदम पनि नेपाल समूहसँग एकताको सम्भावना लगभग सकिएको संकेत गर्नुभएको छ । उहाँले ‘विधि, पद्धति, अनुशासन र पार्टी एकताका कुरा गर्ने नेपाल समूहले आज पनि ठोस एकताको आधार निर्माण गरेको’ भन्दै व्यंग्य गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा नेपाल समूहले मुख्यमन्त्रीलाई मत दिएपछि उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई । माओवादी केन्द्रमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरूको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्, अग्रिम शुभकामना ’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology